सोमवार, माघ २६, २०८२

11.1 C
Bhaktapur
सोमवार, माघ २६, २०८२
11.1 C
Bhaktapur
HomeNews Contentचाँगुपत्रझण्डा बाेक्दै : झाडी फाड्दै सुडालका किसान

झण्डा बाेक्दै : झाडी फाड्दै सुडालका किसान

भक्तपुर । बिहानीको हल्का कुहिरो अझै उड्न नपाउँदै सुडालको बाेझीनी ड्याम सडकमा फरक दृश्य देखियो । उमेरले ज्येष्ठ, तर हिँडाइँले अझै युवाजस्तै उत्साही स्थानीय किसानहरू एक हातमा रातो झण्डा र अर्को हातमा कुटो–कोदालो बोकेर सडक किनारातिर लागे । उनीहरूको पाइला कुनै जुलुसको लागि थिएन । त्यो पाइला थियो श्रम, सङ्घर्ष र जिम्मेवारीको पदचाप ।

चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालमा नेपाल क्रान्तिकारी किसान सङ्घको अगुवाइमा सुरु भएको यो सरसफाइ अभियान झाडी फाँड्ने काम मात्र थिएन । सडक दायाँ–बायाँ उम्रिएका झार, अवरुद्ध नाली र साँघुरिँदै गएको बाटोले जोखिम बढाउँदै लगेपछि किसानहरू आफैँ समाधान खोज्दै मैदानमा उत्रिएका हुन् ।

कलमसीबाट बोझिनी जाने करिब दुई किलोमिटर लामो सडकखण्ड उनीहरूको श्रमको केन्द्र बनाएका थिए । कसैले बञ्चरो चलायो, कसैले हँसिया, कसैले बेल्चाले नाली उधिन्यो । पसिनाले भिजेका निधारमा थकानभन्दा बढी आनन्दी र गर्व झल्किन्थ्यो । किनकि उनीहरू सडक फराकिलो बनाउँदै मात्र थिएनन्, सम्भावित दुर्घटनाको जोखिम पनि घटाउँदै थिए ।

यस अभियानको नेतृत्व गरेका नेक्राकिसङ्घ सुडालका अध्यक्ष दिलबहादुर रायका लागि यो गतिविधि नयाँ थिएन । उनका अनुसार राजनीतिक सङ्घर्ष सामाजिक कर्मविनाको हुँदैन । राजनीति नारामा मात्र सीमित भए अर्थ रहँदैन,´उनी भन्छन्,समाजका दैनिक समस्या समाधानमा हात हाल्नु नै सही राजनीतिक अभ्यास हो ।´ उनले अन्य दल आवद्ध व्यक्तिहरूले गरे पनि नगरे पनि आफूहरूले समाजकाे लागि काम गरेकाे बताए ।

स्थानीय केशव खतिवडाले भने स्थानीय तह र सम्बन्धित सडक विभागको बेवास्ताले आफूहरू आफैँ अघि सर्न बाध्य भएको बताए । झाडीले सडक साँघुरिँदै गएको थियो, सवारी दुर्घटनाको डर थियो,´ उनले भने,कुनै आदेश कुर्नुभन्दा किसान सङ्घले नेतृत्व गर्यो, हामी जुट्यौँ ।´

स्थानीय तीर्थबहादुर रायका अनुसार किसानहरूको दायित्व खेतबारीमै सीमित हुँदैन । खेती किसानीले समाज बाँच्छ, तर सामाजिक चेतनाले समाज अघि बढ्छ,´ उनी भन्छन् । सुडालका किसानहरूका लागि सरसफाइ अभियान श्रमदान मात्र होइन, सामूहिक उत्तरदायित्वको अभ्यास पनि बनेको उनकाे भनाइ छ । किसानहरूले यसअघि सुडालका विभिन्न सडक छेउमा सरसफाइ गरिसकेको र आगामी दिनमा अन्य सडक तथा सार्वजनिक स्थानमा सरसफाइ गर्ने याेजना बनाएका छन् ।

अभियान स्थलमै पुगेका नेमकिपा चाँगुनारायण नगरपालिकाका अध्यक्ष न्हुच्छेभक्त फोजुले किसान सङ्घको पहललाई उदाहरणीय बताए ।राज्यले गर्नुपर्ने काम जनताले गर्नुपरेको अवस्था दु: खद भए पनि, यो काम र प्रयास प्रशंसनीय छ,´उनले भने ।

नेमकिपा सुडालका सन्तराम दुलालले किसान कार्यकर्ताकाे काम उदाहरणीय भएको प्रतिक्रिया दिँदै उक्त जनश्रमदानलाई निरन्तरता दिनुपर्नेमा जाेड दिए ।

सुडालकाे सडक र स्थानमा एक हातमा झण्डा, अर्को हातमा औजारकाे यो दृश्यले सुडालमा परिवर्तन भाषणले मात्र नभई श्रमले सम्भव हुन्छ भन्ने देखाएको स्थानीयकाे प्रतिक्रिया छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको