भक्तपुर, पुस २ — नेशनल प्याब्सन भक्तपुरको आयोजनामा विमल मेमोरियल विद्यापीठले माध्यमिक तहको अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता–२०८२ सम्पन्न गरेको छ।
विमल मेमोरियल विद्यापीठको कार्यक्रम हलमा सम्पन्न प्रतियोगितामा नेशनल प्याब्सन अन्तर्गतका सदस्य विद्यालयहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा इडेन गार्डेन इङ्गलिस स्कुल प्रथम, मदरल्याण्ड इङ्गलिस स्कुल दोस्रो, ऋतम्भरा पाठशाला स्कूल तेस्रो र आरक्षण नेशनल स्कुल सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।
कार्यक्रमका सभापति तथा आयोजक विद्यालय विमल मेमोरियल विद्यापीठका प्रधानाध्यापक कुमार थापा मगरले कार्यक्रम सफलतापूर्वक सम्पन्न हुनुमा सहभागी विद्यालय र विद्यार्थीहरूको भूमिका रहेको बताए। साथै, कार्यक्रम आयोजना गर्ने अवसर दिएकोमा नेशनल प्याब्सन भक्तपुरप्रति आभार व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि सूर्यविनायक नगरपालिका वडा नं. १० का प्रशासनिक प्रमुख कुमार राउतले विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्दै मिहिनेत गरेमा सफलता प्राप्त हुने बताए।
नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले कार्यक्रम व्यवस्थित रूपमा सम्पन्न गरेकोमा आयोजक विद्यालयलाई धन्यवाद दिँदै विजेता विद्यार्थीहरूलाई बधाई दिए। साथै, यस्ता शैक्षिक कार्यक्रमहरूमा सबै विद्यालयले सहभागिता जनाउनुपर्नेमा जोड दिए।
