शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentखोेज/फिचरचाँगुनारायणमा लिच्छविकालीन हरिबोधनी एकादशी मेला

चाँगुनारायणमा लिच्छविकालीन हरिबोधनी एकादशी मेला

  • हरिसुन्दर छुकां
    कार्तिक शुक्ल एकादशीलाई हरिबोधनी वा प्रबोधनी एकादशी भनिन्छ। यही दिन भगवान विष्णुले क्षीरसागरमा शेषनागको आसनमा लिएर गरेको चार महिनाको गहिरो निद्राबाट ब्युँझने मान्यता छ । धार्मिक ग्रन्थअनुसार, सृष्टिकालमा मधु´ रकैटभ´ नामक दुई दैत्यसँग युद्ध गरी थकित भएका विष्णुले आषाढ शुक्ल एकादशीका दिन विश्राम लिएका थिए, जसलाई हरिशयनी एकादशी भनिन्छ। त्यसको ठीक चार महिनापछि आउने यो दिन भगवान पुनः जागा हुने भएकाले यसलाई हरिबोधनी अर्थात् “हरि जागरण”को प्रतीक मानिन्छ ।
  • वर्षभरि पर्ने २४ एकादशीहरूमध्ये हरिबोधनी एकादशीलाई सबैभन्दा ठूलो, पुण्यदायिनी र मोक्षदायक एकादशी मानिन्छ। यस दिन चतुर्मास व्रत बस्नेहरूले आफ्नो व्रतको समापन गर्छन्। घरघरमा रहेका तुलसीमोठमा तुलसी विवाह गर्ने प्रचलन रहिआएको छ। यसमा तुलसीलाई देवी लक्ष्मीको प्रतीक र शालिग्रामलाई भगवान विष्णुको स्वरूप मानी राधा–दामोदरका रूपमा विवाह गरिन्छ। बिहान सबेरै स्नान गरी भक्तजनले दिनभर निराहार वा फलाहार गर्दै पूजा–उपासना गर्छन्। यस दिन भात र मासुजन्य परिकार खान वर्जित हुन्छ।
  • धार्मिक विश्वासअनुसार, भगवान विष्णुको जागरणसँगै प्रकृतिमा नयाँ चेतना, सन्तुलन र सकारात्मक उर्जा फैलिन्छ। चार महिनासम्म विष्णु निद्रामा रहँदा रोगव्याधि, असन्तुलन र अनिष्टका विभिन्न घटना बढ्ने जनविश्वास छ। भगवान विष्णुको विभिन्न नाम मध्यको एक नाम हरि पनि हो। हरि जागेकाे वा बाेध भएको दिन भएकाले यश एकादशीकाे नामकरण हरिबाेधनी रहन गएकाे संस्कृतिकर्मीहरूकाे भनाइ छ । विष्णुको जागरणसँगै ती सबै नकारात्मक शक्तिहरू क्षीण भई सृष्टिमा पुनः शान्ति, सौहार्द र समृद्धि फर्किन्छ। यही कारणले यस एकादशीलाई मोक्षदायिनी एकादशी पनि भनिन्छ। साे दिन विष्णु/नारायणकाे दर्शन, पूजाआजा र व्रतले जन्मजन्मान्तरका पापहरू नाश भई मुक्तिको मार्ग खुल्ने विश्वास पाइन्छ।
  • यस दिन काठमाडौं उपत्यकाका चार नारायण मन्दिरहरू(चाँगुनारायण (भक्तपुर ), इचंगुनारायण (काठमाडौं ) विशंखुनारायण(ललितपुर ) र शेषनारायण(काठमाडौं )सहित बुढानीलकण्ठमा पनि विशेष मेला लाग्छ। भक्तपुरकाे उत्तरी भेगमा अवस्थित चाँगुनारायण मन्दिरमा भने यो दिन अझ विशेष मेला लाग्ने गरेकाे छ । गोपालराज वंशावलीमा उल्लेख भएअनुसार ईस्वीको १४ औँ शताब्दीमा चार नारायण स्थापना भएका हुन् । ई.सं. १९७९मा विश्वसम्पदा सूचिमा सूचिकृत चाँगुनारायण मानदेवकालीन संवत् ३८६ नै नेपालको सर्वप्रचलित शिलापत्र मानिन्छ ।
  • चार नारायणमध्ये जेठाे नारायणकाे नामबाट समेत स्थान बनाउन सफल यस मन्दिरमा लाग्ने एकादशी मेलाकाे विशिष्ट धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले अत्यन्त महत्वपूर्ण रहेकाे संस्कृतिकर्मीहरूकाे मत छ । मन्दिरका मूल पुजारी चक्रधरानन्द राजाेपाध्यायका अनुसार साे मेला लिच्छविकालदेखि चलिआएको परम्परा हाे । परम्पराअनुसार एकादशीकाे राति १२ बजेदेखि नै मन्दिरको ढोका खुला गरिन्छ । साे दिन बिहानैदेखि श्रद्धालुहरूको भीड लाग्छ ।
  • पछिल्लो समयमा चाँगुनारायण नगरपालिकाकै वडा नं. २ मा रहेकाे चारनारायणकाे मन्दिरमा पनि मेला लाग्न थालेकाे छ । दुवाकाेटकाे साविक गाविस( हालकाे वडा नं. २ ) परिसरको भैरवी आधारभूत विद्यालयकाे आँगनमा अवस्थित छ, चार नारायण मन्दिर । साे स्थानमा एउटै शिलामा चार नारायणकाे मूर्ति कुँदिएकाे छ । साे शिलाकाे चार दिशामा चार नारायण अवस्थित रहेकाे देखिन्छ । साेही मन्दिरमा पनि मेला लाग्ने गरेकाे छ ।
  • काठमाडाैं उपत्यकाका चार दिशामा रहेका चार नारायणका मन्दिरमा ठूलो मेला लाग्छ । हरिबोधनीमा उपवास बसिसक्नेले करिब १८ कोसको दुरीमा रहेका चार नारायण र नसक्नेले कम्तीमा एक नारायणको दर्शन र पूजाअर्चना गरेमा सम्पूर्ण पाप नाश भई अन्त्यमा मोक्ष मिल्ने धार्मिक विश्वास छ । बिहानै नुहाइधुवाइ गरी चोखो भएर घरको मूलढोकामा कपुर पानीसमेत छर्केर चाँगुनारायण दर्शनका लागि जाने परम्परा छ । उक्त मन्दिरमा दर्शनपछि घर–घरमा लगाइएको तुलसी नारायणको विधिवत् रूपमा पूजा गरिन्छ । पूजामा तुलसी नारायणलाई सयपत्री फूलको माला लगाई सखरखण्ड, पिँडालु र खीरको भोजन चढाइन्छ ।
  • एकादशी मेलामा मन्दिर वरिपरि हुने विभिन्न धार्मिक र सांस्कृतिक गतिविधिहरूले भक्तजनको मन मोहित हुन्छ । कोही भजनमा लीन हुन्छन्, कोही तामाका गाग्रीमा पानी भरेर तीर्थयात्रीलाई पिलाइरहेका हुन्छन्, भने केही मरिच र सक्खर मिसाएर सर्वत पनि बाँडिरहेका हुन्छन्। दिनभर श्रद्धालुहरूले पूजा–अर्चना गर्दै भगवान विष्णुको आराधनामा सहभागी हुन्छन्।
  • एकादशीको मध्याह्नतिर राजदरबारबाट महादीप र पूजाका सामग्रीहरू ल्याइने परम्परा छ । वेलुकीपख विशेष पानसमा महादीप बालिन्छ। चाँगुस्थित किलेश्वर र छिन्नमस्ता मन्दिरमा पनि दीपावली गरिन्छ। भोलिपल्ट चाँगुनारायण मन्दिर अगाडि अखण्ड दीप बालेर वरिपरि अत्यन्त आकर्षक र भव्य रूपले सजाइन्छ। यो अखण्डदीप दर्शन गर्न भक्तपुर, साँखु, काठमाडौँ र पाटनसम्मका दर्शनार्थीहरूको भीड लाग्ने गर्दछ।
  • हरि बाेध भएकाे भावलाई भक्तजनहरूले आत्मसात गर्न जरुरी छ । अहिलेकाे समयमा मान्छेेले मान्छे हुनुकाे भाव बिर्सेका छन् । जसकारण समाजमा स्वार्थ बढेकाे छ । हरिबाेधनी एकादशीकाे सन्देश यस्ताे स्वार्थी भाव त्याग गर्नु रहेकाे छ । यो पर्वले धार्मिक भावना मात्र नभई सामाजिक र सांस्कृतिक एकतालाई पनि प्रवर्द्धन गर्दछ। भक्तजनहरू भक्ति र श्रद्धा प्रदर्शन गर्दै, मानव जीवनमा सदाचार, भक्ति र सकारात्मकता फैलाउने सन्देश लिएर फर्कन्छन्। खासमा चाँगुनारायणको हरिबोधनी एकादशी केवल भगवान विष्णुको जागरण मात्र होइन, मानव चेतना र समाजमा पुनर्जागरणको पर्व पनि हो।
  • ( विभिन्न ऐतिहासिक, सांस्कृतिक, धार्मिक सन्दर्भ सामग्री र चाँगुनारायणका पूजारीहरूसँगकाे छलफलका आधारमा )
  • याे लेखकाे कुनै अंश जस्ताको तस्तै साभार गर्न पाइनेछैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको