भक्तपुर । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले देशका थुप्रै परिवारलाई असह्य पीडामा डुबाएको छ। भक्तपुर दुवाकोटमा बसोवास गर्ने दुई युवा—अभिषेक चौलागाईं र महेश बुढाथोकी—त्यस आन्दोलनकै क्रममा प्रहरीको गोली लागी शहीद भए। तर उनीहरूको अधुरो सपना अझै पनि देशको मुटुमुटुमा धड्किरहेको छ।
दोलखा शैलुङ गाउँपालिका स्थायी घर भई केही वर्षयता चाँगुनारायण नगरपालिका दुवाकोटमा बस्दै आएका २१ वर्षीय अभिषेक चौलागाईंले त्रिचन्द्र क्याम्पसमा होटल म्यानेजमेण्ट पढ्दै जीवन अघि बढाइरहेका थिए। विदेश पठाउने आमाबुवाको चाहना हुँदाहुँदै पनि उनले देशमै केही गर्नुपर्छ भन्ने अठोट बोकेका थिए।
तर विडम्बना, भदौ २४ गते संसद् भवन वरिपरिको आन्दोलनमा प्रहरीको गोली लागेर उनी ढले।
त्यही दिन उनका बुवा दिनेश चौलागाईं प्रहरी सेवामा ड्युटीमा खटिएका थिए, सल्लाघारीमा। छोरा आन्दोलनतिर गएको थाहा पाएपछि आमाले रोकेकी थिइन्। तर अभिषेकले भने देशका लागि चुप लागेर बस्न नसकिने भन्दै आमा–बुवालाई सम्झाएका थिए।
दोस्रो पीडादायी कथा छ—२२ वर्षीय महेश बुढाथोकीको। दोलखा विगु गाउँपालिका स्थायी घर भई हाल नरेफाँट बस्दै आएका महेशले आफ्नो जीवन आमाकै सहारामा खर्चिरहेका थिए। आमा दिलकुमारी बुढाथोकी क्यान्सरपीडित थिइन्। उपचारका लागि महेशले दिनरात खटिरहे पनि, भदौ २४ गते कोटेश्वरमा भएको आन्दोलनमै उनले प्राण गुमाए। अहिले उहाँको परिवार दुवाकोटस्थित किरियापुत्री घरमा शोकमा डुबेको छ।
महेशका बुबाले भने, “छोराले देशका लागि ज्यान गुमायो। हाम्रो सहारा गुम्यो, तर उसले देखेको स्वच्छ र न्यायपूर्ण समाज बनेस् भन्ने मात्र चाहना छ।”
अभिषेक र महेश मात्र होइनन्, थुप्रै युवाहरूले भ्रष्टाचार र बेथितिको अन्त्यका लागि आफ्नो ज्यानको आहुति दिए। उनीहरूको बलिदानपछि नै प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। शहीद परिवारहरूको एउटै आवाज छ—“अब सरकार र नेताहरूले शहीदको सपना साकार गर्न ढिलाइ नगरून्।”
देशभर बलिदान दिएको रगतलाई धोका नगरिएको खण्डमा मात्र यी दुई युवाको अधुरो सपना पुरा हुनेछ।
शोकमा डुबेका आमाबुवाले अझै पनि आँसु सुकाएका छैनन्, तर उनीहरूको छातीमा एउटा मात्र विश्वास बाँकी छ—शहीद भएर ढलेका सन्तानहरूले देखाएको सपना अब ढल्ने छैन।
