भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. १०, चित्तपोलस्थित बिमल मेमोरियल विद्यापीठमा Pre-School Graduation and Prize Distribution Ceremony–2083 भव्य रूपमा सम्पन्न भएको छ।

१४ वैशाख २०८३ मा आयोजित कार्यक्रममा युकेजीबाट कक्षा १ मा उत्तीर्ण ससाना विद्यार्थीहरूलाई हरियो र पहेँलो रङका आकर्षक गाउन तथा विद्यालयको लोगो अंकित पोशाक लगाएर दीक्षित गरिएको थियो। गाउन लगाउन पाउँदा विद्यार्थीहरू निकै उत्साहित र दङ्ग देखिन्थे।
विद्यालयका प्रिन्सिपल कुमार थापामगरले विद्यालयले पहिलोपटक यस्तो दीक्षान्त कार्यक्रम आयोजना गरेको जानकारी दिँदै यसले विद्यार्थीहरूको मनोबल वृद्धि गर्ने विश्वास व्यक्त गरे। उनले नयाँ शैक्षिक सत्र २०८३ देखि अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकता दिइने बताए। सोअनुसार ‘डान्सिङ स्टार’ र ‘सिङ्गिङ आइडल’ प्रतियोगिता सञ्चालन गरिने, दुई कक्षालाई स्मार्ट कक्षाको रूपमा विकास गरिने तथा अङ्ग्रेजी भाषा सुधार कक्षा सञ्चालन गरिने योजना रहेको जानकारी दिए। साथै अभिभावकका गुनासोहरू नियमित रूपमा सुनुवाइ गर्ने प्रतिबद्धता पनि जनाए।

कार्यक्रमका प्रमुख अतिथि सूर्यविनायक नगरपालिका वडा नं. १० का वडा अध्यक्ष शिवराम राउतले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए।
विशेष अतिथिका रूपमा इप्सन भक्तपुरका अध्यक्ष जी.बी. खड्का र चाँगुपत्र मासिक तथा भक्तपुर टाइम्सका हरिसुन्दर छुकांको उपस्थिति रहेको थियो।
त्यसैगरी, शिक्षक अभिभावक संघका अध्यक्ष विश्वराम खत्री ले विद्यालयले विद्यार्थीको सिकाइलाई लक्षित गर्दै विभिन्न सिर्जनात्मक गतिविधि सञ्चालन गरिरहेको उल्लेख गरे।
कार्यक्रमको सभापतित्व विद्यालय सञ्चालक समितिका अध्यक्ष इन्जिनियर कमल कार्कीले गरेका थिए। स्वागत मन्तव्य शिक्षक सीता घिमिरेले राखेकी थिइन्।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन अधिकारी, सदस्यहरू ईश्वर खत्री, संगिता खत्री, परशुराम बस्नेत, शिक्षक अभिभावक संघका पदाधिकारी र शुभचिन्तकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
उद्घोषणको जिम्मेवारी भावना श्रेष्ठ र अम्बिका देउजाले सम्हालेका थिए। कार्यक्रममा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूलाई GPA का आधारमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेहरूलाई पुरस्कार तथा मेडल वितरण गरिएको थियो। साथै २५१ शैक्षिक दिनमध्ये २५१ दिन नै पूर्ण उपस्थिति जनाउने चार जना विद्यार्थीहरूलाई Most Punctual को रूपमा विशेष सम्मान गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप रोचक बनाएका थिए।
