भक्तपुर, चैत २२ । ऐतिहासिक बिस्का जात्रालाई सुरक्षित र व्यवस्थित बनाउन भक्तपुरमा ३६ वटा सिसी क्यामेरा र तीनवटा ड्रोनमार्फत निगरानी गरिने भएको छ। जात्रा अवधिभर मादक पदार्थको बिक्री–वितरण तथा ओसारपसारमा समेत पूर्ण रोक लगाइने निर्णय गरिएको छ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आइतबार सरोकारवालासँग बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले जात्राका क्रममा सम्भावित हुलदंगा, झैझगडा तथा अवाञ्छित गतिविधि नियन्त्रणका लागि कडा सुरक्षा व्यवस्था अपनाउने निष्कर्ष निकालेको छ।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालका अनुसार जात्रा अवधिभर कुनै पनि प्रकारको हुलदंगा वा अशान्ति सिर्जना गर्ने व्यक्तिलाई तत्काल नियन्त्रणमा लिई मुद्दा चलाइनेछ। साथै त्यस्ता व्यक्तिको विवरण प्रहरी रिपोर्टमा उल्लेख गरिने र विदेश यात्रामा समेत प्रभाव पर्ने चेतावनी दिइएको छ।
यस्तै, भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी सूर्यबहादुर खड्काले जात्रा क्षेत्र वरपर सिसी क्यामेरा र ड्रोनबाट २४सै घण्टा निगरानी गरिने जानकारी दिए। उनका अनुसार जात्रा अवधिभर करिब दुई हजार प्रहरी परिचालन गरिनेछ।
जात्रा अवधिमा शान्ति–सुरक्षासँगै प्राथमिक उपचार, एम्बुलेन्स तथा दमकल सेवासमेत तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। यस वर्षको बिस्का जात्रा चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ, जसअन्तर्गत आठ रात नौ दिनसम्म विविध सांस्कृतिक गतिविधि गरिनेछन्।
हाल जात्राको प्रमुख आकर्षणका रूपमा रहेको तीनतले भैरवनाथको रथ निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको छ।
