भक्तपुर । भक्तपुर का दुई फरक स्थानमा मृत चराहरू फेला परेपछि बर्ड फ्लू (H5N1) संक्रमणको आशंका गरिएको छ। एकैसाथ जंगल र बस्ती क्षेत्रमा चराहरू मरेको भेटिनु असामान्य मानिएपछि पशु स्वास्थ्य प्राविधिक टोलीले नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाएको छ।
नगरकाेट क्षेत्रको जंगलमा मृत अवस्थामा विभिन्न चराहरू फेला परेका छन्। त्यस्तै, भक्तपुर नगरपालिका–८ स्थित महेश्वरी मन्दिर परिसरमा पनि केही कागहरू मृत अवस्थामा भेटिएपछि स्थानीयबासीले सम्बन्धित निकायलाई खबर गरेका थिए।
दुवै स्थानबाट संकलित नमुनाहरूमा घातक मानिने Avian Influenza (H5N1) को सम्भावना रहेको आशंकामा प्रारम्भिक परीक्षण भइरहेको जनाइएको छ। यद्यपि हालसम्म यसको आधिकारिक पुष्टि भएको छैन।
पशु सेवा विभागको टोलीले दुवै क्षेत्रमा पुगेर नमुना संकलन गर्नुका साथै थप संक्रमण फैलिन नदिन सतर्कता अपनाउन आग्रह गरेको छ। स्थानीय प्रशासनले पनि नागरिकलाई मृत वा बिरामी पक्षी नछुने, नजिक नजाने र यस्ता घटना देखिएमा तुरुन्त जानकारी गराउन अनुरोध गरेको छ।
स्वास्थ्य तथा पशु प्राविधिकहरूले सम्भावित जोखिमलाई ध्यानमा राख्दै निगरानी कडा पारिएको र परीक्षण प्रतिवेदन आएपछि मात्र वास्तविक अवस्था स्पष्ट हुने बताएका छन्।
