भक्तपुर । पुस्तकप्रेमी तथा इतिहासप्रति रुचि राख्नेहरूका लागि लक्षित गरि भक्तपुरमा लेखक सुरेश ढकालसँग अन्तरसंवाद कार्यक्रम आयोजना हुने भएको छ।
बुक क्लब, भक्तपुरको आयोजनामा चैत २० गते शुक्रबार भक्तपुरको ख्वप छेँ, खाैमा क्षेत्रमा दिउँसो ३ बजे उक्त कार्यक्रम सञ्चालन हुने जनाइएको छ।
सुरेश ढकाल नेपाली बौद्धिक जगतमा चिनिएका लेखक, अनुसन्धानकर्ता तथा मानवशास्त्री (Anthropologist) हुन्। मानव समाजको उत्पत्ति, विकासक्रम, संस्कृतिको रूपान्तरण र सभ्यताको यात्रा सम्बन्धी अध्ययनमा उनको विशेष रुचि रहेको पाइन्छ।
मानवशास्त्र (Anthropology) अन्तर्गत उनले मानव समुदायको जीवनशैली, विश्वास, परम्परा र सांस्कृतिक अभ्यासलाई ऐतिहासिक दृष्टिकोणसँग जोडेर विश्लेषण गर्ने काम गरेका छन्। इतिहासलाई केवल राजनैतिक घटनासम्म सीमित नगरी सामाजिक र सांस्कृतिक पाटोसँग गाँसेर हेर्ने उनको दृष्टिकोणले उनलाई फरक पहिचान दिलाएको छ।
उनै मानवशास्त्री सुरेश ढकालकाे पुस्तक `इतिहास अधिको इतिहास´ सँग सम्बन्धित भएर अन्तरसम्वाद गरिन लागेको आयाेजकले जनाएको छ । पुस्तकले मानव सभ्यताको प्रारम्भ, सांस्कृतिक विकास र इतिहासको गहिरो विश्लेषण गरेकाे छ । उक्त कृतिमा उनले “इतिहासभन्दा अघि के थियो ?” भन्ने जिज्ञासालाई केन्द्रमा राखेर मानव विकासको प्रारम्भिक चरणलाई खोज्ने प्रयास गरेका छन्।
कार्यक्रममा लेखक ढकालले आफ्नो कृतिको पृष्ठभूमि, लेखन प्रक्रिया तथा अनुसन्धानका अनुभवहरूबारे चर्चा गर्नेछन्। साथै सहभागीहरूले प्रत्यक्ष रूपमा प्रश्न राख्न सक्ने अवसर पनि पाउनेछन्। कार्यक्रममा विद्यार्थी, अध्येता, साहित्यप्रेमी तथा इतिहासमा रुचि राख्ने सर्वसाधारण, समाजशास्त्र अध्येता,मानवशास्त्र अध्येतालगायतकाे सहभभागिताका लागि आग्रह गरिएको छ। कार्यक्रमलाई Gorkha Eco Panelले सहयोग गरेको आयोजकले जनाएको छ।
