शुक्रबार, बैशाख १८, २०८३

19.1 C
Bhaktapur
शुक्रबार, बैशाख १८, २०८३
19.1 C
Bhaktapur
HomeNews ContentविचारSEE २०८२: सफलताको लागि २० सुनौला नियमहरू

SEE २०८२: सफलताको लागि २० सुनौला नियमहरू

विद्यार्थी तथा अभिभावकका लागि व्यावहारिक मार्गदर्शन
आदरणीय अभिभावकवर्ग तथा मेहनती विद्यार्थीहरू !

शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) अब केही दिनमै ढोका ढकढकाउँदै छ । यो निर्णायक परीक्षाको तयारीमा जुटेका सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । सफलता केवल मेहनतमा मात्र होइन, सही बानी, अनुशासन र स्मार्ट तयारीमा निर्भर गर्दछ ।

तसर्थ, SEE को तयारी र परीक्षा अवधिमा के गर्नुहोस् र के गर्नुहुँदैन भन्ने व्यावहारिक तथा वैज्ञानिक सल्लाह यहाँ प्रस्तुत गर्दछु । यी २० सुनौला नियमहरू पालना गरेमा तपाईंको शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन र परीक्षाफल दुवै उत्कृष्ट हुनेमा म पूर्ण विश्वस्त छु ।

हरिप्रसाद ढकाल, प्रधानाध्यापक

SEE सफलताका २० सुनौला नियमहरू
१. बिहानको अनुशासन: बिहान ५ बजे पहिले उठ्ने, नित्यकर्म पूरा गरेपछि केही समय ध्यान वा योग गर्नुहोस् । यसले दिनभर ताजगी र एकाग्रता प्रदान गर्दछ ।
२. स्वास्थ्यकर सुरुवात: उमालेको पानी मनतातो बनाएर कागती मिसाएर कम्तीमा एक गिलास पिउनुहोस् । यो सरल अभ्यासले शरीरलाई डिटोक्सिफाई गर्दछ र ऊर्जा बढाउँछ ।
३. समय व्यवस्थापन: गणित र विज्ञान जस्ता कठिन विषय बिहानको ताजा दिमागमा पहिले पढ्ने । पछि अन्य विषयमा ध्यान दिनुहोस् ।
४. सक्रिय सिकाइ: पढ्दा केवल पढ्ने मात्र होइन, लेखेर, चित्र बनाएर, सूत्र तयार गरेर याद गर्ने बानी बसाल्नुहोस् । “म देख्छु, म बिर्सन्छु; म लेख्छु, म सम्झन्छु” भन्ने कुरा सत्य हो ।
५. व्यक्तिगत सरसफाइ: आफ्नो शरीर, पोसाक र अध्ययन कक्षको सरसफाइमा सधैं सचेत रहनुहोस् । सफा वातावरणले मन पनि सफा राख्छ ।
६. सन्तुलित आहार: अत्यधिक पिरो, चिल्लो, काँचो, चिसो तथा बासी खानेकुरा सकेसम्म नखानुहोस् । दूध, बदाम, ओखर, फलफूल जस्ता पौष्टिक खानेकुरा नियमित रूपमा सेवन गर्नुहोस् ।
७. पेटको हेरचाह: जति पनि खान मन लागे पनि अति पेट चर्कने गरी कहिल्यै नखानुहोस् । हल्का र सन्तुलित भोजन नै राम्रो ।
८. उत्कृष्ट निद्रा: राति ७–८ घण्टा गहिरो निद्रा लिनुहोस् । राम्रो निद्राले मेमोरी र एकाग्रता दुवै बढाउँछ ।
९. मोबाइलको नियन्त्रण: मोबाइल केवल सूचना र सिकाइका लागि मात्र प्रयोग गर्नुहोस् । मनोरञ्जनमा घण्टौं बिताउने बानी पूर्ण रूपमा परिवर्तन गर्नुहोस् ।
१०. सुरक्षा सतर्कता: धारिला हातहतियार, आगो वा अत्यन्त प्रज्वलनशील पदार्थ नजिक नजानुहोस् ।
११. प्रवेशपत्रको सुरक्षा: प्रवेशपत्रलाई ल्यामिनेट गरी सुरक्षित राख्नुहोस् । कम्तीमा एक प्रति फोटोकपी पनि तयार राख्नुहोस् र परीक्षा केन्द्रमा सधैं साथमा लैजानुहोस् ।
१२. परीक्षा केन्द्रमा प्रतिबन्ध: स्मार्ट घडी, मोबाइल, धेरै पैसा, गरगहना, ब्लेड, चक्कु जस्ता वस्तु कहिल्यै नलैजानुहोस् ।
१३. परीक्षा अवधिको विशेष आहार: हरेक बिहान विभिन्न सामग्री मिसाएको सातु, ताजा गेडागुडी र तिनको रस सेवन गर्नुहोस् । यसले ऊर्जा स्थिर राख्छ ।
१४. परीक्षा हलमा अनुशासन: पानी पिउने वा शौचालय जाने निहुँमा परीक्षा बीचमा आफ्नो स्थान छोड्ने काम नगर्नुहोस् । सकेसम्म पूरै परीक्षा आफ्नै सिटमा बस्नुहोस् ।
१५. हल्लाको पछि नलाग्ने: बजारमा फैलिने “परीक्षा स्थगित” जस्ता हल्लामा विश्वास नगर्नुहोस् । शङ्का लागेमा आफ्नो विद्यालय प्रशासनसँग मात्र पुष्टि गर्नुहोस् ।
१६. आत्मविश्वास: सधैं सकारात्मक सोच र आत्मविश्वासका साथ तयारी गर्नुहोस् । “म सक्छु” भन्ने भावना सफलताको कुन्जी हो ।
१७. जोखिमपूर्ण कामबाट टाढा: परीक्षा नसकिँदासम्म साइकल, मोटरसाइकल अभ्यास, फुटबल, स्केटिङ जस्ता जोखिमपूर्ण खेल वा गतिविधिमा संलग्न नहुनुहोस् ।
१८. व्यक्तिगत समयतालिका: आफ्नो क्षमता र आवश्यकता अनुसार समय तालिका बनाएर कडाइका साथ पालना गर्नुहोस् ।
१९. उत्तर लेख्ने तरिका: उत्तर लेख्नुअघि प्रश्नको निर्देशन र आशय राम्ररी बुझ्नुहोस् । प्रश्न स्पष्ट बुझेपछि मात्र लेख्न सुरु गर्नुहोस् ।
२०. समयको कदर: परीक्षा दिन बिहान आधा घण्टा अगावै परीक्षा केन्द्र पुग्नुहोस् । परीक्षा सकिएपछि पनि सिधै घर फर्कनुहोस् । बजार घुम्ने, सिनेमा हेर्ने वा रमाइलोमा लाग्ने काम नगर्नुहोस् ।
यी सुझावहरू मेरो निजी अध्ययन, अनुभव र विज्ञानसम्मत सल्लाहमा आधारित छन् । यदि यी मध्ये कुनै पनि कुराले कसैलाई असजिलो महसुस भएको छ भने म क्षमा प्रार्थी छु ।
अन्त्यमा, मेहनती विद्यार्थीहरू ! तपाईंको मेहनत, अनुशासन र सकारात्मक सोचले नै तपाईंलाई सफलताको शिखरमा पुर्‍याउनेछ । अभिभावकहरूले पनि आफ्ना सन्तानलाई यी नियमहरू पालना गर्न प्रेरित गर्नुहोस् र उनीहरूलाई मनोबल उच्च राख्न सहयोग गर्नुहोस् ।
तपाईं सबैको उज्ज्वल भविष्यको कामना गर्दछु !
SEE २०८२ मा शतप्रतिशत सफलता प्राप्त होस् !
धन्यवाद ।
“अनुशासन नै सफलताको आधार हो”

  • हरिप्रसाद ढकाल । ढकाल भक्तपुरको जाेरपाटी माविका प्रधानाध्यापक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको