नेमकिपा र फागुन २१ को निर्मम सन्देश …
एउटा निश्चित भूगोल र एउटै सिद्धान्तको घेराभित्र दशकौँसम्म बस्दा कहिलेकाहीँ ‘हामी मात्रै सही छौँ’ भन्ने एउटा गहिरो दम्भ पलाउनु स्वाभाविक हो। तर, फागुन २१ को परिणामले आफ्नो गढ जोगाउन र विस्तार गर्न कति कठिन छ भन्ने ऐना छर्लङ्गै देखाइदिएको छ। सिद्धान्तको रटानले मात्रै सधैँ जनमत सुरक्षित हुँदैन। राजनीति गतिशीलताको नाम हो, जडताको होइन। दशकौँदेखि एउटै नारा, एउटै कार्यशैली र ‘हामी बाहेक सबै संशोधनवादी वा अवसरवादी’ भन्ने जुन अहंकार छ, त्यसले नेमकिपालाई एउटा सानो टापुमा सीमित गरिदियो। फागुन २१ को पराजयले स्पष्ट पारेको छ— अब सिद्धान्तका ठेलीले मात्र पुग्दैन, जनताको फेरिएको आवश्यकता र बदलिँदो राष्ट्रिय राजनीतिसँग तालमेल मिलाउनै पर्छ।
विश्व राजनीति र इतिहासका पुराना कथाहरू सुनाएर नयाँ पुस्तालाई कतिन्जेल अल्मल्याउने ? २१ औँ शताब्दीको युवाले रोजगारी, प्रविधि र प्रत्यक्ष नतिजा खोजिरहेको छ। नेमकिपाले आफ्नो “पुरानो रटान” लाई नयाँपन दिन नसक्नु नै उसको पराजयको मुख्य कारण हो जस्तो लाग्छ मलाई ।
अझै पनि समय छ , आफ्नै वरिपरि बनाएको अहंकारको पर्खाल भत्काएर बाहिर निस्कनुपर्छ। भक्तपुरको सिमानाभन्दा बाहिरको नेपाल र त्यहाँका जनताको मनोविज्ञान नबुझी राष्ट्रिय शक्ति बन्ने सपना अधुरै रहनेछ।
जबसम्म यथार्थको धरातलमा खुट्टा टेकिँदैन, तबसम्म विगतको गौरवगाथाले वर्तमानको खाडल पुरिँदैन। फागुन २१ को हार केवल एउटा सिटको क्षति होइन, यो त नेमकिपाको विचार र शैलीमाथि जनताले गरेको ठूलो प्रश्नचिह्न हो।
राजनीतिमा जनताको मत नै अन्तिम सत्य हो। पुरानै शैली र अहंकारले भविष्य निर्माण गर्दैन, बरु झन् ठूलो खाडलतिर धकेल्छ भन्ने सन्देश यहाँ प्रस्ट छ।
नयाँ यात्राको सुरुवातका लागि पुरानै ‘रटान’ दोहोर्याउनु भन्दा नयाँ एजेन्डा र नयाँ सोचका साथ जनताको बीचमा जानु नै अबको बुद्धिमानी हुनेछ।
समयले दिएको यो ठक्कर सायद एउटा अवसर पनि हो—आफूलाई सच्याउने र अझै परिष्कृत भएर उभिने।
#नेमकिपा #निर्वाचन२०८२ #आत्मसमीक्षा #यथार्थकोधरातल #राजनीति
- सामाजिक सञ्जालबाट…
