आइतवार, माघ ४, २०८२

18.1 C
Bhaktapur
आइतवार, माघ ४, २०८२
18.1 C
Bhaktapur
HomeNews Contentभक्तपुर टाइम्स विशेषभ्रममा बाँचेका सर्जक: बुद्धिकृष्ण लामिछाने

भ्रममा बाँचेका सर्जक: बुद्धिकृष्ण लामिछाने

– शैलपुत्र 

२०८२ साललाई भक्तपुरको चाँगुनारायण नगरपालिकाले ‘नगरकोट भ्रमण वर्ष २०८२’ को नाम दिएर बाह्य तथा आन्तरिक पर्यटकहरुलाई स्वागत गरिरहेकै छ। भ्रमण वर्षकै सन्दर्भमा नगरपालिकाले भक्तपुर जिल्ला र चाँगुनारायण नगरपालिकालाई देश विदेशमा चिनाउने स्रष्टा सर्जकहरुलाई पनि यथोचित सम्झना र सम्मान गरिरहेको छ। यही मेसोमा यही पौष १३ गतेको साँझलाई ‘स्वर्गीय बुद्धिकृष्ण लामिछाने सांस्कृतिक साँझ’  को नाममा चाँगुनारायण नगरपालिकाले वरिष्ठ लोक गायक स्वर्गीय बुद्धिकृष्ण लामिछानेलाई सम्झियो, सम्मान गर्यो र नेपाली लोक संगीतको श्रीबृद्धिमा लामिछानेले पुर्‍याएको योगदानको यथोचित कदर पनि गर्यो। २०७५ साल पौष १३ गते लोक गायक बुद्धिकृष्ण लामिछानेले संसारिक जीवनको ६७ औं वर्ष व्यथित गर्दागर्दै विश्राम लिएको दिन । उनको भौतिक चोला फेरिएको सातौं वर्षान्तमा चाँगुनारायण नगरपालिकाले उनलाई सम्झिने मेलोमेसो मिलायो र भव्य रुपमा सम्पन्न भयो ‘स्वर्गीय बुद्धिकृष्ण लामिछाने सांस्कृतिक साँझ २०८२’ । चर्चित गायक आर्को मुखर्जी देखि कोमल ओलीसम्मले बुद्धिकृष्णका कालजयी गीतहरु गाएर उनलाई सम्झिएका थिए।

हजारौं दर्शकहरू आफ्नै थातथलोका प्रसिद्ध सर्जक बुद्धिकृष्ण लामिछानेलाई सम्झन हेल्मेट डाँडाको खुला चौरमा उपस्थित भएका थिए। दर्शक सहभागिता, व्यवस्थापन तथा साङ्गीतिक प्रस्तुतिका हिसाबले यो कार्यक्रम चाँगुनारायण नगरपालिकाभित्र सम्पन्न भएका र अब हुने विभिन्न कार्यक्रमहरूमध्ये ‘ऐतिहासिक ‘ रह्यो र  रहनेछ भन्दा अन्यथा नहोला ।

स्वर्गीय बुद्धिकृष्ण लामिछाने सांस्कृतिक साँझको सफलताको प्रसङ्ग कोट्याउँदै म यो लेखमार्फत वरिष्ठ लोक गायक स्वर्गीय बुद्धिकृष्ण लामिछानेको जीवनी केलाउने प्रयास गर्दैछु र उनले बाँचेको ६६ वर्षको समय रेखालाई एउटा भ्रमको संज्ञा दिइरहेको छु। आउनुहोस्, भ्रममै जीवन व्यथित गरेका एक प्रसिद्ध भक्तपुरे लोकगायक बुद्धिकृष्ण लामिछाने  आफूसँगै पालेका भ्रमहरूको गुदी केलाऔं  र उनीप्रति श्रद्धासुमन अर्पण गरौँ । 

स्व. बुद्धिकृष्ण लामिछाने

विसं २०१२ मा चाँगुनारायण नगरपालिका वडा नं ७ (साविक बागेश्वरी गाविस वडा नं ३) चारघरेमा जन्मिएका थिए बुद्धिकृष्ण लामिछाने । साधारण कृषक परिवारमा सातौँ सन्तानको रुपमा जन्मिएका बुद्धकृष्णको बाल्यकाल तत्कालीन काँठे परिवेशमा एक निम्न वर्गीय किसान परिवारमा जन्मिएको बालकको जीवन जस्तो हुन्थ्यो,  ठ्याक्कै त्यस्तै थियो तर त्यसमा थपिएको बुद्धिकृष्णको एउटा गुण भने पृथक थियो – लोक संगीतप्रतिको लगाव र सिर्जनशीलता । त्यही लगाब र सिर्जनशीलताले चारघरे टोलको बुद्धिकृष्ण लामिछाने चर्चित लोक गायकको रूपमा सञ्चारको संवाहक रेडियो नेपालमार्फत मानिसहरूको चोटाकोठा , घरबारी र मेलापर्वहरूमा गुञ्जिन थाल्यो। बुद्धिकृष्ण लामिछानेको अगाडि लोक गायकको उपाधि थपिन उनले गरेका सङ्घर्षहरूको कथा भने लामै छ। 

कयौँ पटक नातिकाजी, धर्मराज थापा जस्ता स्रष्टाहरूको नजरमा  बुद्धिकृष्ण परेनन्  । एकदिन रेडियो नेपालमा लोकगीत रेकर्ड गराएरै छाड्छु भन्दै गाउँमा हल्ला गर्दै हिँडेका लामिछानेले पटक पटक स्वर परीक्षा अनुत्तीर्ण हुँदा मजाक र खिसीट्युरीका पात्र बनेपनि हरेस खाएनन् । रेडियो नेपाल धाउँदा धाउँदै घरव्यवहार अस्तव्यस्त भएको स्पष्ट थियो  तर  पनि इख र संकल्पले घर व्यवहार भन्दा मन व्यवहारलाई प्राथमिकता दिए लामिछानेले । नातिकाजीलाई प्रभावित पार्न संगीत प्रवीण नरराज ढकालसँग केही समय संगीतको प्रशिक्षण समेत लिए ।  २०३६ सालमा रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गरेरै छाडे र लोक संगीतको साधक बने । स्वर परीक्षा उत्तीर्ण गरेपछि रेकर्ड भएको उनको पहिलो लोकगीत ‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर ,कसलाई दिउँ यो जोवन’  अहिलेको भाषामा सुपरहिट भयो। त्यसपछि बुद्धिकृष्ण लामिछानेको नाम ‘ घाँस काट्ने खुर्केर ‘ का गायकको रुपमा रेडियो नेपालका श्रोताहरुबिच कहिल्यै नबिर्सने गरी मनमुटुमै अङ्कित हुन पुग्यो। गाउँघरतिर भने अर्को हल्ला व्यापक थियो- ‘गीत गाउन बुद्धिकृष्णले आफ्नो सम्पत्ति नै दाउमा राख्यो ।’ गीत संगीत भनेर दिलो ज्यान दिएका बुद्धिकृष्णले त्यतिबेला दैनिक घरव्यवहार र खेतीपातीमा ध्यान दिन नसकेका कारण घरको आर्थिक अवस्था निकै नाजुक बन्न पुगेको थियो। पछि नेपाली सेनाको प्रशासनतर्फको सेवामा नियुक्ति पाएपछि भने केही सहज भयो ।

होचो कद,  मोटो शरीर र दुवै कुम हल्लाउँदै नाँच्दै गाउने शैलीले टेलिभिजनका पर्दामा उनी पृथक देखिन्थे। स्टेज कार्यक्रमहरुमा उनको उनका प्रस्तुतिले सबैको ध्यान आकर्षित गर्दथे। 

लामिछाने आफूले रेडियो नेपालमा सयभन्दा बढी लोकगीत रेकर्ड गरेको बताउँथे। त्यसको आधिकारिक तथ्याङ्क रेडियो नेपालसँगै होला तर मानिसहरूको मनमुटुमा भने ‘घाँस काट्ने खुर्केर’, ‘ पिँढीमा बसेर’ ,  ‘तिम्रो र मेरो मायाको डोरो’,  ‘मैलो रुमाल छुपुछुपु’ जस्ता दर्जनजति गीत आज पर्यन्त बसेका छन्। सबैभन्दा चर्चित लोक गीत ‘घाँस काट्ने खुर्केर’का प्रसङ्ग अनेक छन् । घर नजिकैको बहाल वनमा घाँस दाउरा गर्दागर्दै बुद्धिकृष्णले संकलन गरेको यो लोकगीत मह संचारको ‘चिठा’ टेलिचलचित्रमा प्रयोग भएपछि झन् चर्चित भयो। २०५७ सालतिर राई थरका एकजना गायकले लामिछानेको अनुमति नै नलिई यो गीत रिमिक्स गरेर गाएपछि बुद्धिकृष्ण ती गायकको घर ठेगाना खोज्दै सम्झाउन भनी पुगेछन् । कुरा गर्दै जाँदा रिमिक्स गर्ने गायक आफ्नै साथीको छोरा परेपछि ‘अब त्यसो नगर है बाबु !’ भनी फर्किएछन्। बुद्धिकृष्णको नामलाई ओजिलो बनाउन ‘घाँस काट्ने खुर्केर’को योगदान नै सर्वाधिक छ र संभवत: पर्याप्त पनि । 

बुद्धिकृष्णले आफ्नो जीवनकालमा अभिनयको पनि अनुभव बटुले । हिजो आजका कुरा, जिरे खुर्सानी,  तितो सत्यजस्ता हाँस्य श्रृङ्खलाहरुमा उनको अभिनय समेटिएका छन्। धेरैलाई थाहा नहोला,  बुद्धिकृष्ण लामिछानेका केही कविताहरू भक्तपुरबाट प्रकाशित केही साहित्यिक पत्रिकाहरूमा प्रकाशन भएका छन्। उनी भक्तपुरको बाटिका साहित्यिक समूहका सल्लाहकार समेत थिए। कृषक परिवारमा जन्मिएका बुद्धिकृष्णले बागेश्वरीमा कुरिलो खेतीको प्रवर्द्धन गरेका थिए भन्ने यथार्थ पनि कमैलाई ज्ञात छ। भक्तपुरको कमलविनायकमा केही समय बिउ बिजनको पसल समेत चलाएका थिए । 

अब जाउँ भ्रमतर्फ। पितृसत्ताको दबदबा रहेको काँठे परिवेशमा हुर्किएका बुद्धिकृष्णलाई सन्तानको रुपमा छोरो नहुँदाको अवस्थाले पत्नी दुर्गादेवीमाथि अर्की पत्नी भित्र्याउने अवस्था आयो । पारिवारिक दबाबमा अर्को विवाह गर्न पुगेका बुद्धिकृष्णको दोस्रो पत्नीबाट एक छोरीको जन्म हुन पुग्यो । पछि दुर्गादेवीकै कोखबाट दुई छोराहरु जन्मिए । अहिले छोराछोरीहरु सबै व्यवस्थित जीवनयापन गरिरहेका छन् तर दोस्री पत्नीबाट जीवनको उत्तरार्धमा पाएका मानसिक यातनाले भने बुद्धिकृष्णको  उच्च रक्तचाप र मधुमेह झन्  झन् बढाउने काम गर्यो । असन्तुलित पारिवारिक सम्बन्ध र बहुविवाहले निम्त्याएका मुद्दाहरू  एकपछि अर्को थपिँदै गएपछि बुद्धिकृष्णको रोगी शरीर झन् गल्दै गयो ।  उनको मृत्युको घडीमा समेत उनकी दोस्री पत्नी र छोरीको अनुपस्थितिबाटै धेरै कुरा बुझ्न सकिन्छ । 

देख्ने सुन्नेहरूलाई थाहा छ,  बुद्धिकृष्णले सहरमै राखेर रेखदेख लालनपालन र शिक्षादिक्षा दिएका पत्नी र छोरीबाट उनले पाएको व्यवहार व्यवहारिक दृष्टिकोणबाट कुनै पनि हिसाबले सुसंस्कृत थिएन। उनलाई उनको संघर्षका दिनहरुमा र बिरामी अवस्थामा पत्नी दुर्गादेवीले भने सधैंभरि साथ दिइरहिन् । ‘आफूले हेरेकाले आफूलाई पनि हेर्छ’  भन्ने भ्रम पालेर वर्षौंसम्म बाँचिरहे बुद्धिकृष्ण । भ्रमको जालो च्यातिन उनी थला नै पर्नुपर्यो। २०६८ सालमा हिँड्दा हिँड्दै लडेका उनी हृदयघातको सिकार भए र त्यसैको परिणाम स्वरूप पक्षघातले पनि ग्रसित तुल्यायो। 

बुद्धिकृष्ण थलिएपछि २०७२ को महाभूकम्पले भत्काएको जीर्ण घरको पिँढीमा बसेर सहयोगी मनहरूको प्रतिक्षा गरिरहे । राज्यका तर्फबाट कलाकारले पाउनुपर्ने सम्मान र सद्भाव उनले पाएनन् भन्दा पनि हुन्छ । सामाजिक सञ्जालमा उनका विषयमा राखिएका सामग्रीहरूले भने केही कलाकार र जनप्रतिनिधिहरूको ध्यान खिच्न सफल भयो। राष्ट्रिय स्तरबाट उनले खासै केही पाएनन् । आर्थिक अवस्था र स्वास्थ्य अवस्था दुवै जर्जर हुँदा नाम र चर्चाले मात्र केही पार लाग्दैन भने यथार्थ छर्लङ्ग भयो।  कलाकारलाई राज्यले परेको बेला हेर्छ भन्ने अर्को भ्रम पालेर बाँचेका लामिछाने भ्रमकै बीचमा अस्ताए । 

मानिसको जीवन नै एउटा भ्रम हो भनिन्छ । जीवनलाई अनेक दृष्टिकोणबाट व्याख्या गर्ने विद्वानहरु यसलाई सपना र उद्देश्यको दृष्टिभ्रम ( मिराज) भन्छन् । लामिछाने यस्तै भ्रममा बाँचे । लोक संगीतमा अझै केही गर्न सक्छु भन्ने भ्रम जीवनका अन्तिम दिनहरूमा पनि उनीभित्र थियो ।  

केही ढिलै सही,  चाँगुनारायण नगरपालिकाले आफ्नै भूमिको एउटा स्रष्टालाई सम्झिएर एउटा स्मरणीय कार्यक्रमको आयोजना गर्यो । नगर प्रमुख जीवन खत्री, वडा नं ७ का वडा अध्यक्ष श्यामकृष्ण नयाँजु, कार्यक्रमका संयोजक श्यामकाजी नयाँजु लगायत चाँगुनारायण नगरपालिकाका सबै जनप्रतिनिधि र कर्मचारीहरू सबैमा धन्यवाद । पूर्व नगर प्रमुख सोम मिश्रको पहलकदमी पनि  स्मरणीय छ । चानपाले सर्जकहरुलाई सम्मान र प्रोत्साहन गर्ने यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइरहोस् । 

नेपाली लोकसंगीतका नक्षेत्रमध्येका एक स्वर्गीय बुद्धिकृष्ण लामिछानेप्रति हार्दिक श्रद्धासुमन । उहाँका सिर्जनशील कर्महरुले हामीलाई प्रेरणा  मिलोस् ।

1 COMMENT

  1. हाम्राे क्षेत्रकाे लाेक गायक भनेर चिनियका आदरणिय दाजु बुद्दिकृण्णलाई जिबनकाे अन्तिम समयमा निकै नै गार्हाे पर्याे जिबनयापनामा,धेरै नै असहज परिस्थितिमा हुनुहुन्थ्यो,धेरै नसकेपनि १ दिन नै भय पनि दाजुकाे सहयाेगकाे लागि मिडियाबाट आवाज उठाेस भनेर मिडियाकर्मि लागि त्याँहा काे प्रतिकुल अबश्थालाई सहज बनाउनमा मैले सक्दाे सहयाेग गर्ने काेशिस पनि गरे,त्यसपछि अलि अलि कतै कतै बाट आंशिक रुपमा सहयाेग पनि भयाे, जे हाेस यति नै दाजुकाे लागि मेराे तर्फबाट ।। मृत आत्माकाे चिर शान्तिकाे कामना ।।दाजु, तपाईंका अमरत्व लाेक गायन कला हामी लगायत भाबि सन्तति र देशले समेत सम्झिनेछ, यतिकाे कार्यक्रम मार्फत प्रचार प्रसार गरेर सम्झिदिनु भयकाेमा आयाेजक टिमलाई हार्दिक धन्यवाद पनि ।।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको