भक्तपुर । गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ओसियन म्युजिक नेपालको युट्युब च्यानलमा सार्वजनिक भएको छ।
संगीतकार ओमप्रकाश राईको संगीत र गायिका पेमा शेर्पा राईको सुमधुर स्वरले गीतलाई जीवन्त बनाएको छ।
गीतलाई सन्तोष प्रगाढ राईले एरेन्ज गरेका छन्। गीतको इडिटिङ वीरेन्द्र भाट ‘विपिन’ र मिक्सिङ–मास्टरिङ गोविन्द सोनीले गरेका छन्। उक्त गीतले एकतर्फी प्रेमको पीडा र चोखो प्रेमको आत्मीय प्रस्तुत गरेको छ।
२०७५ मा शिला खनालले गीतकार राईको‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’गीत गाएकी थिइन् भने ‘सञ्चो छौ कि विसञ्चो’ गीत २०७९ मा मनमा बि राई र २०८१ म नवराज पराजुलीले गाएका थिए।
दिक्तेल रुपाकोट मझुवागढी–७, सिर्जनाकुञ्ज, दोर्पा, खोटाङका राई पत्रकारिता र साहित्यमा सक्रिय छन्। उनी साहित्यका विविध विधामा कलम चलाउँछन्। उनका ‘टोली नेता’ (२०७४) र पोलेको मकै’ (२०७८) बालकथासंग्रह प्रकाशित छन्।
गीतकार राई फेसबुक पेज ‘लघुकथा सौन्दर्य’मार्फत लघुकथाको उन्नयनमा सक्रिय छन्। ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) सामुहिक लघुकथासंग्रहमा उनका केही लघुकथा संगृहीत छन्।
राईको संयोजन र विमल भौकाजीको सम्पादनमा तयार भएको सामुहिक लघुकथासंग्रह ‘बलेँसी’ हालै बजारमा आएको छ।
रावासावा प्राज्ञिक समाज नेपालका सचिव राई लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष समेत हुन्।
‘शैक्षिक पैरवी’ र ‘नलिनी’ बाट उनले सम्पादन अनुभव पनि बटुलेका छन्। दस वर्षको शिक्षण अनुभवपछि काठमाडौं आएका राई चाम्लिङ शब्दकोश ‘इलाखिम’ र लघुकथासंग्रह प्रकाशनको तयारीमा छन्।
गीत हेर्न, सुन्न यहाँ जानूस् : https://youtu.be/40evb7Ro188?si=pE30y8RehO-i23dk
