भक्तपुर । वी किड्स स्कूल भक्तपुरले शैक्षिक सत्र २०८२ को प्रारम्भको १०० दिन पूरा भएको अवसरमा विद्यालय परिसरमा विशेष कार्यक्रम ‘हन्ड्रेड डे सेलिब्रेशन’ सम्पन्न गरेको छ।

कार्यक्रममा विद्यार्थी, अभिभावक र शिक्षकबीच अन्तरक्रियात्मक गतिविधिहरू सञ्चालन भए, जसले बालबालिकाको शारीरिक, बौद्धिक र व्यवहारिक विकासको प्रत्यक्ष प्रदर्शन गरायो। खेल, शैक्षिक सामग्री र प्रस्तुतीकरणमार्फत विद्यार्थीहरूले आफ्नो प्रतिभा र आत्मविश्वास प्रदर्शन गरेका थिए ।
विद्यालयकी प्रिन्सिपल मञ्जु दुवालले कार्यक्रममा सम्बोधन गर्दै भनिन्, “हामी पढाउने मात्र होइन, खेलाउँदै सिकाउने विधि अपनाउँछौं। यसपटक विद्यार्थीहरूको नेतृत्वमा अभिभावकको सहभागितासहित ‘स्टुडेन्ट लिड कन्फरेन्स’ आयोजना गरिएको छ।” विद्यार्थीहरूले आफ्ना उत्तरपुस्तिका आत्मसमिक्षा गरी सुधारको अभ्यास गरे, जसले उनीहरूमा आत्मचिन्तन र आत्मविश्वास अभिवृद्धि गरेको छ। अभिभावकहरूले आफ्ना सन्तानको प्रगति देखेर खुशी व्यक्त गर्दै यस्ता गतिविधिलाई नियमित गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा विद्यार्थी मात्र होइन अभिभावकहरू पनि विभिन्न खेल र गतिविधिमा सहभागी भए, जसले विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ प्रगाढ बनायो। वी किड्स स्कूल ‘Explore, Learn, Grow’ अवधारणाअनुसार बालबालिकाको बौद्धिक, शारीरिक, चारित्रिक र व्यवहारिक विकासमा केन्द्रित हुँदै, आत्मनिर्भर, रचनात्मक र सामाजिक रूपमा सक्षम नागरिक तयार पार्न निरन्तर काम गर्दै आएको छ।
उक्त कार्यक्रमले विद्यालयमा सिकाइ, खेलकुद र सृजनशीलताबीचको समन्वयलाई मात्र होइन, बालबालिकाको उत्साह, प्रतिभा र आत्मविश्वासलाई पनि दर्शाएको अभिभावकले जनाएका छन् ।

