भक्तपुर । नेपाल मजदुर किसान पार्टी ताथलीले चाँगुनारायण नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीका स्थानीय समस्याबारे सम्बाेधनकाे माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका हुन् ।
विगत लामो समयदेखि सडकको अवस्था जीर्ण रहँदै आएको र मर्मत तथा स्तरोन्नतिको काम पूर्ण रूपमा अवरुद्ध हुँदा सर्वसाधारण दैनिक सास्ती खेप्न बाध्य भएको जनाउँदै ज्ञापनपत्रमार्फत नगर प्रमुखको ध्यानाकर्षण गराए ।
स्थानीय बासिन्दा, उपभोक्ता समूह तथा सेवाग्राही, युवा, महिलालगायतकाे उपस्थितिमा ताथली–नाला सडकको रामसीता मन्दिर क्षेत्रको तत्काल स्तरोन्नति तथा मर्मत गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाउन गएका टाेलीकाे नेतृत्व गर्दै नेमकिपा ताथलीका अध्यक्ष राजाराम छुकांले ताथलीकाे मुख्य सडककाे रूपमा रहेका ताथली – नाला सडकका साथै अन्य सडकहरूको अवस्थासमेत दयनीय हुँदै गएको र स्थानीय तथा वडाका जनप्रतिनिधिले पटक–पटक जानकारी गराउँदा पनि नगरपालिकाले कुनै चासो नदेखाएको बताए ।
ज्ञापनपत्रमा उक्त सडक अरनिको राजमार्गको वैकल्पिक मार्गका रूपमा दैनिक हजारौं सवारी साधन सञ्चालन हुने व्यस्त सडक हुँदा पनि सडकको मर्मतप्रति नगरपालिकाको उदासीनता गम्भीर चिन्ताको विषय भएको उल्लेख छ ।
ज्ञापनपत्र प्रस्तुत गर्दै अध्यक्ष छुकांले उल्लेख आर्थिक वर्ष २०८२/०८३ का लागि नगरपालिका बजेट, नीति तथा कार्यक्रम पुस्तिका अहिलेसम्म सार्वजनिक नगरिनु, साथै बजेट संशोधन कार्यहरू गोप्य ढंगले भइरहेकाले जनगुनासो थपिएको बताए ।
ज्ञापनपत्रमा रामसीता मन्दिर क्षेत्रको सडकको तत्काल मर्मत तथा स्तरोन्नति गर्न, आर्थिक वर्ष २०८२/०८३ को बजेट, नीति तथा कार्यक्रम तत्काल सार्वजनिक गर्न, ताथलीका अन्य सडक सुधारका लागि विनियोजित बजेटको विवरण सार्वजनिकरूपमा प्रष्ट पार्न, सडक डिभिजन कार्यालय तथा सम्बन्धित निकायहरूसँग समन्वय गरेर काम थाल्न अनुरोध गरिएको छ ।
उनले स्थानीयवासीले राखेको मागको सुनुवाइ नभएम जनसहभागितामार्फत आन्दोलनात्मक कार्यक्रम गर्ने समेत जानकारी दिए ।
पार्टीले बुझाएको साे ध्यानाकर्षण पत्र नगर प्रमुख जीवन खत्रीले ग्रहण गरेका थिए । उनले पार्टीका तर्फबाट प्रस्तुत मागप्रती नगरपालिकाकाे ध्यानाकर्षण भएको उल्लेख गर्दै आवश्यक बजेट विनियोजन गर्ने बताए ।
साे क्रममा चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यात, कार्यपालिका सदस्य कमला गिरी, वडासदस्यद्वय विद्यापति थापा र रविन बासुकलालगायतले वडाले विनियोजन गरेकाे सिलिङ बजेट अनुसारको याेजना सम्पन्न गर्न नगरपालिकाले विभिन्न बहाना गरि काम गर्न नदिएको उल्लेख गरे ।
उनीहरूले बजेट विनियोजन भएका याेजना सम्पन्न गर्ने कामका क्रममा आएका समस्या समाधान गर्न नगरपालिकाले समयमै ध्यान नदिएको र नगरपालिकाले आर्थिक वर्षकाे साउन १५ भित्र प्रकाशन गर्नुपर्ने बजेट पुस्तिका सार्वजनिक नगरेकाे विषयबारे समेत ध्यानाकर्षण गराएका थिए ।
ज्ञापनपत्र बुझाउन गएका उक्त टाेलीमा सहभागीमध्ये स्थानीय केशरबहादुर खड्काले शिक्षा र सडक, राजेन्द्र थापाले सम्पदा र पर्यटन, रमेश न्हेम्हाफुकीले उपभोक्ता समितिले ब्यहाेरेका झन्झट, हरिसुन्दर छुकांले नगरपालिकाकाे सुशासन र याेजना कार्यान्वयनकाे स्थिति, बाबुकाजी माकजुलगायतले ताथलीवासीले भाेग्दै आएका विभिन्न समस्याबारे नगरप्रमुखककाे ध्यानाकर्षण गराएका थिए ।
साेही क्रममा पूर्व शिक्षक हरिकृष्ण राउतले नगरपालिकाकाे नगर शिक्षा ऐनमा देखिएको त्रुटि र ताथलीकाे गणेश माविमा गठन भएको विव्यसबारे लिखित रूपमा ज्ञापन पत्र बुझाएका थिए ।
नगर प्रमुख खत्रीले जनताको साथ र सहयोगले नै नगरपालिकाका वडाहरूमा विकास निर्माण कार्य अघि बढाइरहेको उल्लेख गर्दै जनताको माग सम्वाेधनका लागि नगरपालिका लाग्ने जनाए ।
