भक्तपुर । भक्तपुरको कमलविनायक चाेखाविनायकस्थित राेम्वस सेकेण्डरी स्कुलले कक्षा ११ सञ्चालनसँगै अभिमुखीकरण र सांस्कृतिक कार्यक्रम गरेकाे छ ।
आइएसओ प्राप्त गर्न सफल भक्तपुरको राेम्वस +२ स्कूलमा कक्षा ११ भर्ना भएका विद्यार्थीकाे उत्साह र स्वागतका लागि उक्त कार्यक्रम गरिएको हाे । उक्त कार्यक्रममा शिक्षाकर्मी एवम् चाँगुनारायण नगरपालिकाका प्रथम नगर प्रमुख साेम मिश्रले विद्यार्थी अभिमुखीकरण गर्दै राेम्वस स्कुल राेजेकाेमा धन्यवाद दिए ।
उनले विद्यार्थीकाे सफलता मेहनतमा भर पर्ने उल्लेख गर्दै राेम्वस स्कूलकाे शैक्षिक वातावरणले विद्यार्थीकाे सर्वाङ्गीण विकास गर्न भूमिका निर्वाह गर्ने जनाए ।
राजनीतिक विश्लेषक तथा लेखक समेत रहेका मिश्रले विभिन्न देशका सफल व्यक्तिहरूकाे मिहिनेतकाे उदाहरण दिँदै युगले खाेजेकाे शिक्षा हासिल गर्न तत्पर हुन अनुरोध गरे ।
कार्यक्रममा राेम्वस स्कुल( +२) का संस्थापक प्रिन्सिपल डा. राजेन्द्र काेजूले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै विद्यार्थीहरूकाे भविष्य निर्माणका लागि कटिबद्ध भएर शैक्षिक तथा शैक्षणिक क्रियाकलाप गर्ने प्रतिवद्दता जनाए ।
भक्तपुरको शैक्षिक स्तर उकास्नका लागि राेम्वस स्कूलले कक्षा ११ सञ्चालन गरेकाे उल्लेख गर्दै आएका चुनाैतीलाई अवसर बनाउने प्रतिवद्दता जनाए । उनले राेम्वस स्कूलका विद्यार्थीलाई शिक्षासँगै सीप, संस्कार र चरित्र निर्माण गर्न स्कुल प्रतिवद्द भएको जनाउँदै विद्यार्थीकाे बहुआयामिक क्षमता उजागरका लागि राेम्वसले कुनै कसर बाँकी नराख्ने समेत बताए ।
उनले कक्षा ११ सञ्चालनकाे पहिलो वर्षमा ५७ जना विद्यार्थी भर्ना भएको जानकारी दिँदै विद्यालयप्रतिकाे शंका र सन्देहलाई सङ्घर्ष र सफलताले प्रमाणित गर्ने उल्लेख गरे ।
विद्यालयकि संस्थापक सरिता काेजुकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा +२ इन्चार्ज मेनुका आचार्य, सहायक प्रिन्सिपल युनिक काेजू, शिक्षक जनकराज कार्की तथा पूर्व विद्यार्थी डा. मेरिट काेजु तथा कक्षा ११ मा अध्ययन गर्न आएका विद्यार्थीले धारणा राखेका थिए । कार्यक्रममा विद्यालयकाे कक्षा ८,९, १० र ११ का विद्यार्थीले गीत तथा नृत्य प्रस्तुति गरेका थिए ।
