भक्तपुर । ताथलीको दक्षिणकाली युवा समूहले एसईई परीक्षा उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा सेयर बजार अभिमुखीकरण तालिम सञ्चालन गरेको छ ।

चाँगुनारायण नगरपालिका वडा नं. ९ अन्तर्गतका विभिन्न विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीहरूको हौसलाका लागि समूहले सम्मान कार्यक्रम गरेको हो । ‘ग्रेड वा अंक होइन, संघर्ष र अडानको सम्मान” भन्ने मूल मन्त्र अनुरूप गरिएको सम्मान कार्यक्रममा नबिल बैंकका कार्यकारी अधिकृत मनोज ज्ञवालीले शिक्षा र नेतृत्वबारे युवाहरुलाई प्रेरणादायी सन्देश दिएका थिए । ‘शिक्षा मात्र लक्ष्य होइन, जीवनको आधारशिला हो। प्रत्येक युवा विद्यार्थीले आफ्नो क्षमतामा विश्वास राख्नुपर्छ र निरन्तर प्रयास गर्नु आवश्यक छ । योजना बनाउनुका साथै स्पष्ट दृष्टिकोणले जीवनका चुनौतीहरूलाई जित्न सकिन्छ । हामीले मात्र शिक्षामा होइन, चरित्र, अनुशासन र समाजसेवा पनि सिक्नुपर्छ। यही कुरा नै सफल नेतृत्वको मूल आधार हो ।’

युवाहरूका लागि सञ्चालन गरिएको सेयर बजार अभिमुखीकरण तालिममा ९० भन्दा बढी युवा सहभागी भए । महिला लगानीकर्ता तथा प्रशिक्षक ग्रेस रौनियारले सहजीकरण गरेको अभिमुखीकरणमा उनले भनिन्, ‘सेयर बजार केवल मुनाफाको माध्यम होइन, आर्थिक रूपान्तरण र सामाजिक परिवर्तनको शक्तिशाली यन्त्र हो । युवाले लगानी गर्दा दीर्घकालीन सोच राख्नु आवश्यक छ । यसले न केवल व्यक्तिगत जीवन सुदृढ गर्छ, तर समुदाय र राष्ट्रको समृद्धिमा पनि योगदान पु¥याउँछ । वित्तीय साक्षरता र जिम्मेवार लगानी नै आत्मनिर्भर राष्ट्रको आधार हो ।’
दक्षिणकाली युवा समूहका अध्यक्ष सुरेशराज गिरीले परीक्षा उत्तीर्ण विद्यार्थीहरूलाई आगामी दिनमा आफ्नो पढाइमा गहिरो लगाव राख्न आग्रह गर्दै युवाहरूलाई लगानीमा सोचविचारसहित जोखिम व्यवस्थापन गर्न सुझाव दिए ।
कार्यक्रममा समूहका घनश्याम खड्का, व्यवस्थापन संयोजक नवीन बस्नेतलगायतले कार्यक्रमको उद्देश्यबारे प्रष्ट्याएका थिए । समूहले आगामी दिनहरूमा पनि युवाहरूमा वित्तीय ज्ञान, नेतृत्व क्षमता, र सामाजिक चेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरू निरन्तर गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

