भक्तपुर । पछिल्लो समय जन्मदिन भड्किलो बन्न थालेको छ । देखावटी र बनावटी जन्मदिन मनाउने गलत प्रवृत्तिले जन्मदिनकै गरिमामाथि प्रश्न उठेको छ भने रमाइलोको बहानामा फजुल खर्च गर्ने कुरिति पनि बढ्न थालेको छ ।
यस्तो परिपाटीका बीच ५२ वर्षमा टेकेका रविन्स लामाले भने फरक तरिकाले आफ्नो जन्मदिन मनाएका छन् । उनले आफ्नो जन्मदिनको अवसरमा क्यान्सर पीडितहरुलाई भोजनको बन्दोबस्त गरेका छन् । भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका विभिन्न किसिमका क्यान्सर बिरामीलाई खाना खुवाएर लामाले जन्मदिन मनाएका हुन् ।
जन्मदिनको नाममा हुने फजुल खर्च भन्दा गरिब, असहाय तथा बिरामीलाई सानो भए पनि रकमबाट सहयोग गर्नु उपयुक्त ठानेर उनले जन्मदिन मनाएको जनाए । उनले आफू जन्मिएको महत्वपूर्ण दिनलाई अन्य दिनभन्दा थप महत्वपूर्ण बनाउनका लागि उनले सो तवरले जन्मदिन मनाएको बताए । उनले जन्मदिनलाई रचनात्मक र सेवामुखी बनाउनु पर्ने धारणाका साथ शुक्रवार भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराई रहेका बिरामीहरूलाई खाना वितरण गरेको बताए ।
क्यान्सर अस्पतालमा उपचाररत बिरामीहरूलाई पोषणको अभाव हुने भएका कारण उनीहरूलाई पोषणका लागि पनि बिरामीले खान मिल्ने डक्टरहरूको सल्लाहअनुसारका खाना लामाले बिरामीलाई वितरण गरेका हुन् ।
भक्तपुर क्यान्सर अस्पतालका डाइरेक्टर उज्ज्वल चालिसेले सबै बिरामीको आफ्नो राम्रो आर्थिक हैसियत नभएको र क्यान्सर पीडितलाई पोषणयुक्त खाना जरुरी रहेको उल्लेख गर्दै मानवीय कर्म गर्ने व्यक्तिहरुका कारण क्यान्सर पीडितलाई राहत मिलेको बताए । पछिल्ला दिनहरूमा जन्मदिनलाई मानव सेवा आश्रम, गरिब असहाय र बिरामीहरूलाई सहयोग गर्ने कार्यले नेपालीहरूमा भाइचाराको भावना प्रगाढ हुँदै गएको उनको भनाइ छ । लामाले अस्पतालमा उपचार गराउँदै आएका २ सय बिरामीहरूलाई खानाको व्यवस्था गरेका थिए ।
