भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) एसईईमा सहभागी भई ४ जिपिए हासिल गरेका विद्यार्थीमध्ये एक हुन्, प्रिन्स तामाङ ।
मूल घर काभ्रेको तिमाल भई हाल भक्तपुरको सूर्यविनायकस्थित पाण्डुबजारका उनले भक्तपुरको गपलीस्थित सेकरिड् हाट् एकेडेमीबाट एसईई दिएका हुन् । परीक्षामा ४ जीपीएसहिततको नतिजाका साथ उत्तीर्ण तामाङले आफू कम्प्युटर इन्जिनियर बन्न चाहेको बताए ।
बुवा बहादुर र आमा निमाले दुःखजिलो गरी पढाएका प्रिन्स कक्षा नर्सरीदेखि उक्त स्कुलमा पढेका थिए । सामान्य लेखपढ गरेका आमाबुवाले सन्तानको भविष्यलाई ख्याल गरी, आफूले खाई, नखाई गरी पढाएका तामाङले परीक्षामा उक्त नतिजा ल्याउँदा खुसी छन् । उनीहरुले भने, ‘हामीले पढ्न पाएनौं, छोरालाई हामीले थाङ्का बेचेर भए पनि पढायौं ।’
उनीहरुले छोरा कम्प्युटर इन्जिनियर बन्ने सपनाका साथ लागिरहेको बताए ।
सो विद्यालयबाट २०८१ मा ३२ जनाले एसईईमा सहभागिता जनाएका थिए । विद्यालयको नतिजा शतप्रतिशत रहेको छ ।
