भक्तपुर । नेपालकै सबैभन्दा अग्लो प्यागोडा शैलीको भक्तपुर टौमढीस्थित न्यातापोल मन्दिर निमार्ण भएको ३२३ वर्ष पूरा भएको छ।
मल्ल राजा भूपतीन्द्र मल्लले नेपाल संवत् ८२२ असार शुक्ल प्रतिपदाको दिन निर्माण पूरा भएको अभिलेख छ। अभिलेखमा मन्दिर निर्माण पूरा भएको असार शुक्ल प्रतिपदाका दिन पहिलो वर्षबन्धन पूजा गरिएको उल्लेख छ । त्यसैले प्रत्येक वर्ष असार शुक्ल प्रतिपदा आज न्यातापोलको विशेष वर्षबन्धन पूजा गर्ने गरिन्छ।
मन्दिरको सरसफाइ र मर्मत गर्ने उद्देश्यले राजा भूपतीन्द्र मल्लले वर्षमा एक पटक वर्ष बन्धन पूजाको परम्परा चलाएकाे देखिन्छ । मन्दिरमा सिद्धीलक्ष्मी, भैरव र बेतालको पूजा गरिन्छ। यस्तै, आजको दिन अवाल समुदायले मन्दिरमाथिको छानाको सरसफाइ गरेर न्यातपोल मन्दिरको जन्मदिन मनाउने गरेको छ ।
मन्दिरलाई देवीमा तान्त्रिक शक्तिको स्वरूपमा पनि लिने कारण मन्दिरभित्र तान्त्रिक विद्या भएका व्यक्ति मात्र प्रवेश गर्न सक्ने मान्यता छ। मल्ल राजाको पालामा मन्दिर निर्माणका लागि छालिङ, जितपुर, वागेश्वरी, सक्व, झौख्य, चाँगु, गोकर्ण, पन्तीका स्थानीयले सहयोग गरेका थिए। त्यो समयमा मन्दिर निर्माणको भोजमा ३० हजार मानिसको उपस्थिति थियो। जुन भक्तपुरका बासिन्दा भन्दा चार दोब्बर रहेको मानिन्छ।
कयौं समयकाे विनाशकारी भूकम्पकाे समयमा समेत अविचलित साे मन्दिरको इन्जिनियरिङलाई समेत अद्भुत मानिन्छ ।
