नि: शुल्क स्वास्थ्य शिविर
११३ जना लाभान्वित
आगामी दिनमा पनि निरन्तरता दिने
डा. इवामुरा अस्पतालको प्राविधिक सहयोग
भक्तपुर । भक्तपुरको कमलिवनायकस्थित पारागन एकेडेमी(ईंग्लिश सेकेण्डरी स्कुल) ले नि: शुल्क स्वास्थ्य शिविर गरेकाे छ ।
स्कूलमा अध्ययनरत विद्यार्थीका अभिभावकहरूलाई लक्षित गरी उक्त शिविर आयाेजना गरिएकाे हाे । स्कूलका प्रिन्सिपल पुण्यराम कवांले शिविरमा स्त्रीरोग, हाडजोर्नी र सामान्य चेकजाँच सेवा उपलब्ध गराइएको जानकारी दिए ।
स्कूल प्राङ्गणमा आयाेजित शिविरमा सहभागी भई ११३ जना अभिभावकहरू लाभान्वित भएका विद्यालयले जनाएको छ । शिविरमा स्कूलमा कार्यरत शिक्षकहरूले पनि स्वास्थ्य परीक्षण गराएका थिए । शिविरका लागि डा. इवामुरा अस्पतालले प्राविधिक सहयोग गरेको थियाे ।
शिविरमा अस्पतालका ४ जना विशेषज्ञ डाक्टर र ४ नर्सले सेवा प्रदान गरेका थिए । शिविर सञ्चालनमा सहयाेग गर्ने अस्पतालका प्राविधिकहरूलाई स्कूलका प्रिन्सिपल कवांले मायाकाे चिनाे प्रदान गरेका थिए । उनले स्कुलले शिक्षाका साथै स्वास्थ्यलाई पनि प्राथमिकता दिइरहेको उल्लेख गर्दै आगामी दिनमा पनि स्वास्थ्य शिविरलाई निरन्तरता दिने जानकारी दिए ।
