भक्तपुर । विश्व धूम्रपान रहित दिवसको अवसरमा ताथलीमा नाटक र र्याली आयाेजना गरिएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीकाे एसएस सदन सेकेण्डरी स्कूलले सचेतना र्याली र नाटक आयाेजना गरेकाे हाे ।
विश्व धूम्रपानरहित दिवस हरेक वर्ष मे ३१ मा मनाइन्छ। साेही अन्तरगत धूमपानविरूद्द जनचेतना अभिवृद्धि गर्न विद्यालयले उक्त कार्यक्रम आयाेजना गरेकाे विद्यालयले जनाएकाे छ । विभिन्न जनचेतनामूलक नारा र प्लेकार्डसहित भएको र्यालीले ताथलीकाे ढुङ्गेन, नालाछाप, थापा टाेल, पुजारी पाटी, चापा टाेल, दशैंघर, खर्क पँधेरा, खर्क पुलसम्म परिक्रमा गरेको थियाे ।
र्यालीपछि स्कूलका विद्यार्थीहरूले ताथली पुल परिसरमा जनचेतनामूलक नाटक प्रदर्शनी गरेका थिए । विद्यार्थीहरू भागवत राउत, रूजना श्रेष्ठ, युनिका बस्नेत, कृपा श्रेष्ठ, साहिना थापा लगायतले धूमपानले पार्ने चाैतर्फी असर र त्यसबाट बच्ने उपायबारे धारणा राखेका थिए ।

र्यालीमा विद्यार्थीहरूले `धूम्रपानमा नदिउँ ध्यान : यसले लिन्छ सबकाे ज्यान, धूम्रपान चाहिँदैन : बच्चालाई बेच्न पाइँदैन, सुनाैं आमा बुवाले : राम्रो हुन्न धुँवाले, हामी सबैकाे हाईहाई: धूम्रपान बाई बाई, चुराेट हैन राम्रो : ज्यान लिन्छ हाम्रो, त्यागाैं चुराेट सूर्ति : बढाउँ ज्यानमा फूर्ति, दाजु दिदी बैनी: छाडाैं सूर्ति खैनी, धूम्रपान त्यागाैं : स्वस्थ जीवन बाँचाैं´ जस्ता जनचेतनामूलक नाराहरू लगाएका थिए ।
विद्यालयका सञ्चालक समिति अध्यक्ष प्रदिप थापाले धूमपानले पार्ने असरबारे विद्यार्थी समयदेखि सचेत गर्न र विद्यालयकाे सामाजिक उत्तरदायित्वअन्तरगत उक्त कार्यक्रम गरिएको बताए ।

उनले धूमपान नियन्त्रण र न्यूनीकरण गर्न समाजका हरेक पक्ष लाग्न जरुरी रहेको उल्लेख गर्दै आगामी दिनमा पनि जनचेतनामूलक कार्यलाई निरन्तरता दिइने बताए ।
