शुक्रबार, जेष्ठ १०, २०८२

24.1 C
Bhaktapur
शुक्रबार, जेष्ठ १०, २०८२
24.1 C
Bhaktapur
HomeNews Contentभक्तपुर टाइम्स विशेषजुजु धौलाई सञ्चो छैन

जुजु धौलाई सञ्चो छैन

हरिसुन्दर छुकां
जुजु धौ अर्थात् दहीहरूमा सर्वोत्कृष्ट दही । जसले जुजु धौ खान पाएको छ, त्यो व्यक्तिको ओठमा झुण्डिएको छ, जुजु धौको मिठास । जुजु धौ खान पाए, मान्छे पल्किन्छ । पल्की पनि रहेका छन् । जुजु धौ भन्ने बितिक्कै दहीमात्र सम्झनामा आउँदैन । सँगै भक्तपुर पनि जोडिन्छ । भक्तपुर अर्थात् जुजु धौले प्रसिद्ध, जुजुधौ अर्था् भक्तपुरमा पाइने अमृत । भक्तपुरेहरूसँग जुजु धौ बनाउने विशिष्ट कला र सीप छ । यही कला र सीपको करामत मान्नुपर्छ –जुजु धौलाई ।

जुजु धौ, दही मात्र पक्कै होइन, विज्ञानको अभ्यास हो । जुजु धौ भक्तपुरका जनतासँग, जनताको दैनिकीसँग, पेशा व्यवसायसँग प्रत्यक्ष जोडिएको छ । जुजु धौ किसानहरूको एउटा महत्वपूर्ण उपज वा उपहार हो । जुजु धौले साँचिक्कै जादु गरिरहेको छ । जुजु धौको स्वादमा रमाउनेहरू यततत्र देखिन्छन् । अझै विदेशी पर्यटकहरू त जुजु धौप्रति मोहित नै छन् । जुजु धौको महिमा धार्मिक, सांस्कृतिक हिसाबले मात्र उच्च भएको होइन, यसको खपत र यसले स्वास्थ्यमा पुग्ने सकारात्मक प्रभावका कारण पनि उच्च बनेको हो । जुजु धौले धेरैलाई जोडेको छ । यसले आर्थिक चक्रलाई जोड्न सहयोग गरेको छ । यसले उद्योगीलाई, व्यापारीलाई, किसानलाई, प्रजापति समुदायलाई जोडेको छ । जुजु धौको विशिष्टता र मौलिकता दहीजस्तै दरिलो छ । यति महत्वपूर्ण दही । अर्थात् पञ्च तत्वभित्रको एउटा महत्वपूर्ण तत्व । सर्वत्र ख्याति कमाएको जुजु धौको व्यापारले धेरैको जीवन समृद्ध बनेको छ । यसको सदा–बहार आवश्यकता, बजारसँग प्रत्यक्ष जोडिएको व्यापार र व्यवसाय भएकाले यसप्रति पुरानो पुस्ताको मात्र नभइकन नयाँ पुस्ताको आकर्षण पनि उत्तिकै छ । दही, खाने र खुवाउनेबीचको सम्बन्ध प्रगाढ बनाउने माध्यम हो । यति महत्वपूर्ण धौमा पछिल्लो समय पूर्णतः व्यापार छिरेको छ । अतः व्यापारीहरुले जुजु धौको गुणस्तरमा भन्दा बढी आफ्नो नाफालाई हेरेका छन् । यसको ज्वलन्त एक घटनाको रुपमा दहीमा भएको मिसावटको घटना हो । यो घटना अहिले सर्वत्र व्यापक बनेको छ ।

घटनासँगै धौको गुणस्तरमाधि प्रश्नचिह्न खडा भएको छ । भक्तपुरका जुजु धौ व्यवसायीहरुको प्रतिष्ठा र सीपमाथि शङ्का गरिन थालेको छ । व्यवसायीहरुले आफ्नो व्यावसायिक धर्म र कर्तव्य निर्वाह गर्नुको सट्टा पूर्णतः नाफामुखी व्यवहारको परिणाम जुजु धौ आज बद्नाम भएको छ । जुजु धौमा न्याप्किन पेपर मिसाइएको घटना बाहिर आउँदा भक्तपुरको एउटा परिचयको साख गिरेको छ । यसैले, जुजुधौलाई अहिले सञ्चो छैन । एक सचेत उपभोक्ताले दहीमा देखेको मिसावटको जानकारी दिने र सचेत गराउने काम गरे । त्यो काम गर्नु कम चुनौतिको विषय थिएन । त्यो चुनौतिलाई स्वीकार गर्दै उनले आम उपभोक्ताको हितका लागि गरेको प्रयासपछि दहीमा त्यसखाले कैफियत देखिएको विषयले प्रवेश पायो । यसैले व्यवसायीहरूले बुझ्न जरूरी छ ः अब हिजोका उपभोक्ता रहेनन्, अहिलेका उपभोक्ता सचेत भइसकेका छन् । उपभोक्ताको उपभोगको चेतना र जीवनशैली बदलिएको छ ।

जुजु धौको ख्याति कायम गर्ने प्रमुख जिम्मेवारी व्यवसायीहरूको हो । हुन त अहिले व्यवसायीहरुलाई पनि आफ्नै खाले दुःख र चुनौति नभएको होइन । दहीका लागि आवश्यक दूधको निरन्तर अभाव भइरहेको छ । भक्तपुरमा दूध उत्पादक किसान अन्य पेशाप्रति आकर्षित भइरहेका छन् । दहीमा आत्मनिर्भर भक्तपुर दूधमा परनिर्भर भइरहेको छ । यसले गर्दा पनि दहीको गुणस्तरमा प्रश्न उठ्ने गरेको छ । खाद्य वस्तुमा हेलचक्रयाई कुनै पनि व्यवसायीले गर्नु हुन्न । खाद्य वस्तुमा गरिएको लापरवाहीले स्वास्थ्यमा अपुरणीय क्षति पुग्न सक्छ । यो निक्कै संवेदनशील क्षेत्र भएकाले यस विषयमा व्यवसायीहरुको ध्यान जानु पर्छ । साथै, व्यवसायीहरुलाई उपभोक्ता हितका विषयमा सम्वन्धित निकायले समय–समयमा अभिमुखीकरण गर्ने, तालिम दिने प्रबन्ध गर्न जरूरी छ । सम्बन्धित निकायले विषय वा प्रसङ्ग उठेपछि मात्र जीउमा तातो छिराउने प्रवृत्ति त्याग गर्नुपर्छ । सम्बन्धित निकायले कार्यतालिका बनाएर अनुगमन, निरीक्षण, खबरदारी तथा कारबाही गर्ने पर्छ । खाद्य वस्तुमा गुणस्तर कायम गर्न सबै पक्षको भूमिका रहने हुनाले त्यसतर्फ इमान्दार बन्न आवश्यक छ ।

चाँगुपत्र साप्ताहिकको सम्पादकीय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको