भक्तपुर । भक्तपुरको गुण्डुस्थित काठमाडौं वल्र्ड स्कुलले कक्षा १२ को प्रश्नपत्र आउट गरेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय परीक्षा बोर्ड छानविन सुरु गरेको छ ।
काठमाडौं वर्ल्ड स्कुलको परीक्षा केन्द्र चाणक्य कलेजमा पुगेर जिल्ला प्रशासन कार्यालय र एनइबीले छानविन सुरु गरेको हो । परीक्षा सुरु हुनु अघि नै विद्यार्थीको हातमा प्रश्नपत्र पुगेको सूचना पाएपछि सीडीओ गोपालप्रसाद अर्यालसहितको टोलीले अनुगमन गरेको थियो ।
अनुगमन टोलीले प्रहरी र एनइबीको आइटी टोलीलाई राखेर छानविन समिति बनाएको छ । उक्त समितिले अनुसन्धान गरिरहेको सीडीओ अर्यालले बताए ।
उनले भने,‘ परीक्षा सुरु हुनु अगावै कक्षा १२ को प्रश्न पत्र आउट भएको सूचना आएपछि हामी अनुगमनमा गएका थियौं । प्रहरी र एनईबीको आइटीको अनुसन्धान टोलीले छानविन गरिरहेको छ । ’ उनका अनुसार उक्त कलेजको परीक्षार्थीको मोवाइल जफत गरेर अनुसन्धान गरिरहेको छ । परीक्षा सकिएपनि काठमाडौं वल्र्ड स्कुलका परीक्षार्थीलाई भने बाहिर निस्कन दिइएको छैन । उनीहरुको मोवाइल चेक भइरहेको छ ।
शिक्षा पत्रकार मकर श्रेष्ठले आइतवार विहानै कक्षा १२ को परीक्षा सुरु हुनुपूर्व नै काठमाडौं वल्र्ड स्कूलका विद्यार्थीलाई प्रश्नपत्र आउट भएको सूचना फेसबुकबाट सार्वजनिक गरेका थिए । एक छात्राले आफ्नो मोबाइलमा प्रश्नपत्र आएको भन्दै खुसी व्यक्त गरेपछि यो विषय लिक भएको थियो ।
अघिल्लो वर्ष पनि काठमाडौं वल्र्ड स्कूलका विद्यार्थीलाई प्रश्नपत्र लिक भएको तर परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले हावा कुरा भनेर पन्छिएको पत्रकार रमेश गिरीले बताए । तर यसपटक भने जिल्ला प्रशासन कार्यालयले नै अग्रसरता लिएर प्राविधिक टोलीसहित अनुसन्धान थालेको हो ।