भक्तपुर । जिल्ला प्रशासन कार्यालयको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सह–आयोजनामा शुक्रबार सार्वजनिक सुनुवाइ गरिएको छ ।
चाँगुनारायण नगरपालिका वडा नं.७ स्थित तपा दम्फोको सभाहलमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी एकीकृत सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको अध्यक्षता तथा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सरोकारवाला अर्थात् आम जनता, नगरवासीको उपस्थिति निकै कम थियो । कार्यक्रममा सरकारी तथा नगरपालिकाका कर्मचारीहरुको संख्या उल्लेख्य रहेको थियो ।
कार्यक्रममा जिल्ला सुरक्षा निकायका प्रमुखहरु, चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, भूमि सुधार तथा मालपोत कार्यालय, नापी कार्यालय, सडक डिभिजन, यातायात व्यवस्था सवारी चालक अनुमति पत्र, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनस्वास्थ्य कार्यालय, नेपाल टेलिकम, विद्युत प्राधिकरण, काठमाडौ उपत्यका खानेपानी लिमिटेडका कार्यालय प्रमुखहरु, वडा अध्यक्ष तथा वडा सदस्यहरु, पत्रकार महासंघ, गैरसरकारी महासंघ र सीमित सर्वसाधरणको उपस्थिति रहेको थियो ।
त्यसलाई औपचारिकता निर्वाह गर्नका लागि मात्र गरिएको कार्यक्रमको रुपमा सहभागीहरुले नै बताएका थिए । कार्यक्रममा सार्वजनिक सरोकारका विषयमा प्रश्न गर्नेहरुको समेत खडेरी परेको थियो । त्यो अवस्था आएपछि सहभागी पत्रकारहरुले कार्यक्रमको मान राखिदिएका थिए ।
विस्तृत खबर चाँगुपत्र साप्ताहिकमा…