भक्तपुर । भक्तपुरको ताथलीमा रहेको ऐतिहासिक बिडोल पाटीले पूनर्जीवन पाएको छ ।
चाँगुनारायण नगरपालिका वडा नं.९ ताथली र सुडालको बिडोल फाँटमा रहेको उक्त पाटीले पूनर्जीवन पाएको हो । भक्तपुरको खोंह्र गुठी अन्तरगत रहेको उक्त पाटीले पूनर्जीवन पाएसँगै चिटिक्क भएको छ । पाटी पूनर्निर्माणका लागि खोंह्र गुठीले अग्रसरता लिएको थियो ।
करिब ३३१ वर्षअघि स्थापित खोंह्र गुठीले हरेक वर्षको वैशाख पञ्चमीका दिन बुसाराँ गरिरहेको सो पाटी वि.सं.२०७२ साल वैशाख १२ गतेको भूकम्पका कारण क्षति भएको थियो । यसभन्दा अघि उक्त पाटी जीर्ण अवस्थामा रहेको थियो । भूकम्पले पूर्ण रुपमा क्षति पुगेपछि अस्तित्वविहीन हुन पुगेको उक्त पाटीको पूनर्निर्माणको काम खोंह्र गुठीले २०८० चैत ३० गतेबाट सुरु गरेको थियो ।
सो समयदेखि सुरु भएको पाटी पूनर्निर्माणको काम २०८१ चैत १८ गते सम्पन्न भएको थियो । सम्पन्न पाटीको उद्घाटन शनिबार(बैशाख १३ गते) गरिएको छ । पाटीको उद्घाटन चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यातले गरेका थिए ।
सो क्रममा उनले बिडोल पाटी ऐतिहासिक पाटी भएकाले त्यसको पूनर्निर्माणका लागि वडाले प्राथमिकता दिएको बताए । उनले ताथलीका विभिन्न ठाउँमा ऐतिहासिक, पुरातात्विक महत्वका सम्पदाहरु रहेकाले त्यसको संरक्षण, संवद्र्धनका लागि वडा कार्यालय लागिरहेको बताए । उनले कला, संस्कृति मानव जीवनको अमूल्य निधि भएकाले ती निधिको संरक्षण गर्नुपर्नेमा समेत जोड दिए ।
उनले खोंह्र गुठी र उपभोक्ता समितिका पदाधिकारीहरुले उदाहरणीय काम गरेकोमा धन्यवाद व्यक्त गर्दै पाटी पूननिर्माणमा १० हजार रुपैयाँभन्दा बढी आर्थिक र भौतिक सहयोग गरेका १४ जना व्यक्ति तथा संस्थालाई सम्मान समेत गरेका थिए । कार्यक्रममा चाँगुनारायण नगरपालिका कार्यपालिका सदस्य कमला गिरीले पाटीले पूनर्जीवन पाएसँगै इतिहास र संस्कृति जगेर्नाका लागि सहयोग पुगेको चर्चा गर्दै नृेवारी मौलिक शैली र संस्कारको प्रशंसा गरेकी थिइन् ।

कार्यक्रममा पाटी पूननिर्माण उपभोक्ता समितिका सचिव कृष्णबहादर प्रजापति, सदस्य रामेश्वर प्रजापति, पूननिर्माण समिति संयोजक कृष्णगोविन्द प्रजापति, सदस्य सिद्धान्त प्रजापतिलगायतले पाटी पूनर्निर्माणको अनुभव सुनाएका थिए ।
सो पाटी १४ लाख ३५ हजार रुपैयाँमा निर्माण भएको उपभोक्ता समितिले जनाएको छ । त्यसका लागि चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली, गुठीयार, संघसंस्थालगायतले आर्थिक सहयोग गरेका थिए ।
सो पाटीमा एउटा शिलालेख पनि रहेको छ । शिलालेखमा नेपाल संवत् ९७(?) ५(?) ० उल्लेख गरिएको छ । यसहिसाबले उक्त पाटी ऐतिहासिक महत्वको भन्ने प्रमाणित भएको छ । सो पाटीमा रहेको शिलालेखमा उल्लिखित संवत् र विवरणबारे थप अध्ययन जारी रहेको छ ।