भक्तपुर, १० वैशाख । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा नेपाल मजदुर किसान पार्टीको सम्पर्क कार्यालय उद्घाटन भएको छ । ताथलीकाे गचा( साैडाेल) मा पार्टी सम्पर्क कार्यालय उद्घाटन गरिएको हाे ।
साे कार्यालयकाे उद्घाटन नेमकिपा ताथलीका संस्थापक कृष्णराम बासुकलाले गरेका हुन् । साे क्रममा उनले पार्टीसँग सम्बन्धित विभिन्न क्रियाकलापलाई जीवन्त बनाउन र विविध सामाजिक तथा राजनीतिक गतिविधि गर्न सहजताका लागि पार्टी सम्पर्क कार्यालयले सहयोग पुग्ने बताए ।
ताथलीमा पार्टी स्थापनाकाे पृष्ठभूमि स्मरण गर्दै उनले पार्टी निर्देशनलाई सबै पार्टी कार्यकर्ताले पालना गर्नुपर्नेमा जाेड दिए । उनले पार्टीले अँगालेकाे विचार र सिद्धान्तलाई व्यापक जनतामाझ पुर्याउनका लागि पार्टी कार्यकर्ताले नि: स्वार्थपूर्वक काम गरी पार्टीको विचार फैलाउन याेगदान दिन अनुरोध गरे ।

सम्पर्क कार्यालयकाे साइनबोर्डकाे वाक्यांश वाचन गरी उद्घाटन गरिएको कार्यक्रममा उनले पार्टीलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका स्व. जयराम बासुकलाकाे याेगदान, कार्यशैली सम्झँदै जनप्रतिनिधि सचेत भएर जनताको सेवामा लाग्नुपर्नेमा जाेड दिए ।
कार्यक्रममा ताथलीमा पार्टी स्थापनाका लागि याेगदान दिएका हेलबहादुर छुकांले पार्टीले गरेका विभिन्न सङ्घर्षकाे स्मरण गरे । उनले पार्टीकाे मार्गदर्शनअनुसार काम गर्नेहरू इमानदार र समाजका उदाहरणीय व्यक्तित्व हुने बताए । कार्यक्रममा नेमकिपा चाँगुनारायण नपा ९ ताथलीका अध्यक्ष राजाराम छुकांले पार्टी कार्यकर्ताकाे आचरण र व्यवहार समाजमैत्री हुनुपर्ने उल्लेख गर्दै पार्टी प्रकाशन अध्ययनलाई जीवनशैली बनाउन अनुराेध गरे । कार्यक्रममा हरिसुन्दर छुकांले पार्टी सम्पर्क कार्यालय स्थापनाकाे उद्देश्यबारे चर्चा गरेका थिए ।