भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा माटो उत्खनन् र ओसारपसार व्यापक बनेको छ । नगरपालिकाले नगरपालिकाका विभिन्न वडाहरुमा भइरहेको माटो उत्खनन् कार्यलाई नियमन र नियन्त्रण गर्न सकेको छैन । वडावासीहरुले वडाका विभिन्न ठाउँहरुमा भइरहेको माटो तथा बालुवा उत्खनन् कार्य सेटिङमै भइरहेको आरोप र गुनासो गरिरहेका छन् ।
वडावासीहरुले नगरपालिकाले अनुमगनलाई चुस्त र दुरुस्त नबनाएको समेत आरोप लगाएका छन् । उनीहरुले माटो, बालुवा उत्खननमा जनप्रतिनिधिहरुकै संलग्नता रहेको आरोप लगाउँदै उनीहरुकै संरक्षणमा अवैध तरिकाले उत्खनन् भइरहेको गुनासो गरिरहेका बेला आइतबार एक व्यक्तिले सामाजिक सञ्जालमा चाँगुनारायण नगरपालिका वडा नं. १ सरस्वती खेलमा भइरहेको माटो उत्खननको भिडियो पोष्ट गरेका छन् ।
पोष्टमा उनले त्यस किसिमले माटो उत्खनन् हुनुमा मुख्य कारक नगर प्रमुख जीवन खत्री, नगर उपप्रमुख रमेश बुढाथोकी र सोही वडाका वडा अध्यक्ष सिजन कार्कीको नाम समेत जोडेका छन् ।
सो भिडियो सार्वजनिक भएपछि नगर उपप्रमुख बुढाथोकी नगर प्रहरीसहित सो स्थानमा पुगेका छन् ।
सो स्थानमा पुगेर त्यहाँ रहेको डोजर नियन्त्रणमा लिई उक्त ठाउँमा नगरपालिकाले सिल गरेको उपप्रमुख बुढाथोकीले बताए । उनको उक्त अनुगमनको भिडियो पोष्ट भएसँगै विभिन्न खाले टिकाटिप्पणी र प्रतिक्रिया दिँदै नगर उपप्रमुखको उक्त कामलाई स्टन्ट र नाटक भएको टिप्पणी गरेका छन् ।
नगर उपप्रमुखले उक्त प्रतिक्रियालाई सामान्य रुपमा लिएको बताएका छन् । यसअघि नगर उपप्रमुखले ताथलीका विभिन्न ठाउँहरुमा माटो ओसारपसारका सम्बन्धमा अनुगमन गरेका थिए । सो क्रममा पनि विभिन्न प्रतिक्रियाहरुको नगर उपप्रमुख बुढाथोकीले सामना गरेका थिए ।
यस्तो छ भिडियो र प्रतिक्रियाहरु