भक्तपुर । अहिले देशभर भर्ना अभियान चलिरहेको छ । यो बेलामा सरकारी शिक्षकहरुमाथि आरोप छ : ‘आफ्ना सन्तान निजीमा पठाउने, आफू सरकारीमा पढाउने ।’
यही आरोप लागिरहेको बेलामा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ खरिपाटीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुले भने आफ्ना सन्तानलाई पनि आफूले काम गरी आएको विद्यालयमै भर्ना गरी पढाउने प्रतिवद्धता जनाएका छन् । उनीहरुले विद्यार्थी भर्ना अभियान अन्तर्गत घरदैलो गरी अभिभावकसामु उक्त प्रतिवद्धता जाहेर गर्दै अभिभावकलाई श्रीकृष्ण माविका भर्ना गर्न अनुरोध गरेका हुन् ।
घरदैलोको क्रममा विद्यालयले तयार गरेको शैक्षिक सत्र २०८२ को शैक्षिक उन्नयनका लागि शिक्षकहरुबाट गरिएका प्रतिवद्धता पत्र अभिभावकको हातमा थमाउँदै शिक्षकहरुले उक्त प्रतिवद्धता जाहेर गरेको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक श्याम श्रेष्ठले विद्यालयको शैक्षिक उन्नयनका लागि शिक्षकहरुले १५ वुँदे प्रतिवद्धता गरेका छन् ।
सो प्रतिवद्धताको एउटा वुंदामा ‘शिक्षक तथा कर्मचारीहरुको छोराछोरीहरु पनि आफूले काम गरी आएको विद्यालयमै भर्ना गरी पढाउने छौं’ भन्ने रहेको छ । सोही प्रतिवद्धता पत्र, विद्यालयले तयार गरेको ब्रोसर बोकेर श्रीकृष्ण माविका शिक्षकहरु घरदैलोमा व्यस्त रहेका छन् ।
विद्यालयमा हाल २६ शिक्षकहरु कार्यरत छन् । उनीहरुले विद्यालयमा अध्ययनतर बालबालिकाको उज्ज्वल भविष्यका लागि प्रत्येक दिनको लागि प्रत्येक विषयको गृहकार्य उपलब्ध गराउने, उपलब्ध गराएको गृहकार्य चेकजाँच गरी आवश्यक पृष्ठपोषण गर्ने, शिक्षण सिकाई, कक्षाकार्य र गृहकार्यको अभ्यासबाट आफ्नो विषयमा निपुण गराउन विषयगत रुपमा जिम्मेवार हुने तथा त्रैमासिक परीक्षा अतिरिक्त मिड टर्म परीक्षा सञ्चालन गर्ने, परीक्षाफल उत्तरपुस्तिका समेत राखी अभिभावकको उपस्थितिमा वितरण गर्ने पनि प्रतिवद्धता जनाएका छन् ।
यसका साथै शिक्षकहरुले भर्ना भएका विद्यार्थीहरुको गुणस्तर अभिवृद्धिका लागि शिक्षक र अभिभावकको बीचमा अन्तरक्रियात्मक छलफल, फोनकल, म्यासेन्जर लगायतका सामाजिक सञ्जालको प्रयोगबाट गर्ने, प्रत्येक विद्यार्थीमा भएको फरक फरक प्रतिभालाई पहिचान गरी उक्त प्रतिभालाई समैसामु प्रदर्शन गर्ने अवसर सिर्जना गर्ने समेत प्रतिवद्धता गरेका विद्यालयका प्रधानाध्यापक श्रेष्ठले जानकारी दिए ।

उनले विद्यालयको समग्र विकासका लागि समुदाय, अभिभावक, स्थानीय सरकार तथा अन्य सरोकारवालाहरुसँग समन्वय गरी अघि बढ्ने योजनाहरु विद्यालयले निर्माण गरेको जानकारी दिए ।
सोही क्रममा विद्यालयले भर्ना अभियान ¥याली समेत गरेको छ । नगरकोट भ्रमण वर्ष २०८२ लाई सफल बनाउन तथा विद्यालया विद्यार्थी भर्ना गर्न अनुरोधका साथ विद्यालयले खरिपाटी, नगरकोट फेदी, तेलकोट, बास्तोला नगरसम्म भर्ना अभियान ¥याली गरेको थियो ।