शुक्रबार, जेष्ठ १०, २०८२

24.1 C
Bhaktapur
शुक्रबार, जेष्ठ १०, २०८२
24.1 C
Bhaktapur
HomeNews Contentखोेज/फिचरपञ्चकन्याका पाँच अब्बल काम !

पञ्चकन्याका पाँच अब्बल काम !

हरिसुन्दर छुकां
भक्तपुर । भक्तपुरको सुडालमा रहेको छ, पञ्चकन्या माध्यमिक विद्यालय । यो विद्यालयले वि.सं. २०४३ असोज १६ गते तत्कालिन जिल्ला शिक्षा कार्यालय भक्तपुरबाट अनुमति पाएको थियो । त्यसपछि २०४३ फागुन २७ मा प्राथमिक विद्यालय सञ्चालनको स्वीकृति पाएको थियो । त्यस यता विभिन्न उतारचढाव पार गर्दै ४० वर्षको यात्रामा यात्रारत यस विद्यालयले भक्तपुरको पूर्वी भेगमा शैक्षिक चेतना र जागरण ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

विद्यालयले शिक्षा क्षेत्रमा, विद्यार्थी केन्द्रीत नियमित कामलाई मात्र प्राथमिकता र निरन्तरता दिएको छैन । विद्यालयले यसका साथै अन्य धेरै विषय र क्षेत्रलाई प्राथमिकता दिएर शैक्षिक क्षेत्रहरुमध्ये फरक पहिचान बनाउन सफल भएको छ । यो फरक पहिचान बनाउन सक्नुमा विव्यसको निरन्तर लगाव, अभिभावकको निरन्तर सहयोग, सद्भाव, शिक्षक तथा कर्मचारीहरुको अथक मिहिनेत, विद्यार्थीहरुकको अनुशासन, लगनशीलता र सिर्जनशीलता मुख्य कारक रहेको विद्यालयका प्रधानाध्याक नारायणप्रसाद दुलालले बताए ।

समयसँगै विभिन्न भौतिक स्रोत साधन तथा भौतिक निर्माणले सुसज्जित, शैक्षिक गतिविधिले भक्तपुर जिल्लामा नै उत्कृष्ट विद्यालयको रुपमा परिचित, विद्यार्थीको सर्वाङ्गीण विकासका सूचक पूरा गरेको विद्यालयमा विभिन्न जातजाति, भाषाभाषीको समिश्रित रुप देखिन्छ । तीनवटा भूकम्पप्रतिरोधी भवनका १३ वटा कोठामा पठनपाठन, १ वटा कोठा पुस्तकालय, १ वटा विज्ञान प्रयोगशाला, १ वटा आधुनिक कम्प्युटर ल्याब, १ वटा बाल क्लब तथा गणित सामाजिक प्रयोगशाला, १ वटा हल, १ चमेना गृह १ स्टोर १ अफिस कोठाका साथमा अघि बढिरहेको विद्यालयमा खेल मैदानको प्रबन्ध छ । साथै विद्यालय बसको समेत बन्दोबस्त रहेको यो विद्यालयले विभिन्न अब्बल अभ्यास गरिरहेको छ । ती अभ्यासहरुमध्ये पाँच अभ्यासहरुको हामी यहाँ चर्चा गरिरहेका छौं ।

एक : चाँगुनारायणको तेस्रो अब्बल स्कुल
कक्षा प्ले ग्रूपदेखि कक्षा १० सम्म पठनपाठन भइरहेको पञ्चकन्या माध्यमिक विद्यालय चाँगुनारायण नगरपालिकाको उत्कृष्ट विद्यालयमध्येको एक हो । यो माध्यमिक शिक्षा परीक्षा २०८० को नतिजा अनुसार यो विद्यालय चाँगुनारायण नगरपालिकाका ३४ विद्यालयमध्ये तेस्रो स्थानमा परेको थियो ।
विद्यालयमा हाल बालविकासका कक्षामा ८५, कक्षा १ देखि ५ सम्म १०८, कक्षा ६ देखि ८ सम्म ७८ र कक्षा ९ र १० मा ५६ गरी हाल ३२७ विद्यार्थी अध्ययन गरिरहेका छन् । विद्यालयमा मावि दरबन्दीमा १(स्थानीय अनुदान), राहत २, स्वीकृत १ र संघीय अनुदान १ गरी ५ जना, निमावि ४ जना, प्रावि राहत १ सहित ७, बालबिकास सहजकर्ता ४ जना, कर्मचारी १ जना, सहयोगी १, निजीमा कम्प्युटर शिक्षक १, प्रावि निजी १, सहयोगी १ गरी ३ जना रहेको विद्यालयले जनाएको छ ।

दुई : गज्जबको औसत सिकाइ उपलब्धि
विद्यालयको समग्र सिकाइ उपलब्धि पनि गज्जब अर्थात् सन्ताषजनक रहेको छ । विद्यालयका शिक्षक, कर्मचारीको टीम वर्क, विद्यार्थीको लगनशीलता र व्यवस्थापन समिति, शिक्षक अभिभावकको सक्रियताका कारण विद्यालयको औसत सिकाइ उपलब्धि गज्जबको बनेको हो । विद्यालयका अनुसार कक्षा नर्सरीको औसत सिकाइ उपलब्धि ६७ प्रतिशत, कक्षा एलकेजीको ८४ प्रतिशत, कक्षा युकेजीको ७४ प्रतिशत, कक्षा १ को ८२ प्रतिशत, कक्षा २ को ७७ प्रतिशत, कक्षा ३ को ६९ प्रतिशत, कक्षा ४ को ७० प्रतिशत, कक्षा ५ को ६३ प्रतिशत, कक्षा ६ को ६२ प्रतिशत, कक्षा ७ को ६७ प्रतिशत, कक्षा ८ को ६८ प्रतिशत, कक्षा ९ को ६० प्रतिशत र कक्षा १० को ७५ प्रतिशत रहेको छ ।

तीन : विद्यार्थीलाई एनसीसी कार्यक्रम
विद्यालयमा राष्ट्रिय सेवा दलले सञ्चालन गरेको एनसीसी कार्यक्रमबाट विद्यार्थी लाभान्वित भएका छन् । नेशनल क्याडेट क्रप्स(एनसीसी) कार्यक्रममा सहभागी भई विद्याथीहरुले व्यक्तित्व, क्षमता विकासको अवसर प्राप्त गरेका छन् । उनीहरुलाई नेतृत्व क्षमताको विकास, अनुशासन, राष्ट्रिय एकताको भावना, वफादारिता र इमान्दारिता विषयमा तालिम दिइएको थियो । एकसय दिनको सो कार्यक्रममा ३६ जना विद्यार्थी सहभागी भएका थिए ।

चार : अतिरिक्त क्रियाकलापमा अतिरिक्त सफलता
विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यालयले पाठ्यक्रम, पाठ्यपुस्तकका अलावा विभिन्न अतिरिक्त क्रियाकलाप गरिरहेको छ । त्यसले विद्यार्थीको दक्षता, क्षमता र नेतृत्व विकासमा सहयोग पुगेको छ । अतिरिक्त क्रियाकलापमा विद्यालयले गरिरहेको अभ्यासले पनि पञ्चकन्या माविको पृथक पहिचान भएको छ । वडा, नगरपालिका, क्षेत्र, विभिन्न संघसंस्था, प्रदेशका साथै राष्ट्रिय स्तरमा भएका अतिरिक्त क्रियाकलापमा सहभागी भई विद्यालयका विद्यार्थीले अतिरिक्त सफलता पाउँदै आएको छ । वक्तृता, मनोवाद लेखन, वादविवाद, हाजिरीजवाफल चित्रकलाका साथै खेलकुदका विभिन्न क्रियाकलापहरु(भलिबल। फुटबल, फुटसल, कबड्डी, एथलेटिक्स आदि) मा पनि विद्यालयले सफलता पाएको छ ।

पाँच : विद्यार्थी संख्याको ग्राफ
विद्यालयमा विगत ७ वर्षदेखि लगातार विद्यार्थी संख्या बढिरहेको छ । विद्यालयको शैक्षिक तथ्यांक अनुसार शैक्षिक सत्र २०७५ मा २८० जना विद्यार्थी रहेकामा हाल चालू शैक्षिक सत्रमा ३२७ विद्यार्थी अध्ययनरत छन् । अन्य सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या घटिरहेको समयमा सुडालको पञ्चकन्यामा भने त्यो अवस्था छैन । त्यहाँ शैक्षिक सत्र २०७६ मा ३२८, २०७७ मा ३३१, २०७८ मा ३४२, २०७९ मा ३२३ विद्यार्थी रहेका थिए । विद्यालयले यस वर्ष विद्यार्थी संख्या बढाउने गरी योजना सार्वजनिक गरेको छ । विद्यालयले विद्यार्थी संख्याको उचारचढावलाई स्थिर राख्न सफल भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको