भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ। उनीसँग नातासम्बन्ध रहेका भुवन ढुङ्गेल सवार विद्युतीय कारबाट ३३ लाख रुपैयाँ नगद फेला परेपछि अख्तियारले घिमिरेलाई समेत अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।
सोमबार दिउँसो नगरपालिकाको कार्यालयबाट निस्किएको बागमती प्रदेश ०१-०३५ च २६८७ नम्बरको टाटा इभी कारलाई अख्तियारको विशेष टोलीले मध्यपुर थिमिको निकोसेरास्थित अजिमा पेट्रोल पम्प नजिक रोकेर जाँच गरेको थियो।
कारको खानतलासीका क्रममा ठूलो परिमाणमा नगद भेटिएपछि चालकसहित कारमा सवार भुवन ढुङ्गेल र उनकी श्रीमतीलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो। घटनाबारे थप अनुसन्धान गर्ने क्रममा नगरपालिकाको कार्यालयमै रहेका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई पनि नियन्त्रणमा लिएर घटनास्थल पुर्याइएको बताइएको छ।
