भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाको १८औँ नगरसभा अनिश्चितकालका लागि स्थगित गरिएको छ। नगरपालिकाभित्र उत्पन्न विशेष परिस्थितिका कारण नगरसभा र त्यसअघि तय गरिएको कार्यपालिका बैठक समेत स्थगित भएको हो।
प्राप्त जानकारी अनुसार, नगरसभाको पूर्वसन्ध्यामा चाँगुनारायण नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष जयन्द्र खड्काले प्रमुख प्रशासकीय अधिकृत मोहनकृष्ण श्रेष्ठमाथि उनकै कार्यकक्षमा दुर्व्यवहार गरेका थिए। उक्त घटनापछि नगरपालिकाको प्रशासनिक वातावरण तनावपूर्ण बनेको छ।
स्राेतका अनुसार, उक्त घटनापछि प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले आफू असुरक्षित महसुस गर्दै नगरपालिका आउन नसक्ने जानकारी गराएका छन् । प्रमुख प्रशासकीय अधिकृत नै उपस्थित हुन नसक्ने भएपछि बिहान ९ बजेका लागि निर्धारित कार्यपालिका बैठक पनि प्रभावित भएको थियो।
नगरपालिकामा उत्पन्न विवाद र प्रशासनिक अन्योलताका बीच मेयर र उपमेयरले नगरसभा स्थगित गर्न निर्देशन दिएका हुन्। सूचना अधिकारी लामिछानेले भने, `मेयर र उपमेयरले विशेष कारणले नगरसभा स्थगित गर्नका लागि सूचना जारी गर्न भन्नुभएपछि हामीले सबै वडा अध्यक्षहरूलाई म्यासेज पठाएर जानकारी गराएका छौँ।´
नगरपालिकाले औपचारिक रूपमा ‘विशेष कारण’ मात्र उल्लेख गरे तापनि आन्तरिक रूपमा जनप्रतिनिधि र कर्मचारीबीचको द्वन्द्व नै मुख्य कारण रहेको बुझिएको छ।
नगरसभा स्थगित हुँदा नगरपालिकाका चालू तथा आगामी योजना, बजेट संशोधन र नीतिगत निर्णयहरू अन्योलमा परेका छन्। जनप्रतिनिधिले कर्मचारीमाथि कार्यकक्षमै दुर्व्यवहार गरेको घटनाले स्थानीय तहको प्रशासनिक मर्यादा र सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
हाल यस घटनाका विषयमा आन्तरिक छलफल र छानबिन भइरहेको बुझिएको छ। नगरपालिकाले स्थिति सामान्य भएपछि मात्र अर्को मिति तोकेर नगरसभा आह्वान गर्ने तयारी गरेको छ।
