मङ्लबार, जेष्ठ १२, २०८३

29.1 C
Bhaktapur
मङ्लबार, जेष्ठ १२, २०८३
29.1 C
Bhaktapur
HomeNews Contentचाँगुपत्रभक्तपुरका विद्यार्थीको सक्रियतामा फोहोर व्यवस्थापन कार्यक्रम

भक्तपुरका विद्यार्थीको सक्रियतामा फोहोर व्यवस्थापन कार्यक्रम

भक्तपुर । भक्तपुरको कमलविनायकस्थित रोम्बस सेकेण्डरी स्कुलमा विद्यार्थीहरूको सक्रिय सहभागितामा फोहोर व्यवस्थापन तथा सरसफाइसम्बन्धी विशेष कार्यक्रम सम्पन्न गरिएको छ। विद्यालयको अतिरिक्त क्रियाकलाप (ECA) अन्तर्गत आयोजना गरिएको कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरू उत्साहपूर्वक सहभागी भएका थिए।

ईसीए इन्चार्ज सागर बस्नेतको संयोजनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले विद्यालय परिसर तथा आसपासका क्षेत्रमा सरसफाइ गर्दै फोहोरको उचित व्यवस्थापन, पुनःप्रयोग (रिसाइक्लिङ) तथा वातावरण संरक्षणबारे सचेतनामूलक गतिविधि सञ्चालन गरेका थिए। विद्यार्थीहरूले कुहिने र नकुहिने फोहोर छुट्याउने, प्लास्टिकजन्य फोहोरको असरबारे जानकारी दिने तथा स्वच्छ वातावरण निर्माणका लागि सबैको साझा जिम्मेवारी रहने सन्देश प्रवाह गरेका थिए।

कार्यक्रमका क्रममा विद्यार्थीहरूले वातावरण प्रदूषणका कारण मानव स्वास्थ्य, प्राकृतिक स्रोत तथा समाजमा पर्ने नकारात्मक असरबारे जानकारी आदानप्रदान गरेका थिए। विद्यालयका अनुसार व्यवहारिक अभ्यासमार्फत विद्यार्थीलाई फोहोर व्यवस्थापनको महत्व बुझाउने र दैनिक जीवनमै सरसफाइलाई संस्कारका रूपमा विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

विद्यालयका प्रिन्सिपल डा. राजेन्द्र कोजूले विद्यालय केवल औपचारिक शिक्षाको केन्द्र मात्र नभई असल संस्कार, सामाजिक जिम्मेवारी र व्यवहारिक ज्ञान सिकाउने थलो पनि भएको बताए। उनले विद्यार्थीहरूलाई सानैदेखि वातावरण संरक्षणप्रति सचेत बनाउन सके भविष्यमा जिम्मेवार नागरिक निर्माण गर्न सहज हुने उल्लेख गरे।

उनका अनुसार अहिले विश्वभर वातावरण प्रदूषण, प्लास्टिकजन्य फोहोर तथा अव्यवस्थित शहरीकरण चुनौतीका रूपमा देखिएको अवस्थामा विद्यालयस्तरबाटै सचेतना फैलाउनु आवश्यक छ। “पुस्तकमा पढेर मात्र होइन, व्यवहारमा उतारेर सिक्दा विद्यार्थीले विषयलाई अझ राम्रोसँग बुझ्छन्,” उनले भने।

कार्यक्रम संयोजक सागर बस्नेतले विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कार्यक्रम थप प्रभावकारी बनेको बताए। उनले यस्ता गतिविधिले विद्यार्थीहरूमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न मद्दत पुग्ने उल्लेख गरे।

विद्यालयका अनुसार आगामी दिनमा पनि वातावरण संरक्षण, सामाजिक सचेतना तथा व्यवहारिक शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रम सफल बनाउन योगदान दिने विद्यार्थी, शिक्षक तथा सहयोगी सबैप्रति विद्यालय प्रशासनले धन्यवाद व्यक्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको