भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भक्तपुर क्षेत्र नम्बर २ का उम्मेदवार विक्रम थापा ले नेपाली मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भूमिकाका कारण यस क्षेत्रमा राप्रपाको जीत सुनिश्चित हुने दाबी गरेका छन्।
शनिबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा थापाले भक्तपुर–२ मा नेमकिपाको परम्परागत मत आधार स्थिर रहने र नघट्ने बताए। उनका अनुसार नेमकिपाले निरन्तर लिँदै आएको मत यथावत् रहँदा नेपाली कांग्रेस र नेकपा एमालेको मत भने रास्वपाले काट्ने अवस्था बनेको छ, जसको प्रत्यक्ष लाभ राप्रपालाई पुग्नेछ।
थापाले भने, `नेमकिपाको मत घट्ने अवस्था छैन। कांग्रेस र एमालेको मत रास्वपातर्फ सर्दै गइरहेको छ। यसले मुख्य प्रतिस्पर्धी दलहरू कमजोर बनाउँछ र अन्ततः राप्रपाको जीत सुनिश्चित गर्छ।´
पत्रकार सम्मेलनमा उनले राप्रपाको राजनीतिक एजेन्डाबारे पनि स्पष्ट पारे। संघीयता खारेज, राजसंस्थाको पुनर्स्थापना र हिन्दू राष्ट्र स्थापनालाई पार्टीको मुख्य राजनीतिक मुद्दा रहेको उनले बताए
साथै भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, आर्थिक आत्मनिर्भरता र सुशासनलाई प्राथमिकतामा राखिएको उल्लेख गरे। थापाले स्थानीय तहमा इमानदार र जवाफदेही नेतृत्व आवश्यक रहेको बताउँदै घुस, अनियमितता र बेथितिविरुद्ध कडा रूपमा उभिने प्रतिबद्धता जनाए। उनले अन्य उम्मेदवारहरूलाई पनि स्वच्छ राजनीतिक अभ्यासमा लाग्न आग्रह गरे।
पत्रकार सम्मेलनअघि राप्रपाले भक्तपुर–२ भित्र र्याली आयोजना गरेको थियो। र्यालीमा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
