आइतवार, माघ ४, २०८२

18.1 C
Bhaktapur
आइतवार, माघ ४, २०८२
18.1 C
Bhaktapur
HomeNews Contentसमाचारआन्तरिक पर्यटकको रोजाइ बन्दै चाँगुनारायण सामुदायिक होमस्टे : १३ सयको प्याकेज

आन्तरिक पर्यटकको रोजाइ बन्दै चाँगुनारायण सामुदायिक होमस्टे : १३ सयको प्याकेज

भक्तपुर । चाँगुनारायण सामुदायिक होमस्टेले पाहुनाका लागि १ हजार ३ सय रुपैयाँमै खाना तथा खाजासहितको प्याकेज उपलब्ध गराएको छ। विश्वसम्पदा सूचिमा सूचिकृत चाँगुनारायण क्षेत्रमा सञ्चालित हाेमस्टेले उक्त प्याकेजमा सेवा दिएको हाे।

गाउँघरको मौलिक जीवनशैली, स्थानीय संस्कृति र रैथाने खानाको स्वाद एकैसाथ अनुभव गराउने उद्देश्यले उक्त प्याकेज सञ्चालनमा ल्याइएको चाँगुनारायण सामुदायिक हाेमस्टे सञ्चालकहरूले बताएका छन् ।

होमस्टेमा आउने पाहुनालाई गाउँघरको आत्मीय वातावरणमा स्वागत गरिन्छ। यहाँ अर्गानिक तथा रैथाने परिकारहरू प्राथमिकताका साथ पस्किने गरिएको छ। विशेषगरी लोकल कुखुराको मासु र झोल, कोदोको लोकल तीन पाने, कोदो तथा फापरको ढिँडो जस्ता परम्परागत खानाले पाहुनाको विशेष आकर्षण पाएको छ। खाजामा पनि स्थानीय उत्पादनबाट तयार गरिएका परिकार समावेश गरिन्छ।

हाेमस्टे चाँगुनारायण नगरपालिका वडा नं . ४ काे तामाङ गाउँमा सञ्चालित छ । हाेमस्टे सञ्चालनमा रहेको चाँगुछापमा सजिलै पुग्न सकिन्छ ।

ग्रुपमा आउने पाहुनाहरूका लागि तामाङ संस्कृतिअनुसारको मौलिक स्वागतको व्यवस्था गरिएको छ। एकैपटक २५ जना सम्मको आवास सुविधा उपलब्ध गराउन सकिने यस होमस्टेमा बैठक, तालिम तथा सांस्कृतिक कार्यक्रमका लागि हलको सुविधा पनि रहेको छ।

होमस्टेका अध्यक्ष सपना तामाङले आन्तरिक पर्यटन प्रवर्द्धन र स्थानीय समुदायको आयआर्जन बढाउने उद्देश्यले सुलभ प्याकेज ल्याइएको बताइन्। उनले भनिन्, `चाँगुनारायण आउने पाहुनाले यहाँको संस्कृति, गाउँको जीवनशैली र रैथाने खानाको स्वाद एकै ठाउँमा अनुभव गर्न सकून् भन्ने हाम्रो लक्ष्य हो। १ हजार ३ सय रुपैयाँको खाना/खाजाको प्याकेजले परिवार, समूह तथा शैक्षिक भ्रमणमा आउने पाहुनालाई किफायती र सहज बनाएको छ।´

उनका अनुसार होमस्टेले स्थानीय कृषि उत्पादनको प्रयोगलाई प्राथमिकता दिँदै महिलाको सक्रिय सहभागितामार्फत रोजगारी सिर्जना र गाउँको आर्थिक गतिविधि बढाउन योगदान दिइरहेको छ।

स्थानीय संस्कृति संरक्षण, सामुदायिक पर्यटन र गाउँको समृद्धिलाई केन्द्रमा राखेर सञ्चालन भइरहेको चाँगुनारायण सामुदायिक होमस्टे पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइ बन्दै गएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको