आइतवार, माघ ४, २०८२

18.1 C
Bhaktapur
आइतवार, माघ ४, २०८२
18.1 C
Bhaktapur
HomeNews Contentचाँगुपत्रअमेरिकी साम्राज्यवादले नेपालमा ‘छाया युद्ध’ गरिरहेको छ : बिजुक्छें

अमेरिकी साम्राज्यवादले नेपालमा ‘छाया युद्ध’ गरिरहेको छ : बिजुक्छें


भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले अमेरिकी साम्राज्यवादले नेपालमा ‘छाया युद्ध’ सञ्चालन गरिरहेकाे बताएका छन्। नयाँ पुस्तालाई प्रयोग गरेर देशका प्रमुख प्रशासनिक, राजनीतिक तथा आर्थिक केन्द्रहरूमा आक्रमण, आगजनी र अस्थिरता सिर्जना गर्ने गतिविधि नै उक्त छाया युद्धको रूप भएको उनले बताए।

नेपाल क्रान्तिकारी युवा संघ चाँगुनारायण नगर समितिले बिहीबार भक्तपुरको नगरकोटमा आयोजना गरेको प्रशिक्षण तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले साम्राज्यवाद बन्दुकभन्दा पनि विचार, संस्था र आर्थिक संरचनामार्फत कमजोर राष्ट्रमाथि हस्तक्षेप गरिरहेको उल्लेख गरे। साम्राज्यवादले अब सेना पठाएर होइन, गैरसरकारी संस्था, अनुदान, परियोजनाकाे नाममा देशलाई नियन्त्रण गर्न खोज्दैछ, ´उनले भने।

अध्यक्ष बिजुक्छेंले देशका विभिन्न स्थानमा सक्रिय गैरसरकारी संस्था (एनजिओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) हरू साम्राज्यवादलाई बलियो बनाउने औजारका रूपमा प्रयोग भइरहेको बताए । यस्ता संस्थाहरूले युवालाई लक्षित गरेर भ्रम फैलाउने, राजनीतिक चेतना कमजोर बनाउने र राष्ट्रिय स्वाधीनताविरुद्ध गतिविधि गरिरहेको उनको भनाइ थियो।युवाहरू र पार्टीका सबै तहका कार्यकर्ता यस्ता गतिविधिबाट अत्यन्तै सजग हुनुपर्छ, ´उनले जोड दिए, राष्ट्र र जनताको पक्षमा उभिने कि विदेशी स्वार्थको दास बन्ने भन्ने छनोट अहिलेको पुस्ताले गर्नुपर्ने समय आएको छ।´

अध्यक्ष बिजुक्छेंले पार्टी कार्यकर्तालाई मनबाटै सेवा गर्ने वाचा गर्न आग्रह गर्दै देखावटी, बनावटी र प्रचारमुखी सेवाभित्र स्वार्थ लुक्ने गरेकाे समेत बताए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा गहन जानकारी राख्दै पार्टी संगठन विस्तारमा जुट्नुपर्ने आवश्यकता औंल्याए। वैचारिक स्पष्टता र सैद्धान्तिक दृढताबिना संगठन दीगो हुन नसक्ने उनको भनाइ थियो।

नेमकिपा अध्यक्ष बिजुक्छेंले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीजस्ता मुख्यधारका दलहरूले देश र जनताको हितभन्दा पनि व्यक्तिगत र दलगत स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाए। यही प्रवृत्तिका कारण देश क्रमशः अप्ठ्यारो परिस्थितितर्फ धकेलिँदै गएको उनले बताए। एमसिसीजस्तो देशघाती सम्झौताका सन्दर्भ उठाउँदै उनले भने,देशलाई अप्ठ्यारो परेको बेला आवाज उठाउन नसक्नु, सम्झौतामा मौन बस्नु देशप्रति गरिएको ठूलो बेइमानी हो। ´ शासक दलहरू विदेशी शक्तिको दबाबमा राष्ट्रघाती सम्झौता गर्न तयार हुने तर जनताको पक्षमा उभिन नसक्ने अवस्थामा पुगेको उनले टिप्पणी गरे।

कार्यक्रममा उपस्थित युवा तथा पार्टी पंक्तिका सहभागीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै अध्यक्ष बिजुक्छेंले देश र जनताको लागि इमानदारीपूर्वक काम गरे आत्मसम्मान र गौरवका साथ बाँच्न सकिने बताए। तर चुनाव जित्ने र सरकारमा जाने लोभमा परेका दलहरूले पैसा, पद, जागिर र अवसरको प्रलोभन देखाएर कार्यकर्तालाई समेत बिगार्ने गरेको उनको भनाइ थियो।

वैचारिक हिसाबले स्पष्ट र सैद्धान्तिक रूपमा सबल कार्यकर्ता भए मात्र पार्टी गतिविधि सही दिशामा अघि बढ्छ,´उनले भने,त्यसैले नयाँ पुस्तालाई अनिवार्य रूपमा राजनीतिक कक्षामा सहभागी गराउनुपर्छ।´

अध्यक्ष बिजुक्छेंले सत्ता र सरकार फरक विषय भए पनि एमाले र माओवादीजस्ता दल सरकारमा जान लालायित हुनुको मुख्य कारण सैद्धान्तिक कक्षाको अभाव भएको बताए। सरकार र कुर्सी परिवर्तनलाई नै क्रान्ति ठान्ने भ्रमले पार्टीहरूलाई दिशाहीन बनाएको उनको टिप्पणी थियो। उनले सरकारमा गएका दलहरूले देशलाई आत्मनिर्भर बनाउनुकाे सट्टा भएका उद्योगलाई पनि निजीकरण गरि बन्द गराएको बताए ।

अध्यक्ष बिजुक्छेंले भने, एउटा जुत्ता उद्योग बन्द भए, देशलाई आर्थिक रूपमा मात्र घाटा हुन्न, देशको गाेप्यता समेत भंग हुन्छ । याे कुरा शासक दलहरूले बुझेनन् ।´ आफूले पार्टी विस्तारका क्रममा भोगेका अनुभवहरू स्मरण गर्दै उनले युवा तथा पार्टी कार्यकर्ता इमानदार, अध्ययनशील र सहयोगी हुनुपर्नेमा जोड दिए । आत्म आलोचना गरेर अघि बढ्न निर्देशन दिएका अध्यक्ष बिजुक्छेंले विश्वका कम्युनिस्ट देशहरू र तिनीहरूकाे अवस्थाबारे चित्रण गरेका थिए ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले विश्वका महान् दार्शनिक तथा कम्युनिस्ट गुरूहरूको संघर्ष, जीवनयात्रा र ऐतिहासिक अनुभवबाट सिकेर पार्टी संगठन निर्माण गर्नुपर्ने बताए । सचिव सुवालले संगठन निर्माण अनुभवविहीन भावनाबाट नभइ इतिहासको अध्ययनबाट अघि बढ्नुपर्ने बताए।हिजोका अनुभवबाट सिकेर आजको संगठन बलियो बनाउनु पर्छ,´उनले भने, त्यसकारण घटना, जीवनी र संघर्षको गम्भीर अध्ययन अपरिहार्य छ।´

सचिव सुवालले नेपाली राजनीतिक इतिहासबारे जानकारी गराउँदै बढ्दो भारतीय विस्तारवादको प्रभाव नियन्त्रण गर्न योजनाबद्ध गतिविधिमा लाग्नुपर्ने आवश्यकता औंल्याए। उनले विदेशी हस्तक्षेपविरुद्ध स्पष्ट दृष्टिकोण नबनाए देश र जनताको हित सुरक्षित हुन नसक्ने बताए। अन्य दलका कार्यकर्ताभन्दा नेमकिपाका कार्यकर्ता विचार, व्यवहार र संघर्षका हिसाबले पृथक हुनुपर्ने उल्लेख गर्दै उनले संघर्षको भावना कमजोर नपार्न आग्रह गरे।

आफ्नो स्वाभिमान कहिल्यै गिर्न दिनु हुँदैन,´ उनले भने, कार्यकर्ताले सैद्धान्तिक आँच गुमायो भने त्यसको प्रत्यक्ष असर पार्टीमा पर्छ।´ सचिव सुवालले आमूल परिवर्तन एक पुस्ताको योगदान वा एउटै आन्दोलनले मात्र सम्भव नहुने स्पष्ट पारे। नेपालजस्तो देशमा दीर्घकालीन समाजवादी आन्दोलन आवश्यक रहेको उल्लेख गर्दै उनले जनताको हित सुरक्षित गर्ने एकमात्र बाटो समाजवाद भएको बताए।

उनले कार्यकर्तालाई धैर्य, निरन्तरता र अध्ययनशीलता अपनाउन आग्रह गर्दै तत्कालीन उपलब्धिभन्दा दीर्घकालीन लक्ष्यमा केन्द्रित हुनुपर्ने धारणा राखे। कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईँले बढ्दो सामाजिक सञ्जाल प्रयोगले नयाँ पुस्तालाई दिग्भ्रमित बनाइरहेको बताए। तथ्यभन्दा भावनामा आधारित प्रचार, गलत सूचना र भ्रमले युवालाई गलत दिशातर्फ धकेलिरहेको उनको भनाइ थियो।

उनले अमेरिकाले एमसिसी परियोजनाको स्वार्थ पूरा गर्न विद्रोह र अस्थिरता सिर्जना गर्न लगानी गरेको आरोप लगाउँदै जनताका वास्तविक शत्रु चिन्न ढिलाइ गर्न नहुने बताए। शत्रु चिन्ने चेत ढिलो भयो भने देशले ठूलो मूल्य चुकाउनुपर्छ´, उनले भने ।

जिल्ला अध्यक्ष गोसाईँले युवामा आलोचनात्मक चेतको विकास अत्यावश्यक रहेको उल्लेख गर्दै त्यसका लागि साहित्य अध्ययन प्रभावकारी माध्यम हुने बताए। इतिहास, दर्शन र राजनीतिक साहित्यले युवालाई सही र गलत छुट्याउने दृष्टि दिने उनको भनाइ थियो। नेपालका शासक वर्गको अदूरदर्शी स्वभाव र स्वार्थी प्रवृत्तिले देश बंगलादेशको बाटोमा जान सक्ने खतरा औंल्याउँदै उनले नेमकिपाले सुरुदेखि नै फासीवादी नीतिको विरोध गर्दै आएको स्मरण गराए।

आयाेजक समितिका अध्यक्ष एलएन लिगलकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा आयाेजक समितिका उपाध्यक्ष उत्तम साखकर्मी, नेक्रायुसंघ ताथलीका हरिसुन्दर छुकांले युवाहरूलाई वैचारिक रूपमा सचेत, अध्ययनशील र सङ्घर्षशील बनाउँदै समाजवादी आन्दोलनप्रति प्रतिबद्ध बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेकाे बताए ।

कार्यक्रममा सहभागी युवाहरूले कार्यक्रम वैचारिक रूपमा सशक्त बनाउँदै राष्ट्रिय स्वाधीनता, जनताको अधिकार र समाजवादप्रतिको प्रतिबद्धतालाई बलियो बनाउन सहयोगी भएको उल्लेख गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको