भक्तपुर । अपेन भक्तपुरको तेस्रो नगर अधिवेशन पौष ७, २०८२ मा सम्पन्न भएको छ। भक्तपुर नगरभित्र सञ्चालनमा रहेका ९ वटा प्रिस्कुलबाट १८ जना प्रतिनिधिहरूको सहभागितामा अधिवेशन सम्पन्न भएको हो।
अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित कार्यसमितिको अध्यक्षमा किरण गोसाई चयन भएका छन्। उपाध्यक्षमा सूर्य भक्त श्रेष्ठ, सचिवमा कमिनिका न्याइच्याई र कोषाध्यक्षमा अनिता खागी चयन भएका छन्। सदस्यहरूमा अन्जनी ताम्राकार, रेणुका थापा, रविता थापा, नीरू श्रेष्ठ र जोशन मचामसी रहेका छन्।
अधिवेशनमा अमर ज्योती, मर्निङ्ग ग्लोरी, केयर किन्डर वर्ल्ड, किड्ज केयर, ह्याप्पी किड्ज, सेरफ वर्ल्ड, चाइल्ड हेभन, प्रत्युशा किड्ज जोन र द ग्रेट बिगिनिङ्ग्ज प्रिस्कुलहरूको सहभागिता रहेको थियो।
कार्यक्रमकी प्रमुख अतिथि अपेन केन्द्रकी सचिव सम्झना वस्नेतले प्रिस्कुल शिक्षाको गुणस्तर अभिवृद्धि र संस्थागत सहकार्यलाई सुदृढ बनाउने कार्यमा अपेनको भूमिका महत्वपूर्ण रहने बताइन्।
प्रारम्भिक बालशिक्षा सुदृढ बनाउन शिक्षक, संस्था र अभिभावकबीचको समन्वय आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रमको स्वागत मन्तव्य कमिनिका न्याइच्याईले राखेकी थिइन् भने वार्षिक प्रतिवेदन अध्यक्ष किरण गोसाईले प्रस्तुत गरेका थिए। धन्यवाद ज्ञापन कोषाध्यक्ष अनिता खागीले गरेकी थिइन्।
अधिवेशनको निर्वाचन प्रक्रिया लक्ष्मी क्षेत्री (अधिकृत), वसन्ती प्रजापति र रामप्यारी कासुला सम्मिलित निर्वाचन समितिले सम्पन्न गरेको थियो। निर्वाचन समितिको प्रतिवेदनअनुसार नयाँ कार्यसमिति सर्वसम्मत रूपमा पारित गरिएको हो।
अधिवेशनले आगामी कार्यकालमा भक्तपुरका प्रिस्कुलहरूको साझा हित संरक्षण, गुणस्तरीय प्रारम्भिक बालशिक्षा प्रवर्द्धन तथा अभिभावक र संस्थाबीचको सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
