आइतवार, माघ ४, २०८२

18.1 C
Bhaktapur
आइतवार, माघ ४, २०८२
18.1 C
Bhaktapur
HomeNews Contentचाँगुपत्रशैक्षिक सामग्रीले भरियो आरक्षण स्कुल : अभिभावक भए दंग

शैक्षिक सामग्रीले भरियो आरक्षण स्कुल : अभिभावक भए दंग


भक्तपुर । आरक्षण नेसनल स्कुलले आयोजना गरेको विषयगत बृहत शैक्षिक प्रदर्शनी शैक्षिक सामग्रीले भरिँदा अभिभावकहरू दंग परेका छन्। विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक रूपमा सिक्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रदर्शनीमा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

विद्यालयमै आर्जित सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्न प्रेरित गर्ने, वैज्ञानिक सोचको विकास गर्ने तथा सिकाइमा सृजनशीलताको अभिवृद्धि गर्ने उद्देश्यसहित प्रदर्शनी आयोजना गरिएको विद्यालयले जनाएको छ। प्रदर्शनीमा नर्सरीदेखि माध्यमिक तहसम्मका विद्यार्थीहरूले आफ्ना सिकाइका उपलब्धि प्रस्तुत गरेका थिए।

विद्यार्थीहरूले सौर्य ऊर्जा प्रणाली, पानी शुद्धीकरण मोडेल, भूकम्प प्रतिरोधी घर, मानव शरीरका अंगहरू, पर्यावरण संरक्षण, जलवायु परिवर्तनको प्रभाव, स्थानीय संस्कृति र सम्पदा, गणितीय सूत्रको प्रयोग, सामाजिक समस्या र समाधानलगायत विषयमा तयार पारेका परियोजना, मोडेल र प्रयोगहरू प्रस्तुत गरेका थिए ।

प्रदर्शनीमार्फत विद्यार्थीहरूमा जिज्ञासा बढाउने, सिकाइप्रति रुचि विकास गर्ने र विभिन्न विषयसँग सम्बन्धित समस्याको समाधान गर्ने क्षमताको विकास गराउने लक्ष्य लिइएको विद्यालयले जनाएको छ। कार्यक्रमले शिक्षालाई अझ रोचक, व्यवहारिक र अर्थपूर्ण बनाएको विद्यालयको विश्वास छ।

कार्यक्रममा सहभागी एक अभिभावकले भने, “हामीले बच्चाहरूले किताबबाट मात्र पढेको ठानेका थियौँ, तर यहाँ आएपछि उनीहरूले सिकेको कुरा व्यवहारमा उतार्न सक्ने क्षमता देख्दा खुसी लागेको छ।” अर्का अभिभावकले विद्यालयले विद्यार्थीको सिर्जनात्मकता उजागर गर्न यस्ता कार्यक्रम निरन्तर गर्नुपर्ने बताए।

प्रदर्शनीले विद्यार्थी, शिक्षक र अभिभावकबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको विद्यालयको भनाइ छ। चाँगुनारायण नगरपालिका–८ सुडाल, भक्तपुरमा अवस्थित आरक्षण नेसनल स्कुल पछिल्लो समय गुणस्तरीय शिक्षासँगै व्यवहारिक सिकाइमा जोड दिँदै आइरहेको छ। शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय रहँदै आएको विद्यालयले विभिन्न प्रतियोगिता तथा कार्यक्रमहरूमा उत्कृष्ट स्थान हासिल गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको