भक्तपुर । नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालका कार्यकारी निर्देशक डा. दिपेन्द्र कुमार (डि.के.) रौशनले आफू नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश नगरेको स्पष्ट गरेका छन्।
डा. रौशनले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै व्यक्तिगत भेटघाटलाई पार्टी प्रवेशका रूपमा प्रचार गरिएकोप्रति आपत्ति जनाउँदै खेद प्रकट गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालका मेसुका रूपमा कार्यरत म कार्यकारी निर्देशक डा. दिपेन्द्र कुमार रौशन नेकपामा प्रवेश गरेको भन्ने विषय विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत जानकारीमा आएको छ। मेरो व्यक्तिगत भेटघाटलाई पार्टी प्रवेशका रूपमा भ्रामक प्रचार गरिनु दुःखद भएको हुँदा त्यसप्रति खेद प्रकट गर्दछु।”
डा. रौशनले आफू चिकित्सक पेशामा आबद्ध भई सेवामा समर्पित रहेको र सबै राजनीतिक दलसँग सुमधुर सम्बन्ध भए पनि कुनै पनि राजनीतिक पार्टीमा आबद्ध नरहेको स्पष्ट गरेका छन्।
विज्ञप्तिमा उल्लेख गरिएको छ, “म हालसम्म चिकित्सक पेशामै आबद्ध भई सेवा गरिरहेको छु। मेरो सम्पूर्ण राजनीतिक दलसँग सम्बन्ध सुमधुर रहे पनि म कुनै पनि राजनीतिक पार्टीमा आबद्ध छैन।” राजनीति भन्दा पेशागत जिम्मेवारी र सेवाप्रति समर्पित भई निरन्तर स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता समेत डा. रौशनले व्यक्त गरेका छन्।
