भक्तपुर । चाँगुनारायण नगरपालिकाको कार्यालय र चाँगुनारायण नगरपालिका–७ को आयोजनामा प्रथम मेयरकप राष्ट्रव्यापी सो-क्योकुसिन फुल कन्ट्याक्ट कराते प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ।
प्रतियोगिता आगामी २०८३ साल कात्तिक १४ र १५ गते चाँगुनारायण नगरपालिका–७ स्थित नेपाल विद्युत् प्राधिकरण तालिम केन्द्रमा सञ्चालन हुनेछ। प्रतियोगिता बिहान ११ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।
खेलकुदको विकास, खेलाडीको प्रतिभा पहिचान तथा कराते खेलको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा विभिन्न स्थानका खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
‘स्वस्थ शरीर, सुदृढ समाज’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिताले खेलाडीमा अनुशासन, आत्मविश्वास र आत्मबल अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ। कराते खेलको माध्यमबाट युवालाई शारीरिक तथा मानसिक रूपमा सबल बनाउँदै खेलकुदप्रति आकर्षित गर्ने लक्ष्यसमेत प्रतियोगिताले राखेको छ।
आयोजकले प्रतियोगितामा सहभागी हुन तथा खेल अवलोकन गरी खेलाडीको हौसला बढाउन सम्पूर्ण खेलप्रेमी, विद्यार्थी, अभिभावक र करातेप्रेमी महानुभावलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।
‘करातेले जोड्छ अनुशासन, आत्मबल र भविष्य’ भन्ने सन्देशसहित आयोजना हुन लागेको प्रतियोगिताले चाँगुनारायण नगरपालिकामा खेलकुद गतिविधि विस्तार गर्न तथा स्थानीय खेलकुदको पहिचान स्थापित गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ।
#चाँगुनारायण #मेयरकप #करातेप्रतियोगिता #खेलकुद #सो_क्योकुसिन_कराते #भक्तपुर
