सोमवार, मंसिर ८, २०८३

11.1 C
Bhaktapur
सोमवार, मंसिर ८, २०८३
11.1 C
Bhaktapur
HomeNews Contentसमाचार

समाचार

३०५वर्ष पुरानो अभिलेख फेला

हरिसुन्दर छुकां भक्तपुर । भक्तपुर र ललितपुरको पहाडी सिमानामा अवस्थित काशी विश्वेश्वरनाथ मन्दिर परिसरमा ३०५ वर्ष पुरानो शिलालेख फेला परेको छ। अभिलेखमा विक्रम संवत् १७७८ उल्लेख छ। यससँगै पुस्तकमा उल्लेख भएर पनि फेला पार्न नसकिएको अर्को पुरानो शिलापत्र र मन्दिर परिसरका ऐतिहासिक प्रस्तर मूर्तिबारे समेत चासो बढेको छ।  भक्तपुरको दक्षिणपूर्वी र ललितपुरको उत्तरपूर्वी पहाडी सिमानामा पर्ने रिसाल डाँडास्थित ढिकस्पाखामा रहेको काशी विश्वेश्वरनाथ मन्दिर सूर्यविनायक नगरपालिका र महालक्ष्मी नगरपालिकाको सीमाक्षेत्रमा अवस्थित छ। हाल मन्दिर परिसरमा स्थापित शिलालेखको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वबारे स्थलगत अध्ययन भइरहेको छ।  इतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठद्वारा लिखित ‘अनन्तलिङ्गेश्वर (एक सांस्कृतिक अध्ययन)’ पुस्तकको वि.सं. २०६४ मा प्रकाशित संस्करणको पृष्ठ ११४ मा यस मन्दिरसँग सम्बन्धित पुरानो शिलापत्रको प्रसङ्ग उल्लेख छ। पुस्तकमा उक्त शिलापत्रका अक्षर खिइएकाले पढ्न कठिन रहेको र सम्भवतः लिच्छवि लिपिमा रहेको चर्चा गरिएको छ। स्थानीयका अनुसार लामाटार वडा नं. ५ का एक व्यक्तिले उक्त शिलापत्र घरमा लगेको भनाइसमेत पुस्तकमा उल्लेख छ। लेखकले खोजी गर्दा पनि उक्त शिलापत्र फेला पार्न नसकेको जनाइएको छ।  अहिले मन्दिर परिसरमा रहेको विक्रम संवत् १७७८ को शिलालेख पुस्तकमा उल्लेखित त्यही शिलापत्र हो वा फरक अभिलेख हो भन्ने प्रश्न भने अझै अनुत्तरित छ। यस विषयमा थप अध्ययन र तुलनात्मक विश्लेषण आवश्यक देखिएको छ।  सोही पुस्तकमा काशी विश्वेश्वरसँग सम्बन्धित पगरी र जामा लगाएको, घुँडा टेकेर विन्तीभावमा रहेको भक्तको प्रस्तर सालिग (चित्र ७५-क) समेत उल्लेख छ। उक्त प्रस्तर सालिगको स्वरूप, पहिचान र धार्मिक–सांस्कृतिक महत्त्वबारे थप अध्ययन गर्न सके मन्दिरको इतिहाससँग जोडिएका थप तथ्य उजागर हुन सक्ने सम्भावना छ। यस क्षेत्रका पुराना इनारका कारण वन क्षेत्रलाई ‘ओपी वन’ भन्न थालिएको प्रसङ्गसमेत पुस्तकमा उल्लेख गरिएको छ।  मन्दिर तथा शिलालेखको स्थलगत अध्ययनमा इतिहास र संस्कृतिमा रुचि राख्ने लुभुका शिक्षक प्रकाश थापा, सिरूटार निवासी लेखक ईश्वर बुढाथोकी, ताथली निवासी सञ्चारकर्मी हरिसुन्दर छुकां र कटुञ्जे निवासी समाजशास्त्री सुरेश बखुन्छें सहभागी थिए।  अध्ययनका क्रममा अभिलेखमा उल्लेखित संवत् र प्रयोग भएको लिपिले केही महत्त्वपूर्ण ऐतिहासिक प्रश्नसमेत उठाएका छन्। अधिकांश मल्लकालीन अभिलेखमा नेपाल संवत् उल्लेख भएको पाइने भए पनि हाल प्राप्त शिलालेखमा विक्रम संवत् उल्लेख हुनुले यस क्षेत्रको तत्कालीन अभिलेखीय परम्पराको थप अध्ययन गर्नुपर्ने देखिएको छ।  यद्यपि भक्तपुर दरबार परिसरभित्र रहेको तलेजु मन्दिरको उत्तरपूर्वमा अवस्थित कलात्मक ढुङ्गेधारामा नेपाल संवत्, शक संवत् र विक्रम संवत् गरी तीनवटै संवत् उल्लेख भएको उदाहरण पनि छ। नेपालमा चन्द्रशमशेरको इख्तियारपछि नेपाल संवत्को सट्टा विक्रम संवत् सरकारी कामकाजमा प्रचलनमा आएको मानिँदै आएको सन्दर्भमा मल्लकालीन अभिलेखमै विक्रम संवत् उल्लेख हुनुले संवत्को प्रयोग र प्रचलनबारे थप अनुसन्धानको ढोका खोलेको छ। त्यस्तै, अधिकांश मल्लकालीन अभिलेख प्रचलित स्थानीय लिपि तथा नेपाल भाषामा पाइने गरेकोमा हाल प्राप्त अभिलेख देवनागरी लिपिमा हुनु पनि अध्ययनको अर्को महत्त्वपूर्ण पक्ष हो। यसले अभिलेखको मिति, भाषा, लिपि र तत्कालीन सामाजिक–सांस्कृतिक परिवेशबीचको सम्बन्धबारे थप अध्ययन गर्नुपर्ने आवश्यकता देखाएको छ।  अध्ययन टोलीका सदस्य एवं समाजशास्त्री सुरेश बखुन्छेंले अभिलेखमा देखिएका यी भिन्नतालाई सामान्य रूपमा लिन नहुने बताएका छन्। उनले भने, “प्रायः मल्लकालीन अभिलेख नेपाल संवत्, स्थानीय लिपि र नेपाल भाषामा पाइने गरेकोमा यस अभिलेखमा विक्रम संवत् र देवनागरी लिपि देखिनु अध्ययनको महत्त्वपूर्ण विषय हो। यसलाई हल्का रूपमा लिएर निष्कर्षमा पुग्नु हुँदैन। प्रामाणिक तथ्य, इतिहास र तत्कालीन सामाजिक–सांस्कृतिक पक्षसँग दाँजेर बृहत् अध्ययन तथा छलफल गर्न आवश्यक छ।”  उनका अनुसार यस क्षेत्रमा पुस्तकमा उल्लेखित पुरानो शिलापत्र, हाल प्राप्त अभिलेख र भक्तको प्रस्तर सालिगबीचको ऐतिहासिक सम्बन्ध पहिल्याउन सके मन्दिरको इतिहासबारे नयाँ तथ्य पत्ता लाग्न सक्छन्। भक्तपुर र ललितपुरको सिमानामा रहेको यस मन्दिर परिसरमा भेटिएको अभिलेखले स्थानीय इतिहासका कैयौँ अनुत्तरित प्रश्नलाई पुनः सतहमा ल्याएको छ। ढुङ्गामा कुँदिएका अक्षरको सूक्ष्म अध्ययन, पुस्तकमा उल्लिखित विवरणसँगको तुलनात्मक विश्लेषण, प्रस्तर सालिग तथा अन्य मूर्तिको लक्षण अध्ययन र स्थानीय मौखिक इतिहासको खोज गर्न सके यस क्षेत्रको मल्लकालीन धार्मिक, सांस्कृतिक तथा सामाजिक जीवनका महत्त्वपूर्ण पाटाहरू उजागर हुन सक्छन्।  अध्ययन टोलीका सदस्यहरूका अनुसार अभिलेखको अध्ययन जारी छ र थप तथ्यहरू पत्ता लाग्ने अपेक्षा गरिएको छ। अहिले पुनः पहिचानमा आएको यो अभिलेख एउटा पुरानो लेखोट मात्र नभई समयसँगै ओझेलमा परेको इतिहासको खोजी गर्ने महत्त्वपूर्ण आधार बनेको छ। पुस्तकमा उल्लेख भएर पनि हराएको भनिएको शिलापत्रको वास्तविकता, हाल प्राप्त अभिलेखको ऐतिहासिक पृष्ठभूमि र मन्दिर परिसरमा रहेका प्रस्तर मूर्तिको पहिचानले आगामी दिनमा यस क्षेत्रको इतिहासको नयाँ अध्याय खोल्न सक्ने सम्भावना छ। 

चाँगुनारायण–९ मा प्रथम वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, उपाधि तोलाङ्गे टोलीलाई

भक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं. ९ को आयोजनामा तथा ताथली ब्याडमिन्टन समूहको सहकार्यमा सञ्चालित प्रथम वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। ताथलीस्थित पण्डित पँधेरोमा...

ख्वप्रिङ एकेडेमीमा तिहार सांस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम

भक्तपुर । चाडपर्व रमाइलो र मनोरञ्जनका अवसर मात्र होइनन्, ती समाजको इतिहास, पहिचान, परम्परा र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका मौलिक संस्कृतिका जीवन्त दस्तावेज पनि...

पारागन एकेडेमीमा ‘पारागन आइडल’ सम्पन्न, नृत्य र गायनमा विद्यार्थीले देखाए प्रतिभा

भक्तपुर । भक्तपुरको कमलविनायकस्थित पारागन एकेडेमीमा विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित ‘पारागन आइडल’अन्तर्गत एकल नृत्य तथा एकल गायन प्रतियोगिता भव्य रूपमा सम्पन्न...

मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत घिमिरे अख्तियारको नियन्त्रणमा, ३३ लाख नगद बरामद

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ। उनीसँग नातासम्बन्ध रहेका भुवन ढुङ्गेल सवार...

BEE र SEE दुवैमा GPA ४ सहित शतप्रतिशत सफलता हासिल गर्ने चाँगुनारायणको एक मात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित

भक्तपुर । शैक्षिक सत्र २०८२ को आधारभूत शिक्षा परीक्षा (BEE) र माध्यमिक शिक्षा परीक्षा (SEE) मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै दुवै परीक्षामा GPA ४...

भक्तपुरमा पुस्तक प्रदर्शनी सम्पन्न : पाठक तथा प्रकाशक सन्तुष्ट

भक्तपुर, कार्तिक १६ । रोटरी क्लब अफ भक्तपुरको आयोजनामा सञ्चालित तीनदिने ‘रोटरी पुस्तक प्रदर्शनी २०८३’ आइतबार सम्पन्न भएको छ। पठन संस्कृतिको विकास, नयाँ पुस्तामा...

भक्तपुरमा प्रहरीको स्विप अप्रेशन : ३८ जना नियन्त्रणमा

भक्तपुर । चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी परिसर भक्तपुर तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भक्तपुर जिल्लाका विभिन्न स्थानबाट ३८ जनालाई नियन्त्रणमा लिएको...

५० वर्षपछि चाँगुनारायणमा खिँ बज्दा

हरिसुन्दर छुकां  भक्तपुर ।   चन्द्रभ रानी भ अ अनी अ अव भा हे ॥  हर खहन नाच कहहरु त्रीभुवहन ना हे ॥१॥  उदासल चीकु ल ल गा गजलं दाहे ॥  पस लल चौ दिग पुलां थुल साहे ॥२॥  नं दिया आदि गणे मरु जोहगं जाहे ॥  गोरी जोरी गीनी मीनी कवां तुकं भाय ॥३॥  जगत्त प्रकाशं नेही पत्ति भाए ॥  सव कर्म नौ रथ पुलां थुली साहे ॥४॥   चन्द्र राग र रामकृत तालमा गाइने माथिको परम्परागत भजनका शब्दसँगै खिँ, ताः र झ्यालीमालीको धुन चाँगुनारायण मन्दिरको चौघेराको उत्तरी सत्तलअघिको नासः द्यःको प्राङ्गणमा गुञ्जिँदा वातावरण भक्तिमय बनेको थियो। लस्करै बसेका भजन गायकहरूको सामूहिक स्वरले मन्दिर परिसरमा दशकौँदेखि हराएको सांस्कृतिक रौनक फर्काएको थियो।  विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरको प्राङ्गणमा करिब पाँच दशकपछि परम्परागत बाजाको तालमा विभिन्न रागका दाफा भजन गुञ्जिँदा ७१ वर्षीय ज्ञानबहादुर भडेल हर्षले गद्गद् थिए। उनको अनुहारमा झल्किएको खुसी भजन गाउन पाएकोमा मात्र सीमित थिएन। आफूले बाल्यकालदेखि देख्दै, सुन्दै र जोगाउँदै आएको सांस्कृतिक परम्परा फेरि जीवन्त हुन थालेको अनुभूतिले उनलाई भावुक बनाएको थियो।  भडेल मात्र होइन, चाँगुनारायणका संस्कृतिप्रेमी, महर्जन, राजवाहक र श्रेष्ठ थरका संस्कृतिकर्मीहरू पनि दशकौँपछि मन्दिर परिसरमा खिँ र अन्य परम्परागत बाजाको धुनसँगै भजन गुञ्जिएको देखेर हर्षित थिए। उनीहरूका लागि त्यो क्षण पुराना सम्झना ताजा हुनु मात्र थिएन, हराउन लागेको सांस्कृतिक पहिचान पुनः स्थापित हुने आशाको सञ्चार हुनु पनि थियो।  करिब चार दशकदेखि निष्क्रियप्रायः रहेको चाँगुनारायण क्षेत्रको दाफा भजन परम्परालाई पुनर्जीवन दिने उद्देश्यले चाँगुनारायण विकास समितिले सञ्चालन गरेको साढे १० महिनाको खिँ बाजा प्रशिक्षणले यो वातावरण सिर्जना गरेको हो। २०८२ पुसमा सुरु भएको प्रशिक्षण २०८३ कात्तिकमा सम्पन्न भएको छ। प्रशिक्षणमा १९ जनाले खिँ बाजा बजाउने सीप सिकेका छन्।  ५० वर्षअघिको सम्झना, आजको खुसी  “पहिले पूर्णिमा, एकादशी र मोहनीका अवसरमा मन्दिर परिसरमा भजन गाउने चलन थियो,” स्थानीय ज्येष्ठ नागरिक तथा भजन गायक ज्ञानबहादुर भडेल पुराना दिन सम्झन्छन्। उनका अनुसार चाँगुनारायणमा दाफा भजन धार्मिक अनुष्ठानमा मात्र सीमित थिएन। यो समुदायको दैनिकी, सामाजिक सम्बन्ध र सांस्कृतिक जीवनसँग जोडिएको परम्परा थियो। वैशाख महिनामा दुई दिन विशेष रूपमा भजन गाउने चलनसमेत थियो। हरेक महिना संक्रान्ति, द्वादशी र पूर्णिमालगायतका अवसरमा भजन गाइन्थ्यो।  आर्थिक स्रोत सीमित भए पनि स्थानीयले आफ्नो मौलिक दाफा भजन संस्कृतिलाई जोगाएर राखेका थिए। भजनका स्वरले मन्दिर परिसरलाई जीवन्त बनाउँथे। परम्परागत बाजाको तालमा गाइने भजनले समुदायका मानिसलाई एकै ठाउँमा जोड्थ्यो। धार्मिक आस्था, सांगीतिक अभ्यास र सामाजिक एकताको संगमका रूपमा रहेको दाफा भजन चाँगुनारायणको सांस्कृतिक पहिचानको महत्त्वपूर्ण अङ्ग थियो।  तर समय सधैँ एकनास रहेन। चाँगुनारायणको मौलिक बस्तीबाट मानिसहरू अन्यत्र सर्दै जाँदा भजन गाउने र बाजा बजाउने व्यक्तिहरू तितरबितर भए। नयाँ पुस्तामा सीप हस्तान्तरण हुन सकेन। नियमित अभ्यास र प्रस्तुति सञ्चालन गर्न आवश्यक व्यवस्थापन तथा आर्थिक स्रोतको अभाव पनि बढ्दै गयो।  एक समय भजन परम्परा सञ्चालनमा सक्रिय १० जना गुठियारको संख्या घटेर तीन जनामा सीमित भयो। परम्परालाई निरन्तरता दिने व्यक्तिहरूको अभावसँगै दाफा भजन निष्क्रियप्रायः बन्न पुग्यो। पुस्तौँदेखि चल्दै आएको परम्परा हराउने जोखिम बढेपछि त्यसलाई पुनः जीवन्त बनाउने प्रयास आवश्यक बन्यो।  साढे १० महिनाको प्रशिक्षणले फर्कायो भजनको रौनक  लोपोन्मुख अवस्थामा पुगेको दाफा भजन परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले चाँगुनारायण विकास समितिले खिँ बाजा प्रशिक्षण सञ्चालन गर्यो। साढे १० महिनासम्म चलेको प्रशिक्षणमा १९ जनाले परम्परागत खिँ बाजा बजाउने सीप सिके।  प्रशिक्षण समापन तथा दीक्षान्त कार्यक्रममा प्रशिक्षार्थीका घरपरिवार र आफन्तले सगुन प्रदान गर्दै उनीहरूको हौसला बढाए। प्रशिक्षणले बाजा बजाउने सीप सिकाउनुका साथै नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिसँग जोड्ने काम गरेको आयोजकको भनाइ छ।  खिँ बाजाका प्रशिक्षक विशाल राजपुत्रका अनुसार नेवार समुदायको अमूर्त सांस्कृतिक सम्पदा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको अदृश्य गहनाजस्तै हो। दाफा भजन केवल गीत गाउने परम्परा नभई इतिहास, भाषा, संगीत, धार्मिक आस्था र सामुदायिक ज्ञानको भण्डारसमेत हो।  दाफा भजनमा नेवारी, मैथिली र संस्कृत भाषाको मिश्रण पाइने उल्लेख गर्दै उनले परम्परामा निहित ज्ञान नयाँ पुस्तासम्म पुर्याउन निरन्तर अभ्यास र सामुदायिक सहभागिता आवश्यक रहेको बताए। चित्रपुर दाफा भजन खलःको सहकार्यमा चाँगुनारायण क्षेत्रमा प्रशिक्षण सञ्चालन हुनु सकारात्मक कदम भएको उनको भनाइ छ।  प्रशिक्षणले नयाँ पुस्तालाई परम्परागत बाजा बजाउन सिकाउनुका साथै दाफा भजनको सांस्कृतिक महत्त्व बुझ्ने अवसर दिएको छ। अब प्रशिक्षार्थीले सिकेको सीपलाई नियमित अभ्यास र सामूहिक प्रस्तुतिमा प्रयोग गर्न सके मात्र यो प्रयासले दीर्घकालीन परिणाम दिन सक्नेछ।  वर्षौँदेखिको सपना साकार  चाँगुनारायण विकास समितिका अध्यक्ष चक्रधरानन्द राजोपाध्याय, सचिव श्रीभक्त भडेल र सांस्कृतिक उपसमिति संयोजक रमेश श्रेष्ठलगायतका लागि दाफा भजनलाई पुनर्जीवन दिने प्रयास वर्षौँदेखिको सपना साकार भएको क्षण बनेको छ।  वि.सं. २०६९ सालमा चाँगुनारायण विकास समिति स्थापना गर्दाकै उद्देश्य विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायणका लोपोन्मुख मूर्त तथा अमूर्त सम्पदाको संरक्षण गर्नु थियो। त्यसै उद्देश्यअनुरूप समितिले भौतिक सम्पदाको संरक्षणसँगै मौलिक कला, संस्कृति र परम्परागत बाजाको संरक्षण तथा पुस्तान्तरणलाई पनि प्राथमिकता दिँदै आएको छ।  अध्यक्ष राजोपाध्यायले लामो समयदेखि निष्क्रियप्रायः रहेको भजन परम्परालाई प्रशिक्षणमार्फत पुनः जीवन्त बनाउने प्रयास गरिएको बताए। सांस्कृतिक सम्पदाको संरक्षण सबैको सहभागिताबाट मात्र सम्भव हुने उल्लेख गर्दै उनले सीमित स्रोतसाधनका बाबजुद समितिले संरक्षणका कामलाई निरन्तरता दिइरहेको जानकारी दिए। संरक्षणका लागि प्रतिबद्धता व्यक्त गरिएअनुसार अपेक्षित आर्थिक सहयोग प्राप्त नभए पनि उपलब्ध स्रोतसाधनको उपयोग गरेर अभियान अघि बढाइएको उनको भनाइ छ।  समितिका सचिव श्रीभक्त भडेलले मौलिक कला, संस्कृति र परम्परागत बाजाको संरक्षण तथा पुस्तान्तरणलाई समितिले प्राथमिकता दिएको बताए। खिँ बाजा प्रशिक्षणपछि मुहाली बाजाको प्रशिक्षण सुरु गर्ने तयारी रहेको उनले जानकारी दिए। धिमे बाजाको प्रशिक्षण सञ्चालन गर्ने योजना पनि समितिले बनाएको छ।  सांस्कृतिक उपसमिति संयोजक रमेश श्रेष्ठका अनुसार करिब तीन लाख रुपैयाँको बजेटमा खिँ बाजा प्रशिक्षण सम्पन्न भएको हो। सीमित स्रोतसाधनका बीच सञ्चालन गरिएको प्रशिक्षणबाट सिकेको सीपलाई नियमित अभ्यासमा उतार्न सके मात्र यसको उद्देश्य पूरा हुने उनले बताए।  प्रशिक्षार्थीका तर्फबाट मन्तव्य राख्दै राजु भडेलले मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणमा सहभागी हुन पाउनु गौरवको विषय भएको बताए। नयाँ पुस्ताले मौलिक संस्कृति जोगाउने दायित्व निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उनले प्रशिक्षणबाट प्राप्त सीपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरे।  संस्कृति जोगाउन गुठी प्रणालीको संरक्षण आवश्यक  कार्यक्रमका प्रमुख अतिथि गुठी संस्थानका प्रमुख गोविन्द टण्डनले संस्कृति मानव जीवनको आधार भएको उल्लेख गर्दै संस्कृतिभित्र विकृति भित्र्याउन नहुने बताए। विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण क्षेत्रको सांस्कृतिक पहिचान र प्रवर्द्धनका लागि यस्ता प्रशिक्षण महत्त्वपूर्ण हुने उनको भनाइ थियो।  सम्पदाले धनी चाँगुनारायणको मौलिक कला, संस्कृति र परम्परागत बाजाको संरक्षणमा सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिँदै उनले नासः द्यःसँग सम्बन्धित खिँ बाजाको महत्त्वबारे चर्चा गरे। खिँ बाजा सम्मेलन आयोजना गर्न सुझाव दिँदै उनले अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणमा परम्परागत गुठी प्रणालीको महत्त्वपूर्ण भूमिका रहेको बताए।  गुठी प्रणालीको संरक्षणसँगै कला, संस्कृति र परम्परालाई जीवन्त राख्न सबैले दत्तचित्त भएर लाग्नुपर्ने उनको भनाइ थियो।  चाँगुनारायण नगरपालिका–४ का वडाध्यक्ष रोजबहादुर तामाङले स्थानीय मौलिक कला तथा संस्कृतिको संरक्षणका लागि चाँगुनारायण विकास समितिले गरेको प्रयासको प्रशंसा गरे। खिँ बाजासँगै मुहाली र धिमे बाजाको प्रशिक्षण सञ्चालन गर्ने योजनाले स्थानीय सांस्कृतिक परम्पराको संरक्षणमा थप सहयोग पुग्ने उनले बताए।  समितिका सल्लाहकार कमलबहादुर बोगटीले पनि सांस्कृतिक सम्पदा संरक्षणमा स्थानीय समुदाय, सामाजिक संस्था र नयाँ पुस्ताबीच सहकार्य हुनुपर्ने धारणा राखे।  मन्दिरको सम्पदा मात्र होइन, त्यसको आत्मा पनि जोगाउनुपर्ने  चाँगुनारायण मन्दिरका कलात्मक मूर्ति, वास्तुकला, शिलालेख र ऐतिहासिक संरचना यस क्षेत्रका मूर्त सम्पदा हुन्। तर यिनै सम्पदासँग जोडिएका भजन, बाजा, जात्रा, पूजा विधि र सामुदायिक अभ्यासले चाँगुनारायणको सांस्कृतिक जीवनलाई पूर्णता दिन्छन्।  मन्दिरका संरचना जोगिए पनि त्यहाँ गुञ्जिने भजनका स्वर हराए, परम्परागत बाजा बजाउने हातहरू रोकिए र संस्कृतिसँग जोडिएका ज्ञान नयाँ पुस्तामा हस्तान्तरण हुन सकेनन् भने सम्पदाको जीवन्तता अपूरो रहन्छ। चाँगुनारायण विकास समितिका अध्यक्ष राजोपाध्याय र सचिव भडेलको जोड पनि मूर्त सम्पदासँगै अमूर्त सम्पदाको संरक्षणमा छ। मन्दिरको ऐतिहासिक महत्त्व जोगाउनुका साथै त्यससँग जोडिएका सांस्कृतिक अभ्यासलाई निरन्तरता दिन सके मात्र चाँगुनारायणको मौलिक पहिचान जीवन्त रहने उनीहरूको धारणा छ।  त्यसैले दाफा भजनको पुनर्जीवन चाँगुनारायणका लागि एउटा सांगीतिक उपलब्धि मात्र होइन, सांस्कृतिक पहिचान जोगाउने महत्त्वपूर्ण प्रयास पनि हो। साढे १० महिनाको प्रशिक्षणबाट तयार भएका १९ जना नयाँ बाजा वादक अब यो परम्परालाई निरन्तरता दिने आधार भएको समितिकाे ठहर छ ।तर प्रशिक्षण सम्पन्न हुँदैमा संस्कृति पूर्ण रूपमा पुनर्जीवित भएको मान्न सकिँदैन। ११ वर्षदेखि ३५ वर्षसम्मका प्रशिक्षार्थीहरू सम्मिलित उक्त प्रशिक्षणकाे पूर्णतासँगै नियमित अभ्यास गर्ने वातावरण, बाजा तथा सामग्रीको उपलब्धता, भजन गाउने स्थानको व्यवस्थापन र आवश्यक आर्थिक स्रोत सुनिश्चित गर्नुपर्छ।  पूर्णिमा, एकादशी, मोहनी तथा अन्य परम्परागत अवसरमा भजन प्रस्तुत गर्ने अभ्यासलाई पुनः नियमित बनाउन सके मात्र यो अभियानले स्थायित्व पाउनेछ। पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको उत्साहलाई जोड्न सके चाँगुनारायणमा दाफा भजन फेरि नियमित रूपमा गुञ्जिन सक्छ।  करिब पाँच दशकपछि मन्दिरको प्राङ्गणमा खिँ, ताः र झ्यालीमालीको तालमा भजन गुञ्जिँदा चाँगुनारायणवासी, संस्कृतिकर्मी र संस्कृतिप्रेमीहरूले अनुभव गरेको खुसी नै यस अभियानको सबैभन्दा सुन्दर उपलब्धि हो। मन्दिरको प्राङ्गणमा दशकौँपछि फर्किएको भजनको स्वर अब फेरि कहिल्यै नरोकिने गरी गुञ्जिरहोस् । सांस्कृतिक पुनर्जागरणको सार यही हाे ।

भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा

भक्तपुर । यस वर्षको स्वन्ति नखाः (तिहार) भक्तपुरमा कार्तिक २२ गतेदेखि २४ गतेसम्म मनाइने भएको छ। भक्तपुर नगरपालिकाको आयोजनामा भएको सरोकारवालासहितको छलफलले तान्त्रिक विधि...

धेरै पढिएको