भक्तपुर । नेपाली लोकसंगीतका प्रसिद्ध गायक स्व. बुद्धिकृष्ण लामिछाने (वि.सं. २०१२ – वि.सं. २०७५) को सम्झनामा आयोजित “बुद्धिकृष्ण लामिछाने स्मृति सांगीतिक तथा सांस्कृतिक साँझ” भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा कलाकार, साहित्यकार, राजनीतिक प्रतिनिधि, सामाजिक संस्था तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्व. लामिछानेले नेपाली लोकसंगीत र सांस्कृतिक संरक्षणमा बहुमूल्य योगदान दिएका थिए। उनका गीतहरूले जनजीवन, परम्परा र लोकसंस्कृतिको धरोहर उजागर गरेका छन्।
कार्यक्रमको अध्यक्षता जीवन खत्री, नगर प्रमुख, चाँगुनारायण नगरपालिकाले गरेका थिए भने मुख्य अतिथिका रूपमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ उपस्थित थिए। पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठ, पूर्व प्रतिनिधि सभा सदस्य दुर्लभ थापालगायतले विशिष्ट अतिथिको रूपमा सहभागिता जनाएका थिए।
कार्यक्रममा मुख्यमन्त्री बानियाँले स्व. लामिछानेकी धर्मपत्नी दुर्गा देवी लामिछानेलाई नगद रु ५१ हजार र सम्मानपत्रसहित सम्मान प्रदान गरे। सञ्चारकर्मी हरिसुन्दर छुकांको सङ्कलन, सम्पादन र लेखनमा तयार गरिएको “लाेकगायक बुद्धिकृष्ण लामिछाने´ नामको चिनारी पुस्तिकाको विमोचन कार्यक्रमको विशेष अङ्ग थियो। प्रमुख अतिथि, विशिष्ट अतिथिहरू र अन्य प्रतिनिधिहरूले पुस्तक विमोचन गर्दै स्व. लामिछानेको योगदानलाई स्मरण गरे।
कार्यक्रममा गायक अर्को मुखर्जी, कोमल वली, सानू केसी लगायतले स्व. लामिछानेका लोकप्रिय लाेभाकाका गीत प्रस्तुत गरे। उपस्थित दर्शकहरू भावविभोर भए र कलाकारहरूले उनलाई संगीतमय श्रद्धाञ्जली अर्पण गरे।
भारतीय चर्चित गायक आर्काे मुखर्जीले ‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन्, मलाई सम्झेर’ बोलको गीतलाई रिमिक्समा गाउँदा हजारौँ दर्शकहरु नाचेका थिए । कार्यक्रममा स्व. लामिछानेको चर्चित गीतहरु पिँढीमा बसेर, घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर, गाई त बाँध्ने पाटको दाम्लो’लगायतका दर्जनौँ गीत विभिन्न कलाकारहरुले प्रस्तुत गरेका थिए ।
भारतीय चर्चित गायक आर्काे मुखर्जीको विशेष प्रस्तुतीले दर्शकलाई तानेको थियो । कार्यक्रममा ऐकाय् हामी व्याण्ड, कोमल ओली, बिक्रम सुवाल, दोहारी गायक सानु केसी, सविता ढुङ्गाना, कपिल कसपाल, सूर्यमणी आचार्य, सविना केसीलगायतका दर्जनौँ गायक गायिकाले स्व.लामिछानेका र आफ्ना गीत गाए ।
कार्यक्रममा प्रदेश सभा सदस्य, विभिन्न नगरपालिका/वडा अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका जिल्ला–नगर कार्यसमिति अध्यक्ष, सामाजिक संस्था, पत्रकार तथा उद्योग–व्यापार संघका प्रतिनिधिहरू उपस्थित रहेकाे कार्यक्रम संयोजक श्यामकाजी नयाजुले बताए ।
कार्यक्रमका अतिथिहरूले स्व. लाेकगायक लामिछानेकाे व्यक्तित्व, याेगदान र भूमिकालाई स्मरण गरेका थिए । उनीहरूले चाँगुनारायणका गहनाकाे रूपमा रहेका स्व. लामिछानेको याेगदानकाे कदरस्वरूप भएको सांस्कृतिक साँझले नयाँ पुस्तालाई समेत लाेकगीतमा लागणन प्रेरणा दिएको चर्चा गरेका थिए ।
चाँगुनारायण नगरपालिका वडा नं. ७ वडाध्यक्ष श्यामकृष्ण नयाजु श्रेष्ठले नगरकोट भ्रमण वर्ष ३०८२ लाई लक्षित गरि सांस्कृतिक साँझ गरिएको बताए । कार्यक्रमका सहभागीहरूले स्व. लामिछानेको योगदान लोकसंगीतका संवाहकको रूपमा स्मरण गर्दै उनको स्मृतिलाई संगीत, पुस्तक र सांस्कृतिक कार्यक्रममार्फत सधैं जीवित राख्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा विभिन्न विधामा ख्यातिप्राप्त गायक र ब्याण्डका साथै ताथलीकाे ताथली धिमय् खल:, माझीभैरव बाँसुरी खल: काे प्रस्तुतिले थप राैनक बढाएको थियाे । कार्यक्रमकाे व्यवस्थापन बाला इभेन्टसले गरेकाे थियाे ।
