शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentचाँगुपत्रताथलीमा भिंतुना र्याली : भिंतुना गीत सार्वजनिक

ताथलीमा भिंतुना र्याली : भिंतुना गीत सार्वजनिक


भक्तपुर । नेपाल संवत् ११४६ को शुभ अवसरमा चाँगुनारायण नगरपालिका–९ ताथलीमा मंगलबार भव्य रूपमा भिंतुना र्याली सम्पन्न गरिएको छ । कार्यक्रमको आयोजना प्रगति युवा समाज, ताथलीले गरेको हो ।

र्यालीको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवां, चाँगुनारायण नगरपालिका–९ का वडा अध्यक्ष गणेश त्यात, र स्थानीय ज्येष्ठ नागरिक कृष्णबहादुर थुयाजुले संयुक्त रूपमा गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै नेमकिपाका केन्द्रीय सदस्य कवांले समाजवादी व्यवस्था नै सबैकाे हितका लागि उत्तम व्यवस्था भएको बताउँदै त्यसका लागि निरन्तर संघर्ष गर्नुपर्नेमा जोड दिए । उनले देशमा अझै वास्तविक परिवर्तन र क्रान्ति नआएको उल्लेख गर्दै समाजवादी क्रान्तिको आधार तयार गर्न युवाहरू, विद्यार्थी, महिला, शिक्षक र संस्कृतिकर्मी सबै एकताबद्ध हुनुपर्ने बताए ।

कवांले नेमकिपा निष्पक्ष निर्वाचनका पक्षमा रहेको उल्लेख गर्दै “सुशीला कार्की नेतृत्वको सरकारले निष्पक्ष निर्वाचनको वातावरण तयार गर्नुपर्छ” भनेका थिए । उनले अमेरिकी साम्राज्यवादको प्रभावले नेपालमा अस्थिरता बढाएको आरोप लगाउँदै अन्य देशका आन्तरिक मामिलामा हस्तक्षेप गर्नु गलत रहेको बताए । सो अवसरमा उनले स्थानीय ज्येष्ठ नागरिक थुयाजुलाई दोसल्लासहित सम्मानसमेत गरेका थिए ।

कार्यक्रमकै क्रममा ‘भिंतुना गीत’ सार्वजनिक गरिएको थियो । सञ्चारकर्मी हरिसुन्दर छुकांका शब्दमा रचित सो गीतमा विनोद विकको स्वर, प्रभाष दैलेखीको संगीत संयोजन र ताथली धिमे खलःको धिमे संगीत संयोजन रहेको छ ।

त्यस अवसरमा वडा अध्यक्ष गणेश त्यातले हालको राजनीतिक अवस्थाबारे धारणा राख्दै समाजवादी व्यवस्थाले मात्रै जनतालाई सुख, सुविधा र समृद्धिको अनुभूति गराउन सक्ने बताए । उनले दलहरूको स्वार्थका कारण भ्रष्टाचार र अनियमितता मौलाइरहेको बताउँदै जनतामुखी नीति आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रम आयोजक समाजका अध्यक्ष हरिसुन्दर छुकांले प्रगति युवा समाजले नेपाल संवतः ११३८ देखि लगातार भिंतुना र्याली आयोजना गर्दै आएको उल्लेख गर्दै यस वर्षको कार्यक्रमलाई अझ सशक्त र समावेशी बनाउन विविध स्थानीय संस्था र समूहको सहयोग रहेको बताए ।

र्यालीका संयोजक अनिल थुयाजुका अनुसार यस वर्षको र्यालीमा चाँगुनारायण नगरपालिका वडा नं. ९ कार्यालय, सयपत्री बचत तथा ऋण सहकारी संस्था लि., सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि., देवी महिला बचत तथा ऋण सहकारी संस्था लि., देवी माध्यमिक विद्यालय, फैढोका आधारभूत विद्यालय, ताथली धिमे खलः, देवी सांस्कृतिक बाजा समूह, खगां दाफा खलः, माझी भैरव सांस्कृतिक बाजा समूह, बनदेवी सांस्कृतिक बाजा समूह, तैकाबु गणेश सांस्कृतिक समूह, फैढोका धिमे खलः, कार्यविनायक धिमे खलः, आजु धिमे खलः, प्रगति समूह, इन्भेस्टमेन्ट ग्रुप, माझी भैरव टोल विकास संस्था, एकाडोल टोल विकास संस्था, नवजागरण दम्पती कोष र टप टेन रेष्टुरेन्ट एण्ड पार्टी भेन्युसहितका संघसंस्थाको सक्रिय सहभागिता थियो ।

र्याली ताथलीको सौडोल चोकबाट सुरु भई फैढोका टोलमा समापन गरिएको थियो । सांस्कृतिक बाजागाजासहितको र्यालीले माथिल्लो सौडोल, खड्का टोल, देवीटार, ताथली पुल, वनमाला टोल, राउत टोल, बाला टोल, तल्लो राउत टोल, तैकाबु टोललगायतका बस्तीको परिक्रमा गरेको थियो ।

कार्यक्रमको सञ्चालन हरिसुन्दर गोसाईँले गरेका थिए । उनले नेपाल संवत् प्रवर्द्धनका लागि निरन्तर आयोजना हुँदै आएको भिंतुना र्याली संस्कृति र पहिचानको प्रतीकको रूपमा विकास भइरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको