भक्तपुर, भदौ २४ । भक्तपुर प्रशासनले सोमबार बिहानदेखि जिल्लाका विभिन्न स्थानमा सभा, जुलुस, प्रदर्शन, बैठक तथा धर्ना निषेध गरेको छ । प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले आइतबार जारी गरेको आदेशअनुसार भदौ २५ गते बिहान ६:३० बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू हुने भएको हो ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम जारी आदेशअनुसार भक्तपुर नगरपालिकाको केही क्षेत्र तथा चाँगुनारायण नगरपालिकाको सीमाभित्र निषेध आदेश लागू गरिएको हो । आदेश अनुसार तोकिएका स्थानमा सभा–जुलुस, प्रदर्शन तथा कुनै पनि भीडभाड गर्न पाइने छैन ।
निषेधाज्ञा लागू हुने क्षेत्र :
जगातीदेखि अरनिको राजमार्ग सडकमाथि १०० मिटर वरिपरि
पेप्सीकोला मनोहरा पुलदेखि निकोसिया चोकसम्म
कौशलटारदेखि बालकोट हुँदै रोजभिलेज चौरबटासम्म
राधेराधेदेखि निकोसेरा चोकसम्म
बाहाखाबजार, नेपाल कोरियन मैत्री अस्पताल हुँदै चारदाेबाटाेसम्म
सल्लाघारी नगरकोट सडक, कमलविनायक, खरिपाटी हुँदै नगरकोटसम्म
च्यामासिंह, ताथली हुँदै नाला सडक (काभ्रेको सिमानासम्म)
दुबाकोट मोडदेखि नेपाल इन्जिनियरिङ कलेज परिसर
देकाेचा चोकदेखि चाँगुनारायण मन्दिर परिसरसम्म
प्रशासनले उक्त क्षेत्रभित्र कुनै पनि प्रकारका भीडभाड, सभा, जुलुस र धर्ना नगर्न आग्रह गरेको छ । आदेश उल्लङ्घन गर्नेहरूमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
