शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentशिक्षाभक्तपुरको देवी आविलाई रू. १ लाखकाे उत्कृष्ट प्राेत्साहन पुरस्कार

भक्तपुरको देवी आविलाई रू. १ लाखकाे उत्कृष्ट प्राेत्साहन पुरस्कार

भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित देवी आधारभूत विद्यालयले उत्कृष्ट प्राेत्साहन पुरस्कार प्राप्त गरेकाे छ ।

पीपी प्रसाई फाउन्डेसनले सूर्यविनायक नगरपालिका वडा नं. १० चित्तपाेलकाे गुफाडाँडामा रहेकाे साे विद्यालयलाई रू. १ लाख राशिको उत्कृष्ट प्रोत्साहन पुरस्कार प्रदान गरेको हाे ।

शैक्षिक सुधारका लागि प्रयत्न गर्दै आएको सामुदायिक विद्यालयमध्ये भक्तपुरको उक्त स्कूलले उत्कृष्ट अभ्यास र प्रयास गरिरहेकाे जनाउँदै फाउन्डेसनले साे विद्यालयलाई पुरस्कृत गरिएको जनाएको छ । फाउन्डेसनले आयाेजना गरेकाे कार्यक्रममा शिक्षाविद् केदारभक्त माथेमाले देवी आधारभूत विद्यालयका प्रधानाध्यापक तिलकदास श्रेष्ठलाई पुरस्कार प्रदान गरेका थिए ।

याेसँगै फाउन्डेसनले प्रदेशस्तरीय ‘उत्कृष्ट शिक्षक पुरस्कार– २०८२’ बाट सातजना सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकलाई सम्मानित गरेको छ।

यस वर्ष कोसी प्रदेशबाट केशवराज कट्टेल (फिक्कल माध्यमिक विद्यालय, इलाम), मधेस प्रदेशबाट जितेन्द्र राम (अजिज मियाँ माध्यमिक विद्यालय,पर्सा ), बागमती प्रदेशबाट अप्सरा कुमारी घिमिरे (जनउद्धार माध्यमिक विद्यालय, काठमाडौं), गण्डकी प्रदेशबाट विष्णु घिमिरे (राधा माध्यमिक विद्यालय, तनहुँ), लुम्बिनी प्रदेशबाट प्रभात सुवेदी (बंगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय, बर्दिया), कर्णाली प्रदेशबाट देवेन्द्र तिमिल्सिना उपाध्याय (कर्णाली माध्यमिक विद्यालय, जुम्ला) र सुदूरपश्चिम प्रदेशबाट हेमराज विष्ट (धनगढी नमुना प्राविधिक विद्यालय, कैलाली) सम्मानित भएका छन्।

प्रतिष्ठानले प्रत्येक उत्कृष्ट शिक्षकलाई ५० हजार नगदसहित पुरस्कार र सम्मानका साथै पुरस्कृत शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजार रूपैयाँ बराबरको शैक्षिक सामग्री प्रदान गर्दै आएको छ।

देशभरबाट आवेदन माग गरेर शिक्षकको शिक्षण शैली, विद्यार्थीको अतिरिक्त प्रतिभा तथा सीप सिकाइमा प्रोत्साहन, अभिभावक तथा समुदायसँगको सम्बन्ध तथा शिक्षण पेसाप्रतिको समर्पण, तालिमबाट सिकेका ज्ञानको कक्षाकोठामा प्रयोग, सिकाइ उपलब्धि, स्थानीय अभिभावक तथा समुदायको सिफारिस लगायतका आधारमा शिक्षाविद्, पूर्वशिक्षक, पूर्वप्रशासक, शिक्षण क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधि तथा लब्ध प्रतिष्ठित व्यक्तिहरूको निर्णायक समितिले पुरस्कार प्रदानका लागि सिफारिस गर्दछ।
जीवनभर विद्यार्थीलाई शिक्षाको ज्योति प्रदान गर्ने शिक्षकहरूको उचित सम्मान र हौसला प्रदान गर्न स्वर्गीय पर्यटन व्यवसायी प्रजापति प्रसाईँको सम्मानमा यो पुरस्कार स्थापना गरिएको हो। यसलाई आगामी दिनमा अझ व्यापक र समावेशी बनाउँदै लैजाने फाउन्डेसनले जनाएको छ।

पर्यटन व्यवसायी प्रजापति प्रसाईको ग्रामीण क्षेत्रसम्म शिक्षा र पर्यटनको विकास गर्ने सपनालाई मूर्त रूप दिन २०६७ फागुन ६ गते फाउन्डेसन स्थापना गरिएको हो। प्रसाईको आजकै दिन विसं २०५६ भदौ २० (५ सेप्टेम्वर, १९९९) मा हवाई दुर्घटनामा परी निधन भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको