भक्तपुर । विद्यालयकाे नेतृत्व परिवर्तनसँगै शैक्षिक सुधारमा अघि बढिरहेको विद्यालय श्री आजाद माध्यमिक विद्यालयमा कम्प्युटर प्रयोगशाला तथा स्कुल बस उद्घाटन गरिएको छ ।
चाँगुनारायण नगरपालिका–२, झौखेलस्थित उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीलाई व्यवहारिक शिक्षा प्रदान गर्नका लागि प्रयाेगशाला र विद्यार्थीलाई आवतजावतमा सहजता ल्याउन बस सेवा सुरू गरेकाे हाे । सामुदायिक विद्यालय भए पनि साे क्षेत्रकाे उत्कृष्ट शैक्षिक गन्तव्य बन्न सफल विद्यालयले शिक्षामा नवीनतम् अभ्यास गरिरहेकाे छ ।
विद्यालयकाे इसिडी तथा प्राथमिक तहमा मन्टेश्वरी विधि र माथिल्लो तहमा सिकाइमैत्री वातावरण तयार गरि अघि बढिरहेको उक्त विद्यालयकाे प्रयाेगशालाकाे उद्घाटन नगरप्रमुख जीवन खत्री र दाता न्यूजील्यान्डका माइकले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरेका थिए ।
प्रयोगशालाका लागि आवश्यक कम्प्युटर तथा उपकरण माइक र उनकी श्रीमती शेरिल चिसहोमले उपलब्ध गराएका हुन् । उक्त सहयोगलाई रोटरी डिष्ट्रिक्ट ३२६२ ले समर्थन गरेको र रोटरी क्लब अफ चाँगुले साझेदारी गरेको विद्यालयले जनाएको छ ।
प्रयोगशालाका सबै फर्निचर तथा कोठा सजावट चाँगुनारायण नगरपालिकाले उपलब्ध गराएको थियो । कार्यक्रममा नगरप्रमुख खत्रीले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा यस्तो प्रयोगशाला महत्त्वपूर्ण रहेको उल्लेख गर्दै दाताप्रति आभार व्यक्त गरे । उनले यसले विद्यार्थीलाई प्रविधि–मैत्री शिक्षा हासिल गर्न मद्दत गर्ने विश्वास पनि व्यक्त गरे । दाता माइकले नेपाली विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रल्हाद वाँनियाको अध्यक्षतामा सम्पन्न भएको थियो भने विद्यालय प्र.अ. इन्द्रमणि गिरीले स्वागत मन्तव्य दिएका थिए । उनले विद्यार्थी र अभिभावककाे अपेक्षालाई विद्यालय परिवारले पूरा गर्दै गरेकाे उल्लेख गर्दै विद्यालयलाई नगरपालिका र जिल्लाकै उत्कृष्ट शैक्षिक केन्द्र बनाउने याेजना अनुसार काम गरिरहेकाे बताए ।
साेही अवसरमा शैक्षिक सत्र २०८२ का नयाँ विद्यार्थीलाई स्वागत गरिएको थियाे । विशेष कार्यक्रम आयाेजना गरि गरिएको स्वागत कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति गरेका थिए ।
