शुक्रबार, मंसिर १९, २०८२

15.1 C
Bhaktapur
शुक्रबार, मंसिर १९, २०८२
15.1 C
Bhaktapur
HomeNews Contentभक्तपुर टाइम्स विशेषअक्षरमार्गको १३औँ यात्रा : सात स्रष्टा सात सम्मान

अक्षरमार्गको १३औँ यात्रा : सात स्रष्टा सात सम्मान


काभ्रे। तेह्र वर्षअघिसम्म अक्षरमार्ग एउटा नाम मात्र थियो—साहित्यिक पत्रिकासँग जोडिएको एउटा प्रयास। तर शनिबारको दिन, अक्षरमार्गले निर्माण गरेको साहित्यिक आकाशमुनि भेला भएका साहित्यकारहरूको भीडले प्रमाणित गर्यो, अक्षरमार्ग अब नेपाली साहित्यमा संस्थागत परम्परा बनिसकेको छ । वार्षिकोत्सव विशेष समारोहमा सात स्रष्टाहरू सात फरक सम्मानले गौरवान्वित भए।

नुवाकोटका महाकाव्यकार श्रीहरि फुँयालदेखि सुनसरीका साहित्य ईवम् अन्वेषक डा. तुलसी गौतम, भक्तपुरका स्रष्टा तिलक प्रकाश कायस्थदेखि बागलुङका शब्दयात्री काजी रोशनसम्म सबै एकै मञ्चमा सम्मानित भए। यसै गरी शशी पन्थी (गुल्मी), अन्जना बस्ती भट्टराई (कीर्तिपुर) र डा. सुमनराज ताम्राकार( काभ्रे)ले पनि आ–आफ्नो योगदानको कदर पाए। स्रष्टाहरूलाई सम्मानपत्र, मायाको चिनो, माला, दोसल्ला, टीका र नगदसहित प्रमुख अतिथि बैरागी काइँला, प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. लक्ष्मण गौतम, वियोगी बुढाथोकी र प्रा.डा. कुमार कोइरालाले सम्मान समर्पण गरे। ध्रुवकृष्ण ताम्राकार, प्रल्हाद केसी र उत्तम महतजस्ता नामहरूले पनि हातेमालो गर्दै कार्यक्रमलाई भव्य बनाए।

सम्मानित सातै स्रष्टाहरू क्रमश: श्रीहरि फुँयाल, काजी रोशन, शशी पन्थी, अन्जना बस्ती भट्टराई, तिलक प्रकाश कायस्थ, डा. तुलसी गौतम र डा. सुमनराज ताम्राकारले सम्मानले आफूलाई अझ सिर्जनशीलतामा सक्रिय रहन प्रेरणा मिलेको प्रतिक्रिया जनाए। “यो सम्मान हाम्रो व्यक्तिगत इज्जत मात्र होइन, हाम्रो सिर्जनात्मक यात्राको प्रोत्साहन हो,” उनीहरूको सामूहिक प्रतिक्रिया थियो।

तेह्र वर्षअघिको एउटा सानो प्रकाशन प्रयास, आज साहित्यिक पत्रिका प्रकाशन, स्रष्टा सम्मान, वाङ्मयसेवीका कृतिहरू प्रकाशन हुँदै समाजमा चेतना फैलाउने अभियानमा रूपान्तरण भएको छ। यसै कारण, सहभागी साहित्यकारहरूले अक्षरमार्गलाई “साहित्यिक परिवार” को नाम दिए।

“साहित्य उद्योग होइन, राष्ट्रसेवा हो”
मञ्चमा उभिएका अतिथिहरूको स्वर एउटै थियो—साहित्य उद्योग होइन, राष्ट्रसेवा हो। बैरागी काइँलाले साहित्यले दिने सकारात्मक ऊर्जाको चर्चा गरे भने प्रा.डा. गोविन्दराज भट्टराईले अक्षरमार्ग र सूर्य लाकोजूको कर्मलाई समयभन्दा अघि दौडिरहेको धारासँग तुलना गरे।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि काइँलाले साहित्यले समाजमा सकारात्मक ऊर्जा भर्ने र सबैको भलो गर्ने शक्ति बोकेको बताए।
विशिष्ट अतिथि प्रा.डा.भट्टराईले सूर्य लाकोजू र अक्षरमार्गले समयभन्दा अघि बढेर साहित्यमा निरन्तर योगदान दिइरहेको धारणा राखे।

त्यस्तै प्रा.डा. गौतमले सूर्य लाकोजूलाई मोतीराम भट्टसँग तुलना गर्दै, नेपालमा सम्मान कार्यक्रम प्रायः विवादित हुने भए पनि अक्षरमार्गले योग्य पात्रलाई मात्र सम्मान गर्ने भएकाले यसको कार्यक्रम विवादरहित रहने बताए। प्रा.डा. गौतम अझ स्पष्ट भए, “नेपालमा सम्मान प्रायः विवादमा पर्छन्, तर अक्षरमार्गले योग्य पात्र रोज्छ। यही कारण यसको सम्मान कहिल्यै विवादित हुँदैन।”

अन्य विशिष्ट अतिथि प्रा.डा. कुमार कोइराला, वियोगी बुढाथोकी, साहित्यकार सूर्य लाकोजू, रामसुन्दर देउजा, हरि गौतमलगायतले पनि अक्षरमार्गको योगदान र सम्मानित स्रष्टाहरुप्रति विचार राखेका थिए।

नेपाली साहित्यमा विगतदेखि सक्रिय रहेको अक्षरमार्गले साहित्यिक पत्रिका प्रकाशन, देशभरका स्रष्टाहरूलाई सम्मान, वाङ्मयसेवीका कृतिहरू प्रकाशन र समाजमा चेतना फैलाउने गतिविधि गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको