भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीमा शनिबार बिहान वृहत् सडक सरसफाइ सम्पन्न भएको छ । “सडक : सबैकाे सराेकार, सबैकाे जिम्मेवारी” भन्ने नारासहित चोकन्तिला पुलदेखि सुरू गरिएको यो सरसफाइ कार्यक्रम निरन्तर चलिँदै आएको कार्यक्रममा अन्तर्गत भएको हो ।
कार्यक्रममा स्थानीय बासिन्दा, विभिन्न समूहका प्रतिनिधि, विद्यालयका विद्यार्थी, बाल क्लबका सदस्य, व्यवसायी तथा टोल सुधार संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो ।
वडाले सार्वजनिक रूपमा आह्वान गरेपछि सहभागी भएको बताउँदै स्थानीय बलबहादुर मानन्धरले यो सरसफाइलाई नागरिक दायित्व पूरा गर्ने अवसरका रूपमा लिएकाे बताए । अर्का सहभागी पुरुषोत्तम साखकर्मीले ताथलीको मुख्य सडक सफा राख्न आफूले सक्दो योगदान दिन आएको बताए । सहभागीहरूले बिहानैदेखि घरेलु औजारसहित सडक दायाँबायाँ सफा गरेका थिए ।
वडा अध्यक्ष गणेश त्यातले सडक सौन्दर्यकरणका लागि सामूहिक सरसफाइ अपरिहार्य भएको बताउँदै सहभागी सबैलाई धन्यवाद ज्ञापन गरे । उनले निरन्तर भइरहेका यस्ता सरसफाइ कार्यक्रमहरूले नागरिक भावना र सामुदायिक एकताको भावना बलियो बनाउने विश्वास व्यक्त गरे ।
त्यस्तै, वडा सदस्य तथा वास संयोजक रविन बासुकलाले सडक सुरक्षाका लागि, बढ्दो स्वास्थ्य जोखिम न्यूनीकरणका लागि र सडकको सौन्दर्य कायम राख्न नियमित सरसफाइ कार्यक्रम आवश्यक रहेको प्रस्ट पारे ।
ताथली स्वास्थ्यचौकीका इन्चार्ज हरिनारायणप्रसाद साहले बढ्दो डेङ्गु र हैजाको जोखिम न्यूनीकरणमा वडाको यो प्रयास उदाहरणीय भएको टिप्पणी गरे ।
सहभागीहरूले पनि यो कार्यक्रमलाई निरन्तर अघि बढाउन आग्रह गर्दै सामुदायिक सहकार्यको उत्कृष्ट नमुना रहेको प्रतिक्रिया दिएका छन् ।
