भक्तपुर । भक्तपुरको देवी माध्यमिक विद्यालयले शिक्षक- अभिभावक संघ गठन गरेकाे छ । शुक्रबार अभिभावक भेला तथा नतिजा वितरण कार्यक्रम गरि शिक्षक- अभिभावक संघ गठन गरेकाे हाे ।
प्रधानाध्यापक चन्द्रबहादुर थुयाजुले नगर शिक्षा ऐन अनुसार शिक्षक अभिभावक सङ्घकाे गठन गर्नुपर्ने प्रावधान अनुसार नतिजा वितरणसँगै संघ गठनका लागि अभिभावक भेला गरिएको बताए ।

उनले विद्यालयकाे शैक्षिक स्तर माथि उकास्नका लागि विद्यार्थी र शिक्षकबीच हातेमालो गर्न जरुरी हुने भएकाले शिक्षालाई गुणस्तरीय बनाउने दायित्व अभिभावककाे समेत भएको बताए ।
उनले विद्यार्थी पढाइमा कमजोर किन हुन्छ? भन्ने विषय महत्त्वपूर्ण भएकाले उक्त अवस्था सिर्जना हुन नदिनका लागि विद्यालय लागिरहेको बताउँदै अभिभावकीय भूमिका निर्वाह गर्न अनुराेध गरे ।
पढाइमा रूचि बढाउने गतिविधि र क्रियाकलापमा अभिभावक सरिक हुन जरुरी रहेकाेमा जाेड दिँदै प्रधानाध्यापक थुयाजुले विद्यार्थीकाे सर्वाङ्गीण विकासका लागि बालबालिकाकाे सरसफाइ, स्वास्थ्य, पाेषण, अनुशासन, संस्कार, संगत र दैनिकीबारे सजग रहन अनुरोध गरे ।
साेही अवसरमा कक्षागत रूपमा उत्कृष्ट नतिजा ल्याउन सफल १३ विद्यार्थीलाई पुरस्कृत गरिएको थियाे । भेलामा सहायक प्रअ राजेन्द्रकुमार साखकर्मीले शिक्षाको गुणस्तर वृद्धिका लागि अभिभावकसँग अन्तरक्रिया गरि अघि बढ्ने बताए ।
साेही भेलाले अभिभावक रामप्रसाद मचामसीकाे अध्यक्षतामा ९ सदस्यीय शिक्षक- अभिभावक संघ गठन गरेकाे छ ।
