भक्तपुर, भाद्र ६ । नेशनल प्याव्सन भक्तपुरले आयोजना गरेको सामुहिक लोक नृत्य तथा एकल नृत्य प्रतियोगिता आज क्वालिटी अंग्रेजी माध्यमिक विद्यालयको संयोजनमा भत्केपाटीस्थित ख्वप बैङ्क्वेटमा सम्पन्न भएको छ।

प्रतियोगितामा सदस्य विद्यालयका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सामुहिक लोक नृत्यतर्फ १८ वटा विद्यालयबीच भएको प्रतिस्पर्धामा प्रसादी पाठशाला प्रथम, युनिटी इङ्लिस स्कुल द्वितीय, रिताम्भरा पाठशाला तृतीय र ईडेन गार्डेन इङ्लिस स्कुल सान्त्वना स्थानमा रहे।
त्यस्तै, एकल नृत्य प्रतियोगितामा सेन्ट जोन्स इङ्लिस स्कुलकी विद्यार्थी प्रथम, सेक्रेड हार्ट इङ्लिस स्कुल द्वितीय, युनिटी इङ्लिस स्कुल तृतीय र ईडेन गार्डेन इङ्लिस स्कुल सान्त्वना स्थानमा रहेका छन्।
विजेता विद्यालय र विद्यार्थीलाई आयोजक विद्यालयका प्रिन्सिपल जी.बी. खड्का तथा नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले प्रमाणपत्र र पुरस्कार वितरण गरेका थिए।
नेशनल प्याव्सन भक्तपुरले यसअघि दुईवटा कार्यक्रम सम्पन्न गरिसकेकोमा यो नृत्य प्रतियोगिता यस वर्षको तेस्रो कार्यक्रम बनेको छ। आफ्नो कला र संस्कृतिप्रति बालबालिकामा सानै उमेरदेखि प्रेम र सम्मान जागोस् भन्ने उद्देश्यले यस प्रतियोगिता आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।


