बिहिबार, बैशाख ३, २०८३

28.1 C
Bhaktapur
बिहिबार, बैशाख ३, २०८३
28.1 C
Bhaktapur
HomeNews Contentखोेज/फिचरअभिभावक दिवसमा देखियाे : विद्यालय–अभिभावक सहकार्यको जीवित रूप

अभिभावक दिवसमा देखियाे : विद्यालय–अभिभावक सहकार्यको जीवित रूप

भक्तपुर, फागुन १६ । नि: सन्देह शिक्षा पाठ्यपुस्तकको सीमित घेराभित्रको ज्ञान मात्र होइन, त्यो संस्कार, संस्कृति, अनुशासन र भविष्य निर्माणको समग्र यात्रा हो। यही सन्देशलाई जीवन्त बनाउँदै सूर्यविनायक नगरपालिका वडा नं. १० चित्तपोलस्थित विमल मेमोरियल विद्यापीठले सम्मान समारोह तथा अभिभावक दिवस–२०८२ भावनात्मक, प्रेरणादायी र सांस्कृतिक वातावरणबीच सम्पन्न गरेको छ।

विद्यालय प्राङ्गणमा बिहानदेखि नै उत्साह, गर्व र अपनत्वको वातावरण देखिन्थ्यो। आफ्ना सन्तानको उपलब्धि हेर्न आतुर अभिभावक, सम्मानका लागि प्रतीक्षारत विद्यार्थी, विद्यालयप्रति गर्व व्यक्त गरिरहेका शिक्षक–कर्मचारी तथा अतिथिहरूको उपस्थितिले कार्यक्रमलाई केवल औपचारिकता होइन, विद्यालय–समुदाय सम्बन्धको उत्सवका रूपमा रूपान्तरण गरेको थियो।

कार्यक्रमका प्रमुख अतिथि सूर्यविनायक नपा १० का वडा अध्यक्ष शिवराम राउतले विद्यालयको वार्षिक स्मारिका ‘विमल वाटिका’ अंक–४ को विमोचन गर्दै विद्यालयले शिक्षा क्षेत्रमा गरेको निरन्तर प्रगतिलाई प्रशंसनीय र उदाहरणीय कार्यको रूपमा उल्लेख गरे ।

उनले भने, विद्यालयले केवल पढाउने काम मात्र गरेको छैन, यसले अभिभावकको विश्वास जितेको छ र भविष्य निर्माण गर्ने वातावरण सिर्जना गरेको छ।´ उनले विद्यालयले शैक्षिक उपलब्धिका साथै भौतिक पूर्वाधार, अनुशासन र गुणस्तरीय शिक्षामा गरेको लगानीले स्थानीय स्तरमै उत्कृष्ट शैक्षिक केन्द्रको पहिचान स्थापित गरेको धारणा राखे । सोही अवसरमा विद्यालयमा समर्पित भावनाका साथ कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो । त्यसले कार्यक्रममा भावनात्मक गरिमा थपेको थियो ।

कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले बालबालिकाको जीवनमा अभिभावकको भूमिकालाई निर्णायक शक्ति भएको उल्लेख गरे । भने,विद्यालयले शिक्षा दिन्छ, तर जीवनको पहिलो शिक्षा घरबाट सुरु हुन्छ। अभिभावकले दिएको संस्कार नै सन्तानको भविष्यको आधार हुन्छ।´ उनले अभिभावकहरूलाई आफ्ना सन्तानसँग समय बिताउन, उनीहरूको भावना बुझ्न र सकारात्मक मार्गदर्शन गर्न आग्रह गरे ।

त्यस्तै ईप्सन भक्तपुरका अध्यक्ष जी. बी. खड्काले विमल मेमोरियल विद्यापीठले शैक्षिक, सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापमा देखाएको सक्रियता र समर्पणको प्रशंसा गर्दै विद्यालयले समग्र शिक्षा प्रणालीमा सकारात्मक योगदान गरिरहेको बताए ।

कार्यक्रमको अर्को महत्वपूर्ण पक्षकाे रूपमा विद्यार्थीहरूको उपलब्धिको सार्वजनिक सम्मान रहेको थियाे । शैक्षिक सत्र २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, नियमित उपस्थित हुने विद्यार्थी, हस्तलेखन प्रतियोगिता तथा सङ्गीतका विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।

त्यसैगरी, जीवनको नयाँ यात्रामा अघि बढ्दै गरेका एसईई उत्तीर्ण २४ जना विद्यार्थीलाई सम्मान तथा विदाई गरिएको क्षण विशेष रूपमा प्रेरणादायी बनेको थियो। अभिभावकका आँखामा गर्वका आँसु र विद्यार्थीका अनुहारमा भविष्यप्रतिको आशाले कार्यक्रमलाई गहिरो अर्थ प्रदान गरेको थियो।

विद्यालय सञ्चालक समितिका अध्यक्ष तथा इन्जिनियर कमल कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूले विद्यालयको प्रगतिप्रति खुशी व्यक्त गरे।

विद्यालयका प्रिन्सिपल कुमार थापा मगरले विद्यालयको विकास कुनै एक व्यक्तिको प्रयास मात्र नभई अभिभावकको विश्वास, शिक्षक–कर्मचारीको समर्पण र विद्यार्थीको मेहनतको संयुक्त परिणाम भएको उल्लेख गरे । उनले भने, विद्यालयको वास्तविक शक्ति भनेकै अभिभावक, शिक्षक र विद्यार्थीबीचको विश्वास हो। यही विश्वासले हामीलाई अझ राम्रो गर्ने प्रेरणा दिएको छ।´

कार्यक्रमको दोस्रो चरण विद्यालयको सांस्कृतिक जीवन्तताको साक्षी बन्यो। विभिन्न जातजातिका मौलिक भेषभूषामा सजिएका विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य, गीत, नाटक तथा तेक्वान्डो प्रदर्शनले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो। नेपालको सांस्कृतिक विविधता, मौलिक पहिचान र विद्यार्थीको प्रतिभा एउटै मञ्चमा उजागर भएको दृश्यले विद्यालयले शिक्षा मात्र होइन, संस्कार र संस्कृतिको संरक्षणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको सन्देश दिएको थियो। सम्मान समारोह तथा अभिभावक दिवस पुरस्कार वितरण वा औपचारिक कार्यक्रम मात्र थिएन, यो विद्यालय, अभिभावक र विद्यार्थीबीचको विश्वास, सहकार्य र साझा यात्राको उत्सव थियो। यस कार्यक्रमलेजब विद्यालय, अभिभावक र विद्यार्थी एउटै लक्ष्यका साथ अघि बढ्छन्, तब शिक्षा केवल प्रमाणपत्रमा सीमित हुँदैन, त्यो जीवन निर्माणको बलियो आधार बन्छ´ भन्ने सन्देश दिएको छ ।

विमल मेमोरियल विद्यापीठले आयोजना गरेको यो कार्यक्रमले शिक्षा, संस्कार र संस्कृतिको समन्वयमार्फत भविष्य निर्माणको आफ्नो प्रतिबद्धतालाई पुनः एकपटक जीवन्त रूपमा प्रमाणित गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको